तीन महिनापछि सुकेटार विमानस्थलबाट उड्यो नेपाल एयरलाइन्स, भाडा ९ हजार बढी

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ । ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल नौ हजार दुई सय रुपैयाँ भाडादर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो । लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ । रासस

एनएमबिका ग्राहकले बुद्ध र यति एयरको टिकट काट्दा ५०० रुपैयाँसम्म क्यासब्याक पाउने

काठमाडाैं । एनएमबि बैंकले एयरलाइन्सकाे टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएकाे छ । बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० रुपैयाँ र ५०० रुपैयाँ क्यासब्याक पाइने सुविधा ल्याएकाेच हाे । यस क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ईकमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएकाे छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् : पर्वतारोहणका लागि नयाँ हिमाल खुलाउँछौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन् । ‘अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तिनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने । मन्त्री श्रेष्ठले नेपालका हिमाल तथा चुलीहरु विदेशी पर्यटक आकर्षक गर्ने महत्वपूर्ण माध्यम भएकाले पर्वतारोहणको विकास तथा प्रवद्र्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन विदेशी मुद्रा आर्जनका साथै रोजगार सिर्जना गर्ने माध्यम बनेको उनको भनाइ छ । उनले साहसिक पर्यटनको विकास गर्दै नेपाललाई विश्वको पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे । हाल नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार सय १४ हिमाल आरोहणका लागि खुला गरिएको छ । मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताउए । पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीलगायतले पर्यटन क्षेत्रलाई सुदृढ र गुणस्तरीय सेवा प्रवाहका लागि सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो रहेको बताएका थिए । सङ्घका अध्यक्ष निमा नुर्बु शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि सङ्घले विगत चार दशकदेखि सक्रिय रहँदै आएको बताए । विसं २०३० कात्तिक १५ गते स्थापना भएको सङ्घमा हाल देशभर दुई हजारभन्दा बढी पर्वतीय पर्यटन व्यवसायी आबद्ध छन् । सोही कार्यक्रममा पर्वतीय पर्यटनमा विशेष योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस