न्यारोबडी जहाज मर्मत गर्न वायुसेवा निगमले आह्वान गर्यो ठेक्का
काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ । करिब-करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो । निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)/मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । जहाजको भी-१७५८५ सिरियल नम्बरको दायाँपट्टिको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको थियो । आठ महिनाअघि यही जहाजको बायाँपट्टिको इन्जिन फेल भएर ग्राउण्डेड भएको थियो । ‘नाइनएन-एकेडब्लु’ कलसाइनको यो न्यारोबडी जहाजको निगमले सात वर्षअघि खरिद गरेको थियो । सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको निगमले जनाएको छ । रासस
सरकारी बैंकलाई मात्रै हेजिङको सुविधा, क्षेत्रिय र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले २०% व्यहोर्ने
काठमाडौं । नेपाल सरकारले हेजिङ नियमावली २०७९ जारी गरेको छ । विदेशी विनिमय ऐन २०१९ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले हेजिङ नियमावली २०७९ जारी गरेको हो । एकसय मेगावाट वा सो भन्दा बढी क्षमताको जलाशययुक्त वा अर्ध जलाशययुक्त विद्युत परियोजना, २२० केभी वा सो भन्दा बढी भोल्टेज लेभेलको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनको निर्माण परियोजना, १० किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजना, शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाईओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङ्गमार्ग निर्माण तथा ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण परियोजना, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार परियोजना, २ अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र शहरी विकास सम्बन्धी पूर्वाधार परियोजना, नेपाल सरकारले निर्णय गरी तोकेको अन्य परियोजनामा हेजिङ सुविधा उपलब्ध गराइने भएको छ । हेजिङ गर्ने संस्थाले विदेशी विनिमय दरको जोखिम, मुद्रास्फीति जोखिम, परियोजनाको स्वपुँजी र ऋणको अंश, ऋण भुक्तानी गर्नुपर्ने अवधि, अन्तरमुद्रा प्रचलित ब्याजदर जोखिमको व्यवस्थापन तथा हस्तान्तरण र परियोजनाको प्रकृतिको समेतको आधारमा हेजिङ शुल्क निर्धारण गरिने नियमावलीमा उल्लेख छ । १ सय मेगावाट वा सो भन्दा बढी क्षमताको जलाशययुक्त वा अर्ध जलाशययुक्त विद्युत परियोजनामा नेपाल सरकारको तर्फबाट ५ प्रतिशत र व्यावसायिक संस्थाबाट ४० प्रतिशत हेजिङ ब्यहोरिने छ । यस्तै, २ सय २० केभी वा सो भन्दा बढी भोल्टेज लेभेलको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनको निर्माण परियोजनामा नेपाल सरकारले २० प्रतिशत र व्यावसायिक संस्थाको ३५ प्रतिशत हेजिङ ब्याहोरिने उल्लेख छ । यस्तै, १० किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजनामा नेपाल सरकारको ५ प्रतिशत र संस्थाको ३० प्रतिशत, शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाईओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङ्गमार्ग निर्माण तथा ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण परियोजनामा नेपाल सरकारको १० प्रतिशत र संस्थाको ३० प्रतिशत, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार परियोजनामा २० प्रतिशत सरकार र ३० प्रतिशत व्यावसायिक संस्थाले हेजिङ ब्यहोर्नु पर्नेछ । यस्तै, २ अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र शहरी विकास सम्बन्धी पूर्वाधार परियोजनामा १० प्रतिशत सरकार र २० प्रतिशत व्यावसायिक संथाले हेजिङ ब्यहोर्नु पर्नेछ । यस्तै, नेपाल सरकारले निर्णय गरी तोकेको अन्य परियोजनामा नेपाल सरकारको निर्णय बमोजिम बढीमा २० प्रतिशत हेजिङ ब्यहोरिने भएको हो । नियमावली बमोजिम हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रुपमा काम गर्न चाहने प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पुर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजना सहित मन्त्रालयमा प्रस्ताव पेश गर्नुपर्ने छ । कुनै संस्थाले हेजिङ सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मुल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ गर्ने संस्थाको रुपमा तोक्ने भएको छ । हेजिङ गर्ने संस्थाले परियोजनामा लगानी हुने विदेशी ऋणको कूल परिमाण, विदेशी ऋण सम्झौता बमोजिम ऋण चुक्ता गर्नुपर्ने अवधि र ब्याजदर, ऋण उपकरण (ग्रीन बण्ड) को हकमा सोको अवधि समेतको आधारमा हेजिङ सुविधाको अधिकतम अवधि निर्धारण गरिने छ । अर्थ मन्त्रालयका अनुसार हेजिङको सुविधा कुनै परियोजनामा गरिने ऋणको सावाँ तथा ब्याज रकमका लागि उपलब्ध हुनेछ । कुनै परियोजनामा गरिने विदेशी ऋण लगानीको हेजिङ गर्ने भएमा हेजिङ गरिने अनुमति ऋण लगानीको अङ्क परियोजना स्वीकृति वा अनुमतिका लागि व्यावसायिक संस्थामा आवेदन गर्दा नै खुलाउनुपर्नेछ । हरित पूर्वाधारमा लगानी गर्ने गरी बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्त बजारमा ऋण उपकरण जारी गरी वा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग ऋण लिई अन्तर्राष्ट्रिय मुद्रा कोषले कामय गरेको स्पेसियल ड्रइङ्ग राइट्सभित्र पर्ने विदेशी मुद्रामा कम्तीमा दुई करोड अमेरिकी डलर वा सोभन्दा बढी रकम बराबरको कारोबारमा हेजिङ सुविधा उपलब्ध हुनेछ । त्यस्तो सुविधा उपलब्ध गराइएकामा सरकारले हेजिङ शुल्कको १० प्रतिशत बराबरको रकम बेहोर्न सक्नेछ । त्यस्तो हेजिङको अवधि सात वर्षको हुनेछ । हेजिङ गर्ने संस्थाले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फिति जोखिम, परियोजनाको स्वपुँजी र ऋणको अंश, ऋण भुक्तानी गर्नुपर्ने अवधि, अन्तरमुद्रा प्रचलित ब्याजदर, जोखिमको व्यवस्थापन तथा हस्तान्तरण र परियोजनाको प्रकृतिसमेतको आधारमा हेजिङ शुल्क निर्धारण गर्ने व्यवस्था गरिएको छ । त्यस्तो शुल्क निर्धारण गर्दा हेजिङ गर्ने संस्थाले आवश्यकताका आधारमा मन्त्रालयले बैंक, व्यावसायिक संस्था, सरोकारवाला निकाय, परियोजना र त्यस्तो परियोजनाका लगानीकर्तासँग समन्वय गर्नेछ । सार्वजनिक निजी साझेदारी लगानी ऐन, २०७५ बमोजिम सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन हुने सरकारको राष्ट्रिय प्राथमिकतामा परेका वा राष्ट्रिय गौरवका परियोजनामा सरकारले उपलब्ध गराउने हेजिङ शुल्कको पनि निर्धारण गरिएको छ ।
पर्यटकले छुटाउनै नहुने पर्वतका ५ गन्तब्य
कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे,’ कुश्मामा होटल व्यवसाय गर्दै आएका सूर्य केसीले भने, ‘पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ’, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ । ‘पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ ।’, कुश्माका दिनेश तिवारीले भने, ‘यहाँका होटल तथा रेष्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन् ।’ बन्जी र स्वीङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । पाँच सय रुपैयाँको टिकट काटे पछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ । ‘हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ ।’ रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भने, ‘बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ ।’ धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । ‘कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन् ।’ सञ्चारकर्मी अगन्धर तिवारीले भने, ‘स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन ।’ दुर्लुङकोट कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन । हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । ‘हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ ।’ दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भने, ‘धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।’ उनले भने, ‘दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ ।’ केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् । मोदीबेनी दिब्यधाम दामोदर कुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ्रे हिमशृङखलाबाट बगेर आएको मोदिनदीको सङ्गमस्थलमा भगवान नृसिंहको पुरानो मन्दिर छ । विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीबेनी दिब्यधाम भनेर पनि चिनिन्छ । कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवान्को अवतारका रुपमा पूजाआजा गरिँदै आइएको छ । गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीनदीमा स्नानका लागि तीर्थाल आउने गर्छन् । ‘दाहासंस्कारका लागि पनि मोदीबेनीदिब्य धाम उत्तम मानिन्छ,’ नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले भने- ‘पहिले भारतबाट आउने धेरै तीर्थालरु यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या ज्यादै कम छ ।’ यातायातको सहज पहुँच नहुँदा भारतबाट मुक्तिनाथ र दामोदरकुण्ड हिँडेका तीर्थालु यहाँ एक दिन बास बसेर भोलिपल्ट बिहानै यात्रामा निस्कन्थे । यहाँ एक सय आठ तुलसीको बोट, गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना निर्माण गरिएको छ । कुश्मा-मुडिकुवा पुल छेउको बाटोदेखि दश मिनेटमा नै मोदीबेनी दिब्यधाम पुग्न सकिन्छ । गुप्तेश्वर गुफा बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ । यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो । ‘धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन्, तर गुप्तेश्वर गुफा ओरालो नभइ उकालो मुख फर्किएको छ ।’ गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाको अध्यक्ष पृथवीनारायण शर्माले भने- ‘शिवपार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महत्व विशेष छ ।’ यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ । गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ । गुफाको महत्वलाई प्रचारप्रसार गर्दै उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिवपार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण भइरहेको छ । अल्पेश्वर गुफा पहिलो नेपालकै अग्लो र लामो कुश्मा-ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दूरीमा जङ्गलको बीचमा अल्पेश्वर गुफा अवस्थित छ । बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ । विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए । गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ । तीन तला रहेको गुफाभित्र प्राकृतिक तालतलैया र छहरा छन् । एडभेन्चर मन पराउनेका लागि यस गुफा उत्कृष्ट गन्तव्य भएको अल्पेश्वर गुफा पर्यटकीय केन्द्र पर्वतका पूर्व अध्यक्ष नारायण अधिकारीको भनाइ छ । उनका अनुसार यस गुफामा विभिन्न प्रजातिका २० हजारभन्दा बढी चमेरा बस्छन् । ‘सदरमुकामबाट नजिकमा भएर पनि ओझेलमा परेको छ,’ उनले भने- ‘चुन ढुङ्गाबाट बनेका ३३ कोटी देवीदेउताको मूर्ति जताततै देख्न सकिन्छ । कम्तीमा दुई घण्टा यहाँभित्र मज्जाले भुल्न सकिन्छ ।’ सहस्रधारा सहस्रधारा पुग्न कुश्माबाट यातायातको साधनमा जम्मा १५ मिनेट लाग्छ । बाह्रै महिना पहाडबाट खस्ने झरना हेर्न र नजिकै रहेको लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न केही पर्यटक आउने गरेका छन् । तर यसको प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भएर पनि ओझेलमै परेको छ । कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्या बस्ने र सहस्रधारामा स्नानका लागि जाने गरेको किम्वन्दती छ । यसलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा लिने गरिएको छ । धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय बताउँछन् । केही वर्ष अघि स्थानीयस्तरबाट सह्रसधारा दिब्यधामलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचले महायज्ञको आयोजना गरिएको थियो । सङ्कलित रकमले एक सय आठ गौ धारा निर्माण, शिवको मूर्ति, मन्दिरलगायत पूर्वाधारको समेत निर्माण गरियो तर, उचित प्रचारप्रसार र व्यवस्थापन नहुँदा सोचेअनुरुप पर्यटक भने भित्रन सकेका देखिँदैन । कुश्मामा रहेका अग्ला र लामा झोलुङ्गे पुल, बन्जी, जिपलाइनलगायत साहसिक खेलले पर्वतको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको छ । अब यहाँ आइपुग्ने पर्यटकलाई अन्य प्राकृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरणको सिर्जना गरिनु आवश्यक छ । रासस