गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ, ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो, परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ ।” महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिए । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उनको भनाई छ । उनले भने, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो, अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।” यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ । गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् । रासस

धार्मिक पर्यटकको रोजाइ बन्यो बागलुङ

गलकोट । यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका छन् । उनीहरूले मुक्तिनाथ पछिको दोस्रो रोजाइ बागलुङमा पर्न थालेको बताएका छन् । अहिले बागलुङको कालिका मन्दिर, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा आउने धार्मिक पर्यटकमध्ये मुक्तिनाथ दर्शन गर्न आएको पाइएको छ । अहिले पञ्चकोट, कालिका मन्दिरलगायतका धार्मिक क्षेत्रमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधन प्रशस्त देखिन्छन् । बागलुङको प्रवेशद्वारमै रहेको बागलुङ कालिका, विश्वको लामो झोलुङ्गे पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, रिगताललगायतको क्षेत्रमा पनि अहिले पर्यटकको चाप देखिन्छ । बागलुङमा चैतेदसैं र नयाँ वर्षपछि यहाँ पर्यटकको चाप निकै रहेको पाइएको छ । बागलुङमा अहिलेसम्मकै धेरै पर्यटक आएको पर्यटन व्यवसायीको दाबी छ । टिकटक तथा फेसबुकका कारण पञ्चकोट, शालग्राम, लामोपुल र कालिका मन्दिर आउने पर्यटकको चाप बढी भएको हो । बागलुङमा आएको व्यवसायी बताउँछन् । नयाँ वर्षपछि बागलुङमा अत्यधिक पर्यटकको आगमन भएको छ । बागलुङमा खासगरी मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरमा पुग्ने तीर्थयात्रु पनि बागलुङ आउन थालेका छन् । पर्यटकको आगमनले कालिका मन्दिर, लामो झोलुङ्गे पुल र बाङ्गेचौर क्षेत्र पर्यटक र सवारी साधनले भरिएको पाइन्छ । बागलुङ र पर्वत जिल्लाको बीचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा समेत पर्यटक आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अनुसार थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ भने होटलमा पाहुनासमेत आउन थालेका छन्, त्यसैले यहाँका होटल व्यवसायीमा आशा पलाएको छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको छ । पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । चैते दसैं सम्पन्न भएको भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको बताइएको छ । चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घले जनाएको छ ।

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ । विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटिएम मेशिन र दुईवटा पिओएस मेशिन थप गर्न लागिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस