भिजिट भिसामार्फत मानव बेचविखन

काठमाडाैं । भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ । यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचविखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरुको खोजीकार्य सुरु भएको उनले बताए । नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । पीडितलाई फ्रि–भिसा फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ । ती गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैँ बनाई महिला र पुरुषलाई काठमाडौँमा ल्याएर राख्ने गरेको खुल्न आएको छ । उनीहरुका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारवाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए । आरोपीमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरुको नाम भने ब्युरोले खुलाएको छैन ।

पर्यटक बस टर्मिनल निर्माण योजना उपेक्षित

काठमाडौं । काठमाडौँ केन्द्रित पर्यटीकय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजरुपमा पोखरा, सौराहा र लुम्बिनी पुग्न सके । हजारौँले रोजगारी पाए । स्थानीय अर्थतन्त्र चलायमान बन्यो । राज्यले अर्थतन्त्रको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । पर्यटन क्षेत्रलाई सुदृढीकरण गर्न विभिन्न योजना पनि ल्याएको छ । नयाँनयाँ पर्यटकीय गन्तव्य विस्तारमा सरकार लागि परेको छ । तर लामो समयदेखि पर्यटक बस सेवा सञ्चालन गर्दै आएका व्यवसायी भने राज्यले आफूप्रति उपेक्षा गरिरहेको बताउँछन् । पर्यटक बस सेवा सञ्चालन गर्दै आएको व्यवसायीले केन्द्रीय पर्यटक बस टर्मिनल निर्माण गरिदिन आग्रह गरेको वर्षौं भयो । केही स्थानमा जग्गा पहिचान पनि भए । तर अहिलेसम्म केन्द्रीय पर्यटक बस टर्मिनलले मूर्तरुप लिन सकेको छैन । बसपार्क नहुँदा अहिले पनि व्यवसायीले सडकमै बस रोकेर गरेर पर्यटक चढाउने र ओराल्ने गरेका छन् । लामो समयसम्म कान्तिपथबाट पर्यटक बसले यात्रु चढाउने गर्दथे । विस्तारै यात्रु र व्यवसायीको सङ्ख्या पनि बढ्न थाल्यो । यात्रु र बसको चापका कारण कान्तिपथ क्षेत्रमा ट्राफिक जाम हुन थालेपछि केही वर्षअघिदेखि सरकारले सो क्षेत्रबाट पर्यटक बसले यात्रु चढाउन रोक लगायो । व्यवसायी सोह्रखुट्टे क्षेत्रबाट यात्रु चढाउने गर्न थाले । टुरिष्ट बस एसोसियन अफ नेपाल (टिवान)का अध्यक्ष इश्वर शर्मा पर्यटक बस व्यवसायीलाई राज्यले उपेक्षा गरेको बताउछन् । लामो समयदेखि केन्द्रीय पर्यटक बस टर्मिनल बनाउन सरकारसँग अनुरोध गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘शुरुआतमा व्यवसायीको सङ्ख्या र पर्यटकको सङ्ख्या थियो, पछिल्ला समय बजार विस्तार भएको छ, पर्यटकका साथै व्यवसायीको सङ्ख्या पनि बढेको छ’, उनले भने, ‘सडकमा पार्किङ गरेर यात्रु चढाउनुपर्ने बाध्यता छ, यसले ट्राफिक जामका साथै जोखिम पनि बढाएको छ ।’ सडकमै रोकेर पर्यटक चढाउँदा अन्तर्राष्ट्रियस्तमा नेपाली पर्यटन क्षेत्रको सन्देश राम्रो नगएको अध्यक्ष शर्माको भनाइ छ । पर्यटक बस सेवालाई व्यवस्थित बनाउनुपर्छ भनेर व्यवसायीहरुले नै काठमाडौँ महानगरपालिका–१६ बालाजु आसपासमा केन्द्रीय बस टर्मिनल बनाउन भन्दै जग्गा पहिचान पनि गरे । बस टर्मिनल बनाउन भनेर काठमाडौँ महानगरपालिकामा प्रस्ताव पनि पठाइयो । तर तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यको पालामा बस टर्मिनल निर्माणको प्रक्रिया अघि बढ्न सकेन् । व्यवसायीले कामपाका प्रमुख बालेन्द्र साहलाई बस टर्मिनल बनाउन पुनःप्रस्ताव गरेका छन् । ‘वर्तमान प्रमुख साहले सार्वजनिकरुपमा पनि पर्यटक बस सञ्चालनका लागि छुट्टै ‘टर्मिनल’ बनाउने बताउँदै आउनुभएको छ’, टिवानका अध्यक्ष शर्माले भने, ‘हामीलाई आशा छ, अहिलेको नगर प्रमुखले व्यवसायीका समस्यालाई समाधान गर्नुहुनेछ ।’ नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेल नै मानिएको छ । विदेशी पर्यटक प्रायःठमेल क्षेत्रमा नै बसोबास गर्छन् । ठमेल बस्ने पर्यटकलाई लक्षित गरेर व्यवसायीले सोही क्षेत्र आसपास नै बस टर्मिनल बनाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् । पोखरा र चितवनमा भने छुट्टै पर्यटक बस टर्मिनलन सञ्चालनमा छन् । जहाँबाट यात्रुले सहजरुपमा सेवा लिन सकेका छन् । अहिले काठमाडौँबाट विभिन्न पर्यटकीय गन्तव्यमा पुग्ने बस बिहान आठ अगावै छुटिसक्छन् । काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, भैरहवा र जनकपुरमा दैनिक यात्रुवाहक पर्यटक बस सञ्चालन हुँदै आएका छन् । ती बस बिहानै यात्रु लिएर छुट्छन । बसपार्कको स्थायी प्रबन्ध नहुँदा विभिन्न समयमा सेवा दिन नसकिएको उनको भनाइ छ । अहिले काठमाडौँबाट विभिन्न गन्तव्यका लागि दैनिक १५० बढी ठूला पर्यटक बस सञ्चालन हुँदै आएका छन् । सबैभन्दा धेरै बस पोखराका लागि छुट्छन् । चालीसभन्दा बढी कम्पनीले ठूला पर्यटक बसमार्फत पर्यटकलाई गन्तव्यमा पु¥याउँदै आएका छन् । पर्यटक ओसारपसार गर्ने साना ठूला सवारीसाधनको सङ्ख्या करिब पाँच हजार छन् । नयाँनयाँ पर्यटकीय गन्तव्यमा सेवा दिने गरी निजी क्षेत्र अगाडि बढेको अध्यक्ष शर्मा बताउछन् । राजधानी बाहिर पनि अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै व्यवसायीले काठमाडौँ केन्द्रित सेवालाई विकेन्द्रीत गर्न थालेका छन् । ‘अहिले नयाँ गन्तव्यमा पनि पर्यटक बस सञ्चालन हुन थालेको छ, प्रदेश नं १ का र मधेस प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यलाई लक्षित गरेर पर्यटक बस सञ्चालन हुन थालेका छन्’, उनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरेर पनि सीमा क्षेत्रबाट पर्यटक बस सञ्चाल गर्ने व्यवसायीको तयारी छ ।’ व्यवसायीकै पहलमा काठमाडौँ–जनकपुर पर्यटक बस सञ्चालनमा आइसकेको छ । छिट्टै बर्दियामा पनि बस सेवा सञ्चालन गर्ने तयारी छ । सरकारले स्वीकार्यो, ऐनले छेक्यो सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालको जुनसुकै भूगोलमा भ्रमण गर्ने नेपालीलाई पनि आन्तरिक पर्यटककैरुपमा स्वीकार गरिएको छ । स्वदेशी पर्यटक बोकेर हिँड्दा पर्यटक बसमा किन नेपाली बोकेको भनेर दुःख दिने प्रवृत्तिमा अझै कमी आएको छैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई पर्यटकीय सवारी भनिने उल्लेख छ । ऐन संशोधन नहुँदा अझै पनि व्यवसायीले विभिन्न बहानामा दुःख पाइरहेको अध्यक्ष शर्माको गुनासो छ । व्यवसायीले यस विषयमा सरकारसँग विभिन्न चरणमा छलफल गरे । सरकारले आन्तरिक पर्यटकलाई पनि पर्यटक नै मान्यो । तर ट्राफिक प्रहरीले कहिलेकाहीँ पर्यटक बसले नेपाली चढाएको भन्दै दुःख दिने क्रम रोकिएको छैन । पर्यटकीय ‘सिजन’ र चाडवाडको आश कोरोना महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो । कति व्यवसायी पलायन भए । हजारौँले रोजगारी गुमाए । कोरोना महामारी विस्तारै शान्त हुँदै गएपछि पर्यटन क्षेत्र पुनःपहिलेकै अवस्थामा फर्कने व्यवसायीको आशा छ । ‘कोरोनापूर्वकै अवस्थामा व्यवसाय फर्कन सकेको छैन, कोरोना महामारी ओरालो लाग्न थालेसँगै विस्तारै व्यवसाय बढ्ने आशा गरेका छौँ’, अध्यक्ष शर्माले भने, ‘सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पर्यटकीय याम हो । यहीबीचमा नेपालीको मुख्य चाड तीज, दशैँ र तिहार पर्छन्, व्यवसाय फस्टाउने अपेक्षा छ ।

त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनलाई पर्यटन विभागबाट मान्यता

काठमाडौं । रिभरसाइड स्पा एण्ड रिट्रिट प्रा।लि द्वारा सञ्चालित त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनले पर्यटन विभागबाट मान्यता प्राप्त गरेको छ । हालै रिसोर्टले जिपलाइन र स्काइरोप साइकलिङको इजाजतपत्र (लाइसेन्स) पाएको रिसार्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए । यस अगाडि पर्यटन बिभागको निरीक्षण भ्रमण पछाडी पर्यटकहरुलाई सेवा दिँदै आएको कँडेलले बताए । ‘एक दशकभन्दा लामो समयदेखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङ सञ्चालन गर्दै आएका थियौँ । पछि जिपलाइन र स्काइरोप साइक्लिङ पनि सुरु गर्‍यौँ,’ कक्डेल भन्छन्, ‘नदी माथी नै स्काइरोप साइकलिङ गर्न मिल्ने यो नै नेपालको पहिलो स्काइरोप साइकलिङ हो । सञ्चालनमा आएको केही समयमै यी दुई साहसिक खेल हाम्रो रिसोर्टमा सञ्चालन गर्न पर्यटन विभागबाट इजाजतपत्र पाइसकेका छौँ ।’ काठमाडौँबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्टको स्काइरोप साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जना खेल्न मिल्छ भने अर्कोमा जोडी नै एकैसाथ खेल्न मिल्ने व्यवस्था गरिएको छ । दुई तर्फी दुरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति सात सय रुपैयाँ र फोटो भिडियोको लागि थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए । रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरी नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारी तर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन पाँच सय लाग्ने कँडेलले बताए । जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने उनी बताउँछन् । यस्तै, पर्यटकलाई थप सुविधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भइरहेको छ । जिपलाइन र स्काइरोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै जाने उनी बताउँछन् ।