बुद्ध एयरले पोखराबाट सिमरा सिधा उडान सञ्चालन गर्ने

काठमाडाैं । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौंबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो । देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् । यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ । प्रादेशिक उडानले दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरा/वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्नेछन् । वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिमरा÷वीरगञ्जका बासिन्दाले पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्नेछन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहर पटना, दरभङ्गा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँमा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० वटा, एटीआर–४२ जहाज तीन र क्राफ्ट दुई वटा रहेका छन् । रासस

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम सञ्चालनको खर्च ८५ करोड, बोलपत्र आह्वान नै नगरी आफूखुशी खरिद

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचार तथा प्रसारकामा ८५ करोड रुपैयाँ बढी खर्च भएको पाइएको छ । महालेखा कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार भ्रमण वर्षको प्रचारप्रसारदेखि सचिवालय सञ्चालन गर्न ८५ करोड ४ लाख बढी खर्च भएको देखिएकाे हाे । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै एक वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी योजना कोरोना महामारीका कारण स्थगित भएको थियो । करोडौँ खर्च गरेर सुरु गरिएको सो कार्यक्रम स्थगित हुँदा खर्च भएको रकम अनुत्पादन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ । २०७६ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणलाई ध्यानमा राख्दै बैशाख १ गतेदेखि सचिवालय विघटन गरेको थियो । प्रतिवेदन अनुसार भ्रमण वर्ष अभियान सञ्चालनको लागि सचिवालयले ३५ करोड २८ लाख ७२ हजार खर्च गरेको उल्लेख गरिएको छ । उक्त रकम खर्चगरि सञ्चालित कार्यक्रमले भविष्यमा पर्यटन प्रवद्र्धनमा उप्रत्यक्ष योगदान पुग्ने जनाएतापनि तत्कालको खर्च उपलब्धिमूलक देखिएन । यस्तै, कार्यक्रम सञ्चालन गर्न सचिवालयले ३० करोड ६३ लाख १० हजार बढी खर्च भएको छ । जसमध्ये स्वदेशमा कार्यक्रम सञ्चालन गर्न २६ करोड ६६ लाख ७७ हजार र विदेशमा कार्यक्रम सञ्चालन गर्न ३ करोड ९६ लाख ३३ हजार खर्च भएको थियो । विदेशी पर्यटक नेपाल भित्र्याउने अभियान अन्तरगत विदेशीमा प्रसार कम गरी स्वदेश केन्द्रित प्रचार हुँदा उद्देश्यअनुरुप कार्यक्रम सञ्चालन नभएको औल्याएको हो । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अन्तरगत नेपाल पर्यटन बोर्ड स्थापना भई पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यहरु हुँदै आएको छ । बोर्डको स्थायी संरचनाबाट सो अभियान सञ्चाललन नगरी छुट्टै अस्थायी संरचना खडा गरी कार्यक्रम सञ्चालन गर्नु उपयुक्त देखिएन । केशरमहल मर्मतमा ५६ लाख खर्च भ्रमण वर्ष सचिवालयले ठमेलस्थित केशर महलको मर्मत सम्भारमा ५६ लाख बढी खर्च गरेको छ । प्रतिवेदन अनुसार भूकम्पबाट क्षेति पुगेको सो भ्रमण मर्मत सम्भार गर्न ५६ लाख २९ हजार बढी खर्च भएको हो । राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणबाट रेक्ट्रो फिट गर्नुपर्ने भन्दै २०७६ को फागुन १ गतेदेखि नक्सालमा भाडामा सारिएको थियो । निजी घरको मर्मत सम्भार गर्दा मात्र ९ लाख ५० हजार खर्च भएको छ । नक्सालको भवनमा सचिवालय सरेको २ महिनापछि सचिवालय नै विघटन भएको थियो । यस्तैगरी, नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को दफा ९ मा २० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा राष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने उल्लेख छ । तर सचिवालयले बिना बोलपत्र ठूलो रकम बराबरको सामग्री सोझै खरिद गरेको पाइएको छ । सचिवालयले विभिन्न कार्यक्रम गर्दा १२ करोड ८५ लाख ४० हजार र भ्रमण वर्षको उद्घाटनका लागि ४ करोड १३ लाख ७४ हजारको खरिद गरेको पाइएको छ । ४ करोड बराबरको खरिदमा १५ दिनको बोलपत्र आह्वान गरेर साना प्याकेज बनाएर सोझै खरिद गरेको पाइएको छ । बोलपत्रको माध्यमबाट खरिद नगरी पटक/पटक सोझै खरिद गरेकाले खरिद कार्य प्रतिस्पर्धी र मितव्ययी नभएको उल्लेख गरिएको छ । यस्तै सचिवालयले कर्णाली नदीमा र्याप्टिन सञ्चालन, पर्यटन प्रबद्र्धनका विभिन्न दृश्य, भिडियोहरु, शिवशक्ति सर्किट, नमस्ते सेन्टर निर्माण र टुरिजम इन्भेष्टमेन्ट समिट लगायतका दृश्य सामग्री, अध्ययन प्रतिवेदन तथा निर्माण तयार गर्न १ करोड ४९ लाख ६ हजा खर्च गरेको छ । पर्यटन मन्त्रालयको बेरुजु साढे ४४ करोड महालेखाको ५८ औं प्रतिवेदनले पर्यटन मन्त्रालय र मातहतका १२ वटा निकायमा ४४ करोड ५८ लाख बेरुजु देखाएको छ । जसमा १ करोड १४ लाख म्याद नाघेको पेस्की देखिएको छ । त्यस्तै मन्त्रालयका संगठित संस्था र समिति गरी १४ वटा निकायमा ९७ करोड ५४ लाख बेरुजु देखिएको छ ।

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध

ललितपुर । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छाैँ ।’ मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए । रासस