चितवनको पटिहानीमा पाँच तारे होटल, एक भिल्लाको शुल्क १ हजार डलर
काठमाडौं । चितवनको पटिहानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी भएको छ । भरतपुर महानगरपालिका २२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । चितवन सहित देशका विभिन्न २२ जना व्यवसायीको लगानीमा एक अर्ब बढी रुपैयाँमा सो रिसोर्ट निर्माण गरिएको हो । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपाने हालसम्म ७५ करोड रुपैयाँ लगानी भइसकेको बताउँछन् । ‘हालसम्म ७५ करोड लगानी भैसकेको छ । निर्माण सम्पन्न भएर रिसोर्ट तयारी हुँदा एक अर्ब लाग्ने अनुमान गरेका छौँ’, उनले भने । रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । उनका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको हो । सुरक्षा र सुविधासम्पन्न यी भिल्लामा अत्याधुनिक सुविधा रहेको छ भने एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको छ । रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ । बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्था गरिएको छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने जनाइएको छ । रिसोर्टमा १०४ अट्ने क्षमता छ । मुख्यरूपमा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । सो रिसोर्टका सञ्चालकसमेत रहेका भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णु महतोले आफ्नो वडामा छ वटा सुविधासम्पन्न होटल पुगेको बताए । ती होटलमा पाँच अर्बभन्दा बढी लगानी भएको उनको अनुमान छ । ठूला होटलमा मात्रै ३०० जनाको क्षमता रहेको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको यस क्षेत्रमा २५ साना होटल छन् । जहाँ थप ३०० जनाको क्षमता छ । उनले रिसोर्ट बनेसँगै यस क्षेत्रमा ठूला कार्यक्रमसमेत सञ्चालन गर्न सकिने बताए । ‘यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउन सक्छन’, उनले भने । यससँगै चितवन आउने पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउनेछन् । पटिहानी क्षेत्रमा होटल थपिएसँगै त्यहाँको महत्व अरु बढेर गएको स्थानीय बताउँछन् । रासस
अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा नआएको भन्दै वायुसेवा सञ्चालकले हटाए फेसशिल्ड
काठमाडौं । वायुसेवा सञ्चालकले फेसशिल्डको अनिवार्य प्रयोग हटाउने भएका छन् । वायुसेवा सञ्चालक संघले मंगलबार एक सूचना जारी गर्दै सेप्टेम्बर १ अर्थात भोलीबाट अनिवार्य गरिएको फेसशिल्ड हटाउने जनाएको हो । अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा नआएको र पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएपछि हटाउने निर्णय भएको संघले जनाएको छ । ‘पछिल्ला दिनमा धेरै अनुसन्धान र व्यवहारिक प्रयोगपछि राम्रोसँग सुरक्षित तवरले मास्क लगाएको खण्डमा पूर्ण सुरक्षित हुन्छ भन्ने पुष्टि भइसकेको छ । संसारमा अन्य कुनै पनि वायुसेवाहरुले फेसशिल्ड अनिवार्र्य गरेको पाइएको छैन’, संघले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली यात्रुहरुलाई मास्कसगैँ फेसशिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेसशिल्ड विमानस्थलमा जथाभावी रुपमा फाल्दा असुरक्षित सगैँ पर्यावरणीय समस्मा देखिएको छ । विभिन्न कारणले यसअघि अनिवार्य गरिएको फेसशिल्ड हटाउने निर्णय भएको हो ।’ सुरुवाती चरणमा प्रति पिस ५० रुपैयाँ कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा मास्क सहित फेसशिल्डको समेत अभाव देखिएको थियो । लामो समयको बन्दाबन्दीपछि सुचारु भएको हवाई उडानलाई संक्रमणरहित गर्ने भन्दै वायुसेवा सञ्चालकहरुले आफूखुशी फेसशिल्डको प्रयोगमा ल्याएका थिए । सुरुवाती चरणमा प्रति पिस फेस प्याकको मूल्य नै ५० रुपैयाँ रहेको थियो । बन्दाबन्दीपछि सुचारु भएको आन्तरिक उडानका यात्रुलाई संक्रमणरहित उडान गर्न भन्दै फेसशिल्डको प्रयोग बुद्ध एयरले सुरु गरेको थियो । बुद्ध एयर पछि आन्तरिक रुपमा उडान गर्ने वायुसेवा कम्पनीले अनिवार्य रुपमा प्रयोगमा ल्याएका थिए ।
त्रिशूली नदीमा जिपलाइन संचालन गरिने
मुग्लिन । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई करोडको लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले बताए । हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि निर्माण सुरु गरिएको हो । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताए । उनका अनुसार चार सय ८० मिटर लामो उक्त जिपलाइन निर्माण सम्पन्न भएपछि ३५ देखि ४० सेकेन्डमै पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको रिभर फन विच रिसोर्ट पुग्न सकिनेछ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरे । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । चितवनको इच्छाकामना–३ का स्थानीयवासी प्रमोद पोखरेलले जिपलाइन सञ्चालनपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाकामा विशेषगरी आन्तरिक पर्यटकहरुको आवागमनमा वृद्धि हुने बताए । यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन विच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको रिसोर्ट हो । रिभर फन विच रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्टलगायत सुविधा दिँदै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकहरुको आवागमनमा वृद्धि हुने उनको भनाइ छ । रासस