पर्यटकमाथि गर्ने व्यवहार परिवर्तन नगरी पर्यटन वर्ष सफल हुँदैन

संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०२३–२०३३ सम्म भ्रमण वर्ष मनाउने घोषणा गरेका छन् । यसका लागि उनले ७३ बुँदे कार्यविधि समेत सार्वजनिक गरिसकेको छ । तर, उनले बनाएको कार्यविधिले पर्यटन तान्न सक्ला त ? किन कि विदेशीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरु ठगिन थाल्छन् । एयरपोर्टमा सञ्चालित हरियो प्लेटको ट्याक्सीले विदेशी भन्ने बित्तिकै ठमेल पुर्याएको पाँच हजार असुल्छन् । तर, मिटरमा जाने हो भने पाँच सय रुपैंया तिरे पुग्ने बाटो छ । होटल व्यवसायीले समेत विदेशीलाई हेरिहेरि रकम धुत्ने गरेका छन् । होटल हेरेर खाएको र बसेको पाँचदेखि बीस हजारसम्म लिने गरिएको छ । यता, विदेशी घुमाउने नेपाली गाइडले पनि लुट्नु लुट्छन् । विदेशीहरु सार्वजनिक बस चढ्दैनन्, मिटरजडित ट्याक्सी चढ्छन् । कालो प्लेटको ट्याक्सीले हजारको बाटोमा पाँच हजार ठोकिहाल्छ । सामान्य माला बेच्नेबाट पनि उनीहरु ठगिएका छन् । विदेशी ठग्ने व्यवसायीलाई कारबाही गर्नुको साटो पर्यटनमन्त्री श्रेष्ठ भ्रमण वर्ष मनाउन लागिपरेका छन् । बेथिति हट्यो भने विदेशी आफै ओइरिहाल्छन् । पर्यटनमन्त्री आँफै पनि व्यापारीको झोला बोकेर हिँडेको पाइन्छ । सर्वप्रथम विदेशी लुट्ने हरेक व्यवसायीलाई कारबाही हुनुपर्छ । जरिवाना गरिनुपर्छ । राम्रो र गुणस्तरीय वातावरणको प्रबन्ध मिलाउनुपर्छ । यसो गर्यो भने विदेशी तान्नका लागि छुट्टै कार्यविधि बनाउनैपर्दैन् । अहिले सरकारले एक विदेशी एक नेपाली भन्ने अवधारणा अघि सारेको छ । नेपालमा भएको मँहगी र ठगीले गर्दा विदेशीहरु भीसा छोट्याएर धमाधम आफ्नो मुलुक फर्किरहेका छन् । भीसा बाँकी भएपनि उनीहरु आफ्नै मुलुक फर्किन चाहन्छन् । होटलमा बस्छन्, खान्छन् तर त्यो सरकारले तोकेको होइन् । होटल व्यवसायी आफैले मनलाग्दी रेट तोकेका छन् । खानेकुरा गुणस्तरीय छ कि छैन् ? यता, उनीहरु सुत्ने ओछ्यान कस्तो छ ? यसको पनि निरीक्षण हुनुपर्यो । सरकार अनुगमन नगर्ने अनि विदेशी बोलाई बोलाई ठग्न दिने ? सरकारले खानेकुराको रेट तोकिदिने मँहगा होटलमा गएर नेपालीले खान्छन् । ओछ्यानको रेट पनि सरकारले तोकिदिनुपर्यो । यस्तो भयो भने विदेशीको खोजीमा हिड्नैपर्दैन् । मँहगो हुन्छ भनेर नेपालीहरु पाँच तारे होटलमा जादैनन् । विदेशी नेपालमा आँउदैन् । अनि यिनीहरु धरासायी नबने को बन्छ ? पहिले नेपालीलाई प्राथमिकतामा राख्नुपर्यो । आफ्नै मुलुकका जनतालाई नगन्ने अनि विदेशीको खोजीमा हिड्ने । हिजोको दिनमा सबैभन्दा धेरै नाफा हुने क्षेत्र होटलमै थियो । बैंक फाइनेन्सबाट लोन लिएर अर्बौं लगानीमा खुलेका होटल छन्, यहाँ । तर, अहिले विदेशी आएनन्, हाम्रो व्यवसायी डुब्ने भनेर सरकार गुहारिरहेका छन् । सरकारले बैंकबाट कर्जा लिएर त्यत्रो होटल खोल्न कर लगाएको थियो ? सरकारलाई आरोप लगाएर आफू पन्छिन मिल्छ ? अर्को प्रमुख समस्या हो यातायातको असुविधा । उपत्यका बाहिर ढंगको सवारी साधन नहुँदा टाँगा, रिक्सामा यात्रा गर्नुपर्ने बाध्यता छ । राजधानीबाहेक अन्य जिल्लामा ट्याक्सी पनि पाइदैन् । अनि विदेशीलाई अर्को सास्ती । अर्कोतिर, घुम्न जाने क्रममा कति विदेशी नागरिकको अकालमा ज्यान समेत गुमेको छ । गाइडहरुले जोखिमपूर्ण ठाँउमा यात्रा गराउदा उनीहरु भीरबाट खसेर मरेका छन् । कतिपय अझै पनि बेपत्ता छन् । विदेशीहरु नेपालमा मर्न आएको कि घुम्न ? त्यत्रो खर्च गरेर नेपाल आएका विदेशीको ज्यानको सुरक्षा गर्न सरकार चुकेको छ । विदेशीहरु मठमन्दिरमा दर्शन गर्न पुग्छन्, त्यही माग्नेहरुले धुरुक्कै रुवाउछन् । बजार निस्किँदा पनि उनीहरुको हाल बेहाल छ । नेपाल त माग्नेको देश हो भन्ने छाप हरेक देशका नागरिकलाई परिसकेको छ । उपत्यका होस् या बाहिर सडकभरि फोहोर छ । सबैतिर घनाबस्ती ह्वात्तै बढेको छ । जसका कारण फोहोर व्यवस्थापनमा चुनौती खडा भएको छ । काठमाडौं मात्र नभई अन्य क्षेत्रमा पनि फोहोर व्यवस्थापन गर्न निकै सकस पुगिरहेको छ । अब यो फोहोर कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने समस्या जाइलागेको छ । सडकमा फोहोर हेरेर नेपालीलाई त हिड्न गाह्रो परिरहेको बेला विदेशीहरु आउलान ? फोहोर प्रर्दशन गर्न विदेशीलाई नेपाल ल्याउने ? नेपाली आफै त सहन नसक्ने भइसकेका छन् । त्यस्तो सफा मुलुकका नागरिक यहाँ बस्न सक्छन् जस्तो लाग्छ सरकारलाई ? प्रदुषण हेर्यो भने त्यस्तै छ । श्वास फेर्नसमेत ग्राहो पर्न थालेको छ । अनि विदेशी ल्याएर नेपालमा कसरी राख्ने ? तराईभन्दा बढी गर्मी काठमाडौं भइसकेको छ । सवारी साधनको धुलो त्यस्तै छ । सडकभरि धुलो र हिलोबाहेक केही देखिदैन् । स्वदेशी त एक ठाँउबाट अर्को ठाँउमा गएर बस्न सक्ने स्थिति छैन् । नेपाल सरकार गरिब भएपनि यहाँका जनता धेरै धनी छन् । अथाह पैसा खर्च गर्न सक्ने मानिसहरुलाई कहाँ लगेर खर्च गरौं जस्तो भइरहेको छ । नेपालीलाई प्राथमिकता दिएर यतै घुमघाम गर्ने व्यवस्था मिलाउने हो भने विदेशी चाहिदैन् । सहज रुपमा होटलहरु सञ्चालन हुन्छ । नेपालीलाई पाखा लगाएर विदेशीलाई काखा लगाउने खोज्ने मुलुकको कसरी विकास होला ? आफ्नो देशका जनतालाई पहिले प्राथमिकता दिनुपर्यो । विदेशी बोक्नका लागि भनेर चीन सरकारले दिएको विद्युतीय ट्याक्सी थन्किएर बसेका छन् । लुम्बिनीमा भएका विद्युतीय ट्याक्सी र बसभित्र घाँस उम्रिसकेको छ । एयरपोर्टबाट होटलसमेत लैजानका लागि भनेर चीन सरकारले दिएको सवारी साधन त्यत्तिकै खेर गयो । त्रिभुवन विमानस्थलमा चल्ने हरियो प्लेटको ट्याक्सीको दर्ता २०५० सालदेखि बन्द छ । भएका जति पनि सबै थोत्रा पुराना छन् । ट्याक्सीको हो कि ट्याक्टर छुट्याउनै मुश्किल पर्छ । जम्मा दुई सय सात वटा ट्याक्सीले विदेशीलाई राम्रो सेवासुविधा दिन सकेको छैन् । ट्याक्सी अपुग छ । पर्यटनमन्त्री श्रेष्ठले एयरपोर्टमा ट्याक्सी खोल्न यातायात मन्त्रालयलाई दवाब दिन आवश्यक छ । उपत्यकामा मात्र नभई हरेक जिल्लामा पर्यटन बोक्न ट्याक्सीको खाँचो देखिएको छ । तर, पर्यटनमन्त्री श्रेष्ठले ७३ बुँदामा यो विषय किन समावेश गरेनन् ? कि त एयरपोर्टको अवस्था देखेका छैनन् । रिक्सा र टाँगामा पर्यटकले यात्रा गरिरहँदा सरकारलाई लज्जास्पद लाग्दैन् । पर्यटन मन्त्रालय र यातायात मन्त्रालय ट्याक्सी खोल्न चासो देखाउदैन् अनि विदेशी भित्राउन भनेर चिच्चाइरहेको हुन्छ । विदेशीलाई यहाँ ल्याएर पैदलयात्रा गराउने हो र ? २०६९ माघमा यातायात कार्यालय, एकान्तकुनाले पाँच हजार नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न यातायात व्यवस्था विभागसँग माग गरेको थियो । त्यो पनि लक्जरियस्, राम्रो सेवासुविधा दिन सक्ने । अहिले सञ्चालन भएका ट्याक्सीले स्वदेशी र विदेशीलाई गुणस्तरीय सेवा दिन सकेको कार्यालयको ठम्याई थियो । यी ट्याक्सी उपत्यका बाहिर पुगे भने फर्किएर आउन नसक्ने भनेर कार्यालयले स्पष्ट रुपमा भनेको थियो । ट्याक्सीले राम्रो सेवासुविधा दिन नसक्दा विश्वभर नेपालको इज्जत गएको कार्यालयले जनायो । ट्याक्सीकै कारणले विदेशीहरु नेपाल आउन कम भएको कार्यालयको ठहर छ । २०५७ जेठ १७ गते ट्याक्सीको दर्ता बन्द हुँदा जम्मा सात हजार पाँच सय ट्याक्सी थिए । यो पनि घटेर पाँच हजार ६ सय पाँचमा झर्यो । किन कि एक हजार ७५० डिजेलबाट चल्ने ट्याक्सी विस्थापन गरियो । तर, त्यसपछि जनसंख्या त निरन्तर उकालो लागिरहयो । जसले गर्दा नयाँ ट्याक्सीको आवश्यकता परेको माग पत्रमा उल्लेख छ । अहिले ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । त्यतिखेर ट्याक्सीको परमिट पनि काभ्रेको पाँचखालसम्म बढाउने । यता, धादिङ, चितवन र नुवाकोटमा पनि ट्याक्सीको परमिट दिने । यातायात कार्यालयले यो प्रस्ताव पनि राखेको थियो । धुलिखेलमा अत्याधिक विदेशीहरु घुम्न जाने भएकाले पनि ट्याक्सीको खाँचो भएको बताइएको छ । एसी भएको ट्याक्सी भित्र्याउन भनेको वर्षौ बितिसक्दा पनि केही काम अघि बढेको छैन् । ट्याक्सी व्यवसायीको दवाबमा यो त्यत्तिकै सेलायो । न दर्ता खुल्यो न परमिट बढ्यो । यस्तोमा विदेशी बढ्लान् त ? गम्भीर प्रश्न उठेको छ । विदेशी ल्याएर पैदलयात्रा गराउने कुरा भएन् । ट्याक्सी अपुग छ । अब जिम्मा पर्यटनमन्त्री श्रेष्ठको हातमा छ । विदेशी भ्रमण वर्ष बनाउने हो भने हरेक क्षेत्रमा भएका बेतिथि र समस्यालाई नजिकबाट नियाल्न जरुरी छ । नयाँ ट्याक्सीको दर्ता खोल्न जनताले पटकपटक माग गर्दा पनि सुनुवाई भएको छैन् । सिण्डिकेट र ठगीविरुद्ध जनताले तारन्तार कुरा उठाइरहेका छन् । तर, सुनिदिने कोही छैन् । सरकार जिम्मेवार बनिदिने हो भने स्वदेशी र विदेशी दुबैले सुःखको श्वास फेर्न पाउलान् । फोहोर व्यवस्थापनमा सरकारको ध्यान जाओस् । नेपाल आएका विदेशीको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ ।

जब पत्रकारलाई केबलकारमा रोकियो !

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए । त्यसबेला पत्रकार आत्तिएनन् । बरु गोण्डोलामा उभिएरै तस्बिर तथा भिडियो लिन व्यस्त भए । उनीहरु काठमाडौं उपत्यका तथा चन्द्रागिरि डाँडो र त्यहाँको जङ्गलको वरपरका दृश्य क्यामेरमा कैद गर्नेतिर लागे । यो एक अभ्यास थियो र केबलकारका प्राविधिकहरुले पूर्वजानकारी गराएरै केबलकार रोकेका थिए । त्यसैले पनि गोण्डोलमा रहेका पत्रकार डराएनन् र यसलाई स्वाभाविकरुपमा लिए । पत्रकार चढेका हरेक गोण्डोलामा केबलकारका प्राविधिक र कर्मचरी सहभागी थिए । उनीहरुले पत्रकारलाई आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए । आजको अभ्यास यो केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आयोजना गरिएको थियो । त्यसैले हरेक गोण्डोलामा यहाँका प्राविधिक र पत्रकार राखिएको थियो र उनीहरुले यसका विविध प्राविधि विषयको जानकारी गराइरहेका थिए । एक गोण्डोलामा सहभागी थिए चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल । उनी भन्दै थिए, ‘यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन ।’ गोण्डोलामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला,’ देखाउँदै ढकालले भने, ‘यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।’ हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उनले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना हो भने । चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का भन्छन्, ‘मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ ।’ केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेका बेला केबलकार रोकिएको समाचार आएको थियो । त्यस बखत केहीबेर केबलकार रोकिएपछि गोण्डोलामा मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो । सो समाचारतर्फ सङ्केत गर्दै अध्यक्ष ढकालले डिब्बामा सात मिनेट रोकिएर रहेका पत्रकारलाई सोधे, ‘के यहाँहरुलाई सास फेर्न गाह्रो भएको हो ? उनले डिब्बामा रहेका झ्यालतर्फ देखाउँदै’, भने । हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको थियो । फेरि केबलकारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्राविधिको भनाइ थियो । विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो । यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो । अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए । ‘हिलो विद्युत्बाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमरजेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु गोण्डोलामा हुनुहुन्छ, उहाँहरुलाई सकुसल अवतरण गराउने समयसम्ममा नै काम गर्छ ।’ उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्करुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिए । केबलकारका इलेक्ट्रिोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे । उनी भन्छन्, ‘यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षितरुपमा सञ्चालनमा आउँछ ।’ ‘हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ, र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ । यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत मानिसलाई अवतरण गराउँछौँ, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौँ र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौँ,’ उनले थपे । केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले प्रश्न गरे, ‘हिजोको घटनामा चर्चा भएको अवस्था र आज आफैँ पत्रकार चढेरे रोकिएको अवस्थामा कस्तो महसुस गर्नुभयो ? भनी प्रश्न गरे । रासस

विश्वका २० हजार केबलकारमध्ये चन्द्रागिरि उत्कृष्ट हो : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले चन्द्रागिरि केबलकार विश्वको एक नम्बर कम्पनीबाट बनेका पार्टपुर्जाले निर्माण गरेको बताएका छन् । शुक्रबार चन्द्रागिरि केबलकारको प्राविधिक पक्षका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले विश्वमा रहेका केबलकारहरू मध्येमा उत्कृष्ट भएको बताएका हुन् । ‘विश्वभर २० हजार केबलकार छन्, चन्द्रागिरि केबलकार अस्ट्रेलियाको बेस्ट कम्पनी डुपल मेयरबाट निर्माण गरिएको हो, चन्द्रगिरि एक सय प्रतिशत सुरक्षित छ, यो विश्वमा भएका केबलकारहरूमा एक नम्बर कम्पनी हो,’ उनले भने । केबलकार विद्युतबाट सञ्चालन हुने भएकाले संसारमा रहेका अन्य केबलकारमा पनि लोडसेडिङ भएको बेला बन्द हुने समस्या हुने अध्यक्ष ढकालको भनाइ छ । तर, सञ्चालनमा रहेको केबलकारमा कहिलेकाहीँ मात्रै रोकिने समस्या आउने उनले बताए । ‘केबलकार विद्युतबाट संचालन हुने भएकाले कहिलेकाहीँ समस्या आउँछ, विद्युत आपूर्तिमा समस्या भएको बेला हामीसँग एक मेगावाटको जेनेरेटर छ, त्यसैबाट विद्युत प्रवाह हुन्छ, कहिलेकाहीँ समस्या आउँदा तत्कालै समाधान हुन्छ,’ अध्यक्ष ढकालले भने । आपतकालिन अवस्थामा सुरक्षित अवतरण गराउने उद्दार टोली रहेको उनले बताए । उनले चट्याङ पर्दा वा हावा चलेको बेला भने केबलकार रोकिने बताए । त्यस्तै, इन्जिनियर सरोज चापागाईंले चन्द्रागिरि केबलकार सुरक्षाका दृष्टिले एक सय प्रतिशत सुरक्षित रहेको बताए । केबलकार सञ्चालन गर्नुपूर्व प्रत्येक दिन टेक्निकल टिमले परिक्षण गरेर मात्रै सञ्चालन गर्ने गरेको उनले बताए ।