फेवातालको मापदण्डभित्रका क्षेत्रमा भौतिक संरचना निर्माणमा रोक
कास्की । देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरी तालको मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ । सर्वोच्च अदालतबाट महानगरपालिकालाई तालको मापदण्डभित्र कुनै पनि संरचना निर्माणकार्य रोक्का गर्न आदेश भएकामा सोहीअनुसार निर्माणमा रोक लगाइएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार अदालतको आदेशको अवज्ञा गर्दै विभिन्न निर्माणकार्य भइरहेकाले त्यस्ता अनधिकृत संरचना निर्माणकार्य तत्काल रोक्न आग्रह गरिएको हो । ताल किनारका विभिन्न स्थानको शनिबार अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेशविपरीत नयाँ संरचना निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचना निर्माणकार्य तत्काल रोक्नका साथै निर्माण सामग्री जफत गर्न नगर प्रहरीलाई निर्देशनसमेत दिए । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने उनले चेतावनी दिए । प्रमुख आचार्यसहितको टोली फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसारसम्म पुगेर निरीक्षण गरेको हो । फेवातालको माथिल्लो जलाधार क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने महानगरले जनाएको छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि बाहेक अन्य कार्यमा उपयोग गर्न नपाइने व्यवस्था छ । यसअघि गत चैतमा पोखरा महानगरले फेवातालको मापदण्ड घटाएर ३० मिटरमा झार्ने कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । महानगरको सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत असार १३ गते मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेको फेवाताल प्राकृतिक तथा मानवीय अतिक्रमणको चपेटामा परेको छ । ताल संरक्षणका लागि विभिन्न समयमा पटक–पटक प्रयास हुँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन । पछिल्लो समय तालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले तालको क्षेत्रफल यकिन गरी आफ्नो प्रतिवेदन बुझाएको वर्ष दिनभन्दा बढी समय व्यतित हुँदासमेत तालको सीमाङ्कनका लागि काम भएको छैन । रासस
‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न गुरुङको पैँतीस दिनको पदयात्रा
बाग्लुङ । गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उनलाई एक वर्ष नपुग्दै पुनः डोर्यायो। त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गरे । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताएका हुन् । साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो । उनले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताएका छन् । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुगेका थिए । ‘गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।’ ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताएका थिए । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए । विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो । गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आएका गुरुङले बताए । ‘पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो’, उनले भने, ‘गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।’ म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताए । दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ । गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उनले बताए । विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आएका छन् । उनले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै आएका छन् । उनले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गरेका थिए। गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताए ।
सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक
काठमाडौं । नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधिर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् । सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रालाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् । सुधिर पनि अल्ट्रालाइटका पाइलटसमेत हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बलुन उड्ने भएपछि यही नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए । एडभान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म लिए र प्राधिकरणको परीक्षा दिएका थिए । अहिले नेपालमा हट एयर बलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधिर र सन्त मात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बलुनको प्राविधिककालागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ । ‘लामिछाने र श्रेष्ठ हट एयर बलुनको प्राविधिक हुनु अघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो,’ बलुन नेपालका अध्यक्ष बिक्रम बाडे थप्छन्- ‘समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिना नै अपरेसन बन्द गर्नु पर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने अपेक्षा गरिएको छ ।’