१० महिनादेखि पाटन विमानस्थलमा हवाई सेवा बन्द

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो । हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ । पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार रुपैयाँ रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए । भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियोे । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो । रासस  

‘एक नेपाली एक पर्यटक’ योजना ल्याउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेटगरेर ‘एक नेपाली, एक पर्यटक’ रणनीतिक योजना कार्यान्वयन गरी थप पर्यटक भित्र्याउन माग गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको टोलीले मन्त्री किराँतीलाई विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर थप पर्यटक भित्र्याउन सकिने सुझाव दिँदै यसका लागि ठोस रणनीतिक योजना बनाउन आग्रह गरेको हो । मुलुकको अर्थतन्त्र सङ्कुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो । अध्यक्ष मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आठ हजार मिटरभन्दा माथिका आठ वटा हिमाल, पशुुपतिनाथ, लुम्बिनीलगायतका क्षेत्रको अन्तर्राष्ट्रियस्तरमै प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । राष्ट्रिय महत्वका स्मारक र विश्वसम्पदा सूचीमा परेका स्थललाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो । चेम्बरले नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन (इयू)को कालोसूचीबाट हटाउनका लागि कूटनीतिक पहल गर्न, विदेशी पर्यटकलाई निश्चित समयका लागि भिसा शुल्क निःशुल्क गर्नुपर्ने, नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब सुरु गर्न आग्रह गरेको छ । सो अवसरमा मन्त्री किराँतीले नेपालमा पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बनाइरहेको बताए । ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म निकै महँगो पर्ने गरेकाले नेपाल आकर्षक गन्तव्य बन्न सकेको छैन, यसका लागि सहजीकरण सुरु गरेको छु’, उनले भने । रासस

पर्वतको पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । गुफा परिसरमा जग्गादाताले चार रोपनी, छ आना, तीन पैसा एक दाम जग्गा निःशुल्करूपमा प्रदान गरेका छन् । स्थानीय समाजसेवी हरि शर्मा, रविलाल शर्मा, जनकराज पौडेल र श्यामप्रसाद पौडेलले उक्त जग्गा दान गरेका हुन् । हरिले एक रोपनी पाँच आना, रविलालले एक रोपनी चार आना, एक पैसा तीन दाम, जनकराजले १४ आना दुई पैसा तीन दाम र श्यामप्रसादले १४ आना दुई पैसा तीन दाम जग्गा पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिलाई प्रदान गरेका हुन् । पूर्वाधार विस्तारका लागि जग्गा अभाव भएपछि स्थानीयवासीले निःशुल्करूपमा उपलब्ध गराएको वडा नं २ का अध्यक्ष श्यामकृष्ण बाँस्तोलाले जानकारी दिए । उक्त जग्गा बुधबार मालपोत कार्यालय पर्वतबाट समितिको नाममा पास गरिएको छ । प्राप्त भएको जग्गामा सत्तल, मठमन्दिर, विभिन्न मूर्ति, बगैँचालगायत पूर्वाधार निर्माण गरिने छ । गुफाको पूर्वाधार विकासका लागि बहुवर्षे योजनाका रूपमा गण्डकी प्रदेश सरकारमार्फत दुई करोड रकम विनियोजन भएको छ । पाङमा हिमालय पुत्री पार्वती जन्मेको विश्वास गरिएका कारण पर्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र पार्वती खेल्ने पार्वतीचौरलगायत क्षेत्र छन् । पाङको खरिबोटमा पार्वती जन्मेको विश्वास गरिएको जमिनमा मन्दिर बनाइएको छ भने खुर्कोट र पाङको सिमानामा पार्वतीले तपस्या गरेको विश्वास गरिएको पार्वती गुफा छ । यी क्षेत्रलाई समावेश गरी ‘पार्वतीधाम’को रुपमा विकास गर्ने योजना अघि बढाइएको समितिले जनाएको छ । पैंयुँ स्वास्थ्यचौकीमा डिजिटल एक्सरे मेसिन पर्वतको दक्षिण भेगमा रहेको विकट पैंयुँ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा एक्सरे सेवा सुरु गरिने भएको छ । मोबाइल डिजिटल एक्सरे मेसिन स्वास्थ्य सेवा विभागले बुधबार पालिकालाई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत पथलैया स्टोर, बाराले रु एक करोड ४४ लाख ८२ हजारमा खरिद गरेको उक्त मोबाइल डिजिटल एक्सरे मेसिन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीलाई हस्तान्तरण गरिएको छ । दक्ष जनशक्तिको व्यवस्थापन गरेर केही दिनमै डिजिटल एक्सरे सेवा सुरु गरिने उनले बताए। गाउँपालिकामा डिजिटल भिडियो एक्सरे सुविधा नहुँदा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा र पाल्पा जानुपर्ने बाध्यता छ । रासस