अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि
मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ । अहिले मुख्य सिजन भएकाले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि उपयुक्त सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । कोरोना भाइरस, बाढीपहिरो र हिमपातका कारण पर्यटन क्षेत्रमा ह्रास आइरहेको बेला अहिले पर्यटकको आगमनमा वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दुई वर्षसम्म कोरोना भाइरसका कारण थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र अहिले विस्तारै तग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । गएको फागुन महिनामा ४९४ जना र चैत १ देखि ७ गतेसम्म २९२ गरी ७८६ विदेशी पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए । थलिएको अन्नपूर्ण पदमार्गको पर्यटन क्षेत्र गत असोज महिनादेखि राम्रो हुन थालेको प्रमुख गौतमको भनाइ छ । मङ्सिर र पुस महिनामा हिमपातका कारण अलि सुस्ताएको भए पनि अहिले फेरि पर्यटकको चहलपहल बढ्न थालेको उनले बताए । जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग पुनः सञ्चालन भएको र सुरक्षित रहेको जनाएको छ । वर्षाले बिगारेको बाटो मान्छे हिँड्न र मोटरसाइकल पास हुने बनाइएको छ । स्वदेशी तथा विदेशी पर्यटक तिलिचो तालको अवलोकन गर्दै थोराङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ पनि पुगिरहेका हुँदा अन्नपूर्ण पदमार्ग सुरक्षित र सहज रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । रासस
सीजी उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’ सम्पन्न
काठमाडाैं । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ । कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले उत्सवमय रौनक थपेका थिए । स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरु प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो । उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ । यो कला, संस्कृति, साहित्य र संगितको प्रवधर्ल नमा क्रियाशिल छ । हाम्रा सांस्कृतिक र कला सम्पदाको संरक्षण र प्रवर्धन गर्दै महिलाहरूको नेतृत्वमा लघु उद्यमीहरूमार्फत महिला सीप र क्षमता निर्माण गर्न उन्नती कल्चरल भिलेज क्रियाशिल रहेको छ । उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ । मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभकाबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नती गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मेलामा करियर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो ।
पर्यटन प्रवर्द्धनका लागि चैतमा दुई ट्राभल मार्ट हुने
काठमाडौं । नेपालका सबै प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय टुर अपरेटरसँगको व्यावसायिक सम्बन्ध विस्तारका लागि पर्यटन बोर्डले चैतभित्र दुई प्रदेशमा ट्राभल मार्टको आयोजना गर्ने भएको छ । मार्टबाट टुर अपरेटर, होटल व्यवसायी तथा आन्तरिक पर्यटन प्रबर्द्धनसँगै व्यवसायीबीच दूर प्याकेज आधानप्रदान हुने गर्छ । पर्यटन बोर्डका अनुसार यही चैतको ११ गतेदेखि १३ गतेसम्म धरानमा इस्ट टुरिजम मार्टको आयोजना हुँदैछ । विभागले धरान उपमहानगरपालिकसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको मार्ट संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै धनगढी उपमहानगरपालिकसँगको सहकार्यमा यही चैत २५ देखि २७ गतेसम्म सुदूरपश्चिमक धनगढीमा फार्भेस्ट ट्राभल मार्टको आयोजना हुने पर्यटन विभागले जनाएको छ । उक्त ट्राभल मार्टमा सुक्लादेखि साइपालसम्मको पर्यटन प्रवर्द्धन गरिने आयोजकले जनाएको छ । ट्राभल मार्टले पश्चिम नेपालका पर्यटकीय क्षेत्रको बजारीकरण गर्न यसअघि नेपालगन्जमा पहिलो पटक भएको पर्यटन मार्टको आयोजना गरिसकेको छ । उक्त मार्टमा भारतीय पर्यटन व्यवसायीलाई भिडियो र टेक्निकल सेसनमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको जानकारी गराइएको थियो । यसअघि नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित ‘आउट वाउन्ड ट्राभल मार्ट’बाट नेपाल घुम्न निम्तो दिइसकेको छ । फागुन ३० देखि चैत्र २ गतेसम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टर उक्त मार्टको आयोजना भएको हो ।