नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकमा क्षेत्री नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले प्राधिकरणको महानिर्देशकको रुपमा क्षेत्रिलाई नियुक्त गरेको हो । प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलले गत असोज ८ गते अनिवार्य अवकाश पाएसँगै क्षेत्री निमित्त महानिर्देशकको रुपमा कार्यरत रहेका थिए । आगामी पुस २५ गते अनिवार्य अवकाश पाउन लागेका क्षेत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमवहादुर आलेको प्रस्तावमा नियुक्त गरिएको हो । क्षेत्री यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख समेत रहेका थिए । महानिर्देशक भएसँगै क्षेत्रीलाई आफ्ना प्रतिस्पर्धीहरुलाई व्यवस्थापन गर्नेदेखि लामो समयदेखि काम सम्पन्न हुन नसकेका दुई ठुला विमानस्थल सञ्चालनको चुनौती थपिएको छ । यस्तै क्षेत्रीलाई युरोपेली युनियन (ईयु) ले लामो समयदेखि नेपाली आकाशलाई राखेको कालोसूची हटाउनुपर्ने चुनौतीमुख्य रुपमा रहेको छ । प्राधिकरण टुक्राउने विषयमा कर्मचारीहरु रुष्ट बनिरहेको बेला त्यसलाई व्यवस्थापन गरी दुई वटा निकाय बनाउने जिम्मेवारी समेत उनलाई रहेको छ । प्राधिकरणको महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदमा रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार क्षेत्रीले आगामी पुस २५ गते १२ औं तहमा पुगेको ६ वर्ष अवधि पूरा भएका कारण स्वतः अवकाश पाउँदैछन् ।

मन्त्रिपरिषद निर्णयः पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे, वायुसेवा निगममा अधिकारी

काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको संचालक समिति अध्यक्षमा बीमा विज्ञ रविन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताए । उनले भने, ‘निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुशी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उनीहरुलाई सम्बोधन गर्नेछु ।’ अध्यक्ष अधिकारीले निगमको बृहत्तर हित, संस्थागत सुदृढीकरण तथा कर्मचारीको हक, हित र सेवाको सुरक्षाको सुनिश्चितता हुने गरी आफूले काम गर्ने विश्वास व्यक्त गरे । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका विभिन्न कर्मचारी ट्रेड युनियनले १०४ दिन लामो आन्दोलन गरेका थिए । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामाको माग गर्दै कर्मचारीले निरन्तर आन्दोलन गर्दा निगमका महत्वपूर्ण काम कारबाही प्रभावित भएको थियो । गत असोज २२ गते नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमका कर्मचारी ट्रेड युनियनलाई मन्त्रालयमा बोलाएर छलफल गरी आन्दोलन स्थगित गराएका थिए । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ । निगमले अनुमति पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित भएको निगमले विज्ञप्ति जारी गरेर जनाएको थियो । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि अघि बढ्न सकेको थिएन । ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडिएसम्बन्धी काम पनि प्रभावित भएको थियो । निगम यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाहीहरू प्रभावित हुन पुगेको निगमले जनाएको थियो । निकै कठिन परिस्थितिमा निगमले नेतृत्व पाएसँगै निगमका आगामी काम कारबाही प्रभावकारी ढङ्गले अघि बढ्ने निगमभित्रका कर्मचारीको विश्वास छ । निगमकका एक उच्च अधिकारीले निगमभित्र लामो समयदेखिको अन्योलपूर्ण अवस्थाको अन्त्य भई नीतिगत योजनाका साथ प्रभावकारी काम हुने बताए । यसअघि निगमको अर्थ विभागको निर्देशक पदको जिम्मेवारी सम्हालिसकेका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारी उमेर हदका कारण सेवा निवृत्त भएका थिए । निगममा ३४ वर्ष दुई महिना दुई दिन सेवा गरेर अधिकारी गत वर्ष सेवा निवृत्त भएका थिए । लोकसेवामार्फत चौथो तहदेखि सेवा प्रवेश गरेका अधिकारीले निगमभित्रका विभिन्न चारवटा विभागको निर्देशकका रुपमा काम गरिसकेका थिए । रासस

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

काठमाडौं । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन् । “बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ दीर्घले गुनासो गरे । यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ । अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान भर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ । आफन्त र चिनजानका आधारमा दसैँ, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन् । वायुसेवाको जहाजले उडान भर्न छाड्यो हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासीले थप समस्या भोग्नुपरेको छ । वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत बाहिरिने यात्रुलाई सास्ती भएको छ । दसैँ मनाएर काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । पहुँचवालाले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गरे । निजी एयरलाइन्स तारा र समिटले उडान गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ । सीता एयरले चार÷पाँच दिनयता उडान नगरेको यात्रुको दुःखेसो छ । रासस