बन्द भएका वायुसेवा कम्पनीले एक महिनाभित्र पैसा नतिरे कालोसूचिमा राखिने

काठमाडौं। लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । बन्द भएका ९ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कम्पनीका सञ्चालकको खोजी थालेको हो । यसअघि गत चैतमा क्यानले सार्वजनिक सूचना नै जारी गर्दै बन्द भएका ११ वटा वायुुसेवा कम्पनीका सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । सो आग्रहअनुसार २ वायुसेवा कम्पनीका सञ्चालक सम्पर्कमा आएर बक्यौता रकम भुक्तानी गरिसकेका छन् । क्यानले पुनः एक पटक मौका दिने भन्दै शनिबार एक सूचना जारी गर्दै ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीले समेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ । प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहेका छन् । सो एयरलाइन्सले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यस्तै मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरका ले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालक प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठले ७२ हजार ७२८ बक्यौता तिर्न बाँकी रहेको छ । गोरखा एयरका सञ्चालन प्रज्वल श्रेष्ठ र डा. उज्वल श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ तिर्नु रहेको छ भने कर्णाली एयरले १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ । सो एयरका सञ्चालकमा नारायणसिंह पुन र सबिना राई पुन रहेका छन् । यसैगरी, प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधानले तीन करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ तिर्नुपर्ने देखिएको छ । स्काइलाइन एयरवेजले १५ लाख ५० हजार ४०० रुपैयाँ बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् । यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरुले सात लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । कसरी बन्द भए सञ्चालनमा रहेका वायुसेवा कम्पनी ? तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा राम्रो नाफा कमाएका वायुसेवा कम्पनीहरु पछिल्लो समय बन्द रहेका छन् । एकले अर्काको सिको गर्दै बिना अध्यन तथा अनुभव बिना वायुसेवा कम्पनी खोल्न प्रतिस्पर्धा गर्दा धेरै वायुसेवा कम्पनीहरु असफल भएका जानकारहरु बताउँछन् । जसमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेर नाफा कमाउने मध्ये एक हो नेकोन एयर । प्राधिकरणबाट सन् १९९६ मार्च २१ मा एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको उक्त कम्पनीले सुरुआती चरणमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेको थियो । १३ वटा वायुसेवा कमपनीबाट उडान गरेको नेकोन नाफामा गएपछि प्राथमिक सेयर निष्कासन गरे पश्चात नोक्सानमा गएर व्यवसाय नै बन्द भएको थियो । उक्त एयरका सञ्चालकका रुपमा दिपमणी राजभण्डारी, दिपक राज कोइराला, अनुप शमसेर जवरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ रहेका थिए ।

मौसममा खराबीका कारण आन्तरिक उडान प्रभावित, पोखरामा उडान हुन सकेन

काठमाडौं । वर्षासँगै मौसममा आएको खराबीका कारण आईतबार बिहानैदेखि आन्तरिक उडानमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका अनुसार वर्षासँगै मौसममा खराबी हुदाँ भिजिविलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेका हुन । आईतबार बिहानैदेखि पोखरा विमानस्थलमा उडान तथा अवतरण हुन सकेको छैन । यस्तै दिउँसो १ बजेसम्म विराटनगर विमानस्थलमा समेत उडान हुन सकेको छैन भने भरतपुर विमानस्थलमा उडान सुचारु भएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार बिहानैदेखि समस्या आएको भरतपुर विमानस्थलमा दिउँसो १ बनेबाट उडान सुचारु भएको छ । उनका अनुसार भिजिविलिटी कम हुने र बढ्दा उडान रोकिएका हुन । अन्य गन्तव्यका उडान रद्द नभएपनि पोखरा उडान रद्द गरिएको छ । बुद्धले मात्र दिउँसो १ बजेसम्म ७ वटा पोखरा उडान रद्द गरिसकेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आइतबार विभिन्न वायुसेवा कम्पनीको दुई सय आठ वटा उडान अवतरणको तालिका छ । आन्तरिक तर्फको नियमित उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडान निरन्तर भइरहेको छ ।

निगमको इतिहास बोकेको बोइङ जहाज ६४ करोडमा बिक्री, अमेरिकामा सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगमको इतिहास बोकेको बोइङ–७५७ जहाज बिक्री भएको छ । लामो समयको प्रयासपछि सो जहाज केही दिन अघिमात्र बिक्रीको सम्झौता भएको निगमले जनाएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले केही दिनअघि मात्र अमेरिकी कम्पनीसँग जहाज बिक्रीको सम्झौता भएको जानकारी दिए । उनका अनुसार पूरानै मूल्य (५ दशमलव ४ मिलिनियन) नेपाली मूल्य करिब ६४ करोड २० लाखमा जहाज बिक्रीको सम्झौता भएको हो । जहाज बिक्रीको सम्झौता गर्न पौडेल स्वय अमेरिका जाने तयारीमा थिए । तर दोस्रो लहरको कोरोना संक्रमण र निगमकै कर्मचारीको आन्दोलनका कारण उनले वकिललाई अमेरिका पठाएर जहाज बिक्रीको सम्झौता गरेका हुन । सो सम्झौता अनुसार निगमले मेन्टेनेस गरेर जहाज अमेरिकी कम्पनी सीएफडीएसलाई हस्तान्तरण गर्नेछ । जहाज बिक्रीका लागि तीन पटक टेन्डर नेपाल वायुसेवा निगमको ३४ वर्ष पुरानो बोइङ जहाज विक्रीका लागि तेस्रो पटक टेन्डर आह्वान गरेको थियो । पहिलो र दोस्रो टेन्डरमा जहाज खरिदका लागि कुनै पनि आवेदन नपरेपछि निगम व्यवस्थापनले झण्डै आधा मूल्य घटाएर तेस्रो टेन्डर आह्वान गरेको थियो । पहिलो पटक प्रस्वात गरिएको मूल्यमा ३९ करोड ६ लाख ४७ हजार दुई सय २० रुपैयाँ कम गरी ४८ करोड ४५ लाख रुपैयाँमा गण्डकी नाम दिइएको ९ एन–एसीबी कलसाइनको बोइङ–७५७ जहाज विक्रीको टेन्डर आह्वान गरिएको थियो । बोइङ बिक्रिका लागि पहिलो र दोस्रो पटक ग्लोबल टेन्डर आह्वान गर्दा ८७ करोड ५१ लाख ४७ हजार दुई सय २० रुपैयाँ मूल्य तोकिएको थियो । यसमा कर जोडिएको थिएन् । जहाजको उडानयोग्य प्रमाणपत्रको म्याद सन् २०२० को फेब्रुअरीसम्म नै सकिएको छ । ३४ वर्षे इतिहास निगमले पहिलोपटक सन् १९८७ मा एउटा बोइङ किन्यो । त्यसको दुई वर्षपछि सन् १९८९ मा दोस्रो जहाज किनेको थियो । यही जहाजबाट विगतमा बेलायतको लण्डन, जर्मनीको फ्रैंकफर्ट र फ्रान्सको पेरिससम्म उडान विस्तार गरिएको थियो । जापान र चीनको सांघाइमा पनि नेपाल एयरलाइन्सले आफ्नो बलियो उपस्थिति जनाएको थियो । दुबई, ढाका, कराची र भारतीय शहरमा पनि नेपालले राम्रो व्यापारमा उडान गरेको थियो । निगमका अनुसार, सो जहाज खरिद गरेयता ८९ हजार चार सय ६२ घण्टा ३५ मिनेट अर्थात ३० हजार पाँच सय ३५ साइकल उडान गरिसकेको छ । यसको एउटा इन्जिन सन् १९८८ मे र अर्को सन् १९८७ मार्चमा निर्माण भएका थिए । सन् १९८७ सेप्टेम्बर १५ मा बनेको बोइङ निगमले कम्पनीमा निर्माण हुँदाहुँदै खरिद गरेको थियो। एक सय ९० सीट क्षमताको यो जहाज सन् २०१८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ। निगमले वाइडबडी विमान खरिद गरेपछि बोइङ विमान विस्थापन गर्न सुरू गरेको थियो । सन् २०१५ मा पहिलोपटक दुई एयरबस न्यारोबडी जहाज भित्र्याएपछि भने पुराना जहाज विस्थापन गर्ने नीति लिएको हो । नयाँ थप गर्ने र पुराना जहाज हटाउने नीतिसँगै अहिले निगमसँग एयरबस कम्पनीका दुई न्यारोबडी ए३२०–२०० र दुई वाइडबडी ३३०–२०० जहाज उपलब्ध छन् । यसअघि अन्नपूर्ण नाम दिइएको अर्काे बोईङ बीबी एयरवेजले खरिद गरेको थियो । त्यो पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ ।