विसं २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाइने
चितवन । भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए । पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरुको सुझाव थियो । उनीहरुले वडामा रहेका हरेक टोल सुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रँदै गएको अवस्थामा सुधारको आवश्कता रहेको बताए । भरतपुर महानगरभित्र दुई सय ५० र जिल्लाभर छ सयभन्दा बढी होटल सञ्चालनमा छन् । जिल्लामा भएका होटललाई चलायमान बनाएर जानुपर्ने उनको भनाइ थियो । भरतपुर महानगरका पर्यटनविज्ञ डा.विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए । बिग्रँदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्षका क्रममा रात्रिकालीन मनोरञ्जनका कार्यक्रम तय गरेर अघि बढाउन सके राम्रो हुने सुझाव दिए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण वर्ष २०८० को कार्यकारी समिति सयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको स्पष्ट पारे । रासस
आन्तरिक पर्यटकको रोजाइ बन्दै दाङको ज्यामिरे दह
घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ। अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ पुनले बताए । जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उनको भनाइ छ। दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ । पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहेका छन् । मासिक १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरिको क्षेत्रफल पाँच किलोमिटर छ। ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ । यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन् । प्राकृतिक रूपमा रहेको उक्त दह वरपर पर्खाल निर्माण गरिएको छ । बिदाको समय तथा चाडपर्वमा डुङ्गा शेयर गर्नेको घुइँचो लाग्छ। डुङ्गा शेयर गरेबापत एक जनाबाट ५०रुपैयाँ लिने गरिएको छ। ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले बताइन्। उनी चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आएकी छिन् । दह रहेको क्षेत्रमा प्रतीक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउँछन् । प्रतीक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ । ‘यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्’, उनले भने । यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रासस
१ करोड लगानीमा दरबारमार्गमा खुल्यो हलाल रेस्टुराँ, अरेबियन स्वादका पारखीहरुका लागि उपयुक्त गन्तब्य
काठमाडौं । अरेबियन परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा हलाल रेस्टुरा“ खुलेको छ । राजधानीमा बग्रेल्ती रेस्टुराँ खुलेपनि अरेबियन परिकारहरुको स्वाद लिनका लागि रेस्टुराँ भेट्टाउनु दुर्लभ नै छ । अब त्यो रहर अरेबियन झझल्को दिने द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । एक करोड रुपैंयाँ भन्दा बढीको लगानीमा खुलेको यस रेस्टुराँमा शत प्रतिशत हलाल परिकारहरुको स्वाद लिन सकिनेछ । शुक्रबार नायक नाजिर हुसेनबाट द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको उद्घाटन भएको छ । द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्र्तगतको प्रेस्टिजिओ होल्डिङ्सले सूरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुरा“को सजावट अरेबिक शैलीको छ । अरेबिक सोफामा बसेर बिभिन्न अरेबिक परिकारका साथै विशेष इन्डियन परिकारहरुको स्वाद लिने रहर द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । करिब एक सय भन्दा अरेबिक परिकारका साथमा इन्डियन परिकारहरुरेस्टुराँको मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स ९अरेबियन टि, गावा, टर्किस कफी, अरेबिक फ्लेवरमा हुक्काको पनि स्वाद लिन पाइनेछ । मजलिसमा बसेर पारिवारिक वातावरणमा बसेर आनन्द लिन सकिनेछ । यहाँ साउदी अरब, कुवेत, कतारमा काम गरेका अनुभवी दुई जना इन्डियन सेफहरुले तयार पारेकासाउदी अरेबियन, लेवनानी, सिरियन लगायत स्पेशल परिकार र फ्रेस जुस चाख्न सकिनेछ । यो विशुद्ध खानाका लागि खुलेको पारिवारिक रेस्टुराँ हो । पढ्नमा रुची हुनेहरुका लागि लाइब्रेरीको पनि सुविधा छ । साउदी अरेयिबा लगायत बिभिन्न गल्फ देशबाट फर्केका ११ जना नेपाली व्यवसायीहरुको समूहले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ होम डेलिभरीको सुविधा पनि प्रदान गर्नेछ । यहा बस्नका लागी दुई वटा बेग्लै रुमको ब्यवस्था छ, जहा समूहमा बसेर खानाका परिकारको स्वाद लिनुका साथै मिटिङ पनि गर्न सकिनेछ । एउटा मिटिङ हलमा १४ र अर्कोमा १६ जना बस्न मिल्ने सिट क्षमता छ । यस्तै अरेबिक सोफाले चिटिक्क पारिएको मजलिसमा एकै पटक १० जना बस्न सकिन्छ भने क्याफेमा १२ जना व्यक्ति बस्न सक्नु हुन्छ । एकै पटक रेस्टुराँमा सबै गरेर ५२ जना अटाउन सक्ने सिट क्षमता छ । रेस्टुराँले जम्मा १८ जनालाई रोजगारी दिलाएको छ । रेस्टुराँको व्यवस्थापनमा फिरोज खान र क्रियटिभ डाइरेक्टर तथा अन्तर्राष्ट्रिय फोटोग्राफर अफ्जल खानको व्यवस्थापन छ । ‘अरब मुलुकमा अनुमानित २० लाख नेपालीहरु छन् । तर, फर्किएका नेपालीहरुले यहाँ अरेबिक खानाका परिकारका लागि रेस्टुराँ भेटाउँदैनन् ।’ सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठले भने, ‘यहाँ मुस्लिम संस्कार अनुसार हलाल मासुका परिकार चाख्न सक्नुहुन्छ ।’ साउदी अरबमा ५ वर्ष बसेर फर्किएका श्रेष्ठले विदेशमा बसेर फर्किएका नेपालीहरु रोजगारी दिने आफ्नो प्राथमिकता रहेको सुनाए । विदेशमा बस्दा सिकेको सीपलाई स्वदेश प्रयोग गर्नु आफ्नो उद्देश्य रहेको उनले सुनाए । ‘बारम्बार विदेश जान नपरोस् । सकेसम्म नेपालमै रोजगारीको अवसर सिर्जना गरौं ।’ श्रेष्ठले भने, ‘नेपालीहरुलाई बढी भन्दा बढी रोजगारी दिलाउने हाम्रो कम्पनीको लक्ष्य हो ।’