बजेटमा नाट्टाको सुझाव : प्रमाणपत्र धितो राखेर २० लाख ऋणदेखि डलर भित्र्याउनेलाई प्रोत्साहनसम्म
काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारलाई आगामी आर्थिक वर्ष २०८९/०८० को बजेट निर्माणमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न २३ बुँदे सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघमार्फत सरकारलाई पठाएको सुझावमा नाट्टाले टूर ट्रेकिङ, र्याफ्टिङ र पर्वतारोहण गाईडहरूलगायत पर्यटन कर्मीहरूलाई नेपाल सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखी १० लाख रुपैयाँसम्म सहुलियत ऋण प्रदान गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, पर्यटन क्षेत्रमा संलग्न साना तथा मझौला व्यवसायीहरूलाई कम्पनी दर्ता प्रमाणपत्र तथा कर चुक्ताको प्रमाणपत्र धितो राखी २० लाख रुपैयाँसम्मको सहुलियत ऋण प्रवाह गर्नुपर्ने, आयकरलाई १ प्रतिशत र पर्यटन क्षेत्रमा भ्याट छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, वार्षिक एक लाखभन्दा बढी विदेशी मुद्रा (डलर) भित्र्याउने ट्राभल, टूर र ट्रेकिङ कम्पनीहरुलाई कर छुट तथा प्रोत्साहन दिनुपर्ने सुझाव दिएको छ । पर्यटन व्यवसायीहरूलाई विद्युतीय पर्यटन सवारी प्रयोगमा प्रोत्साहन गर्न कार्यक्रम ल्याउनुपर्ने, बंगलादेश तथा श्रीलंकाजस्ता देशहरुबाट पर्यटक वृद्धि भइरहेको अवस्थामा बैंकिङ पद्धतिबाट नेपालमा डलर भुक्तानी पठाउन त्यहाको सरकारले नियन्त्रण गरेकाले सरकारी तवरबाट समन्वय गरी समस्याको समाधान गर्नुपर्ने सुझावहरू राखेका छन् । कोभिड १९ ले पर्यटन क्षेत्र थला परेको परिस्थितिमा राष्ट्र बैंकले दिएको पुन:कर्जा कम्तीमा ५ वर्षसम्म निरन्तरता दिनुपर्ने सुझाव दिएको छ । नाट्टाले पुन:कर्जा कार्यविधिमा एक पटक पुन:कर्जा सुविधा पाएको व्यवसायले नपाउने र पछिल्लो दुई वर्षको रिटन अन इक्युटी ३ प्रतिशतभन्दा बढी हुनुपर्ने सुझाव दिएको छ । यस्तैगरी नाट्टाले कोभिडबाट अति प्रभावित क्षेत्रमा परेकोे पर्यटन व्यवसायीहरूले बैंकबाट लिएको ऋणको किस्ता भुक्तानीमा ढिलाई हुँदा थप शुल्क वा जरिवाना नलाग्ने व्यवस्था गरी भुक्तानीको अवधिलाई रिसेड्युल गर्नसमेत माग राखेको छ । पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा जस्तै बैंक तथा वित्तीय संस्थाहरूले निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था हुनुपर्ने, अन्य उद्योगले पाए सरहको सुविधा पर्यटन व्यवसायीलाई पनि उपलब्ध गराउनुपर्ने, सरकारले ल्याएको पर्यटन काज तुरुन्त कार्यान्वयन गरी इजाजतप्राप्त टूर एण्ड ट्राभल कम्पनीमार्फत मात्रै जानुपर्ने व्यवस्था मिलाउनसमेत नाट्टाले सरकारलाई सुझाव दिएको छ ।
बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । ‘तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ’, महानिर्देशक अधिकारीले भने । अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ । ‘अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ’, उनले भने । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ । यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ । विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ । अधिकारीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन । हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ ।’ नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् । वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । यस्तो छ एयरलाइन्सको तयारी प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन् । उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताए । ‘उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ’, प्रवक्ता बर्तौलाले भने । अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ । रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राखे । बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ, १२ बजबेसम्म उडान गर्दा एयरलाइन्सन र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरुरी छ ।’ एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् । रासस
४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा, पर्यटन व्यवसायी उत्साही
काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिईन। उनका अनुसार आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेका छन् । केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् । यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताए। कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । पर्यटन व्यवसायी उत्साही लामो समय पर्यटन आगमन सुनसान भएपछि व्यवसायी निरास बनेका थिए । कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो । कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थियो । अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक राईले बताए । फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी पेमा शेर्पा कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको बताउँछन् । “विगत वर्षमा दुईचार जनाबाहेक आरोहण गर्न आउँदैनथे, यसवर्ष उल्लेख्य सङ्ख्यामा आरोही हिमाल आरोहण गर्न आएका छन्,” उनले भने ।