कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम सुरु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो । जग्गा प्राप्तिको मौखिम सहमति भएपछि निमार्णको काम सुरु भएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताए  । ‘जग्गा पाउने मौखिक सहमति भएको छ, अहिले पुनः निमार्णको काम सुरु भइसकेको छ’, उनले भने, ‘निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति जनाएका छन् ।’ उनले जग्गा भोगाधिकारका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताए । ‘अब निमार्णको काममा कुनै समस्या छैन’, उनले भने–’जग्गाको प्राप्तीका लागि पनि मन्त्रालयबाट निर्णय गर्ने प्रक्रियामा रहेको छ ।’ अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच २५ मिटर पुग्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जङ्गबहादुर मल्लले विमानस्थलको आवश्यकता रहेकाले विमानस्थल निमार्णको काम समयमा सक्नुपर्ने बताए । ‘हामीले विमानस्थल सञचालनमा आउनुपर्छ भनेर आवाज उठाएको पनि धेरै भइसक्यो’, उनले भने, ‘यसले गड्डाचौकी नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकलाई सहज हुन्छ ।’ कञ्चनपुरको महाकाली नदीमा पक्की पुल र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको उनले बताए । वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । ‘हामीले प्रधानमन्त्रीज्यूसँग भेटेरै विमानस्थल, सुक्खा बन्दरगाह चाँडो बन्नुपर्छ भनेर ध्यानाकर्षण गराएका छौँ’, उनले भने, ‘विमानस्थल सञ्चालनमा आए यहाँको आर्थिक क्षेत्र चलायमान हुन्छ ।” भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।’ तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको हो । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। रासस

नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि

त्रिवेणी । वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गेपुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । हालै मात्र वाल्मीकि आश्रममा नेपालकै बाटो भएर जान मिल्ने गरी नारायणी नदीमा पुल निर्माण गरिएको छ । पुल निर्माण गरेसँगै त्रिवेणीधामसहित पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेको अध्यक्ष शाहले बताए । झोलुङ्गे पुल क्षेत्रमा मात्रै दैनिक पाँच सयका हाराहारीमा पर्यटक आउने गरेको उनले बताए । यहाँ आउने धेरैजसो पर्यटक भारतीय हुने गरेका छन् । साथै नवलपुरसहित नजिकका जिल्लाबाट समेत त्रिवेणीधाम र झोलुङ्गे पुल अवलोकनका लागि पर्यटक आउने गरेको उनले बताए । पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘हिजो आज पुल क्षेत्रमा पर्यटकको आगमन बढेको छ, अहिले पुलबाट वाल्मीकि आश्रम जान मिल्दैन, तर पुल हेर्न, फोटो खिच्न, टिकटक बनाउन मात्रै भए पनि पर्यटक आउने क्रम बढेको छ’, अध्यक्ष शाहाले भने । वाल्मीकि आश्रम जान मिल्ने गरी निर्माण गरिएको झोलुङ्गेपुल पाँच सय ३५ मिटर लम्बाइको रहेको छ । पुल नौ वर्षमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण गरिएको भए पनि हाल सुरक्षा चुनौतीका कारण पुलबाट वाल्मीकि आश्रम जान रोक लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले सुरक्षाको प्रबन्ध नभएसम्मका लागि पुलबाट आवतजावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । चितवनतर्फ पुल पारी वाल्मीकि आश्रमसम्म जानका लागि हाल बाटो निर्माणको कामसमेत बाँकी रहेको छ । सुरक्षाको प्रबन्धसँगै पारिपट्टि बाटो निर्माणका बारेमा छलफल चलिरहेको गाउँपालिका अध्यक्ष गिरीले बताए । ‘सुरक्षाकर्मी स्थायी रुपमा बस्ने गरी केही संरचना निर्माण गर्ने विषयमा छलफल चलेको छ, पारिपट्टि बाटोसमेत बनाउनुपर्ने छ’, उनले भने, ‘त्यसपछि झोलुङ्गेपुल सञ्चालन गर्ने कुरा छ, त्यसपछि नेपालकै बाटो भएर सहज रुपमा वाल्मीकि आश्रम जान सकिन्छ ।’ चितवनमा पर्ने वाल्मीकि आश्रम पुग्न यसअघि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै जान मिल्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माण गरे पनि अझै सञ्चालनमा ल्याउन नसक्दा भने यहाँ पुग्ने पर्यटक वाल्मीकि आश्रम नगइ फर्कने गरेका छन् । चाडै आवश्यक व्यवस्थापन गरी पुलबाट वाल्मीकि आश्रम जाने प्रबन्ध गरे त्रिवेणीसहित यस क्षेत्रमा थप पर्यटकको आगमन बढ्ने स्थानीय हरिशङ्कर कँडेलले बताए । वाल्मीकि आश्रम चितवनमा पर्ने भए पनि यसको व्यवस्थापनको काम गाउँपालिकाले गर्दै आएको छ । त्रिवेणी धामसँगै वाल्मीकि आश्रमलाई एकीकृत गरी पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको थप आगमन बढ्ने कँडेलले बताए । रासस

बैंकले पर्यटनमा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बनाउन नाट्टाको सुझाव

काठमाडाैं । व्यवसायीहरुले पर्यटन क्षेत्रमा बैंकहरुले निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कृषि क्षेत्रमा जस्तै पर्यटनमा पनि बैंकहरुले लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरिदिन सुझाव दिएकाे हाे । नाट्टाले पछिल्लाे समय पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको बताउँदै ऋणको प्रवाहलाई सहज गरिदिन पनि राष्ट्र बैंकलाई सुझाव दिएकाे छ । यस्तै, पुर्नकर्जा कम्तीमा ५ वर्षसम्म निरन्तरता दिनुपर्ने नाट्टाकाे सुझाव छ । नाट्टाले पर्यटन क्षेत्र थोरै चलायमान हुन लागेको अवस्थामा राष्ट्र बैकले पुर्नकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अपठ्यारो परिस्थिति उत्पन्न भएको बताएकाे छ । नाट्टाले राष्ट्र बैंकले जारी गरेको पुर्नकर्जा संशोधित कार्यविधिमा एक पटक पुनकर्जा सुविधा पाएको व्यवसायले नपाउने र पछिल्लो दुई वर्षको औसत रिर्टन अफ इक्विटी ३ प्रतिशतभन्दा बढि रहेका उद्योग व्यवसायमा प्रवाहित कर्जालाई सुविधा नदिने व्यवस्था परिवर्तन गरी पहिलाकाे जस्तै बनाउन सुझाव दिएकाे छ । यस्तै, पर्यटन व्यवसायीहरु ऋणको किस्ता समयमा भुक्तानी गर्न नसक्ने अवस्थामा भएकाे बताउँदै नाट्टाले विलम्ब शुल्क नलाग्ने गरि भुक्तानीको अवधिलाइ रिसेड्युल गर्न पनि नाट्टाले राष्ट्र बैंकलाई सुझाव दिएकाे छ । ‘कोभिड १९ पछि पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको र पर्यटन व्यवसायीहरुले लिएको बैंक ऋणको किस्ता समयमा भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको हुँदा कुनै शुल्क वा विलम्ब शुल्क नलाग्ने गरि भुक्तानीको अवधिलाइ रिसेड्युल गरि पर्यटन व्यवसायलाई संरक्षण र प्रवद्र्धनको वातावरण बनाउनुपर्ने देखिएको छ,’ सुझावमा भनिएकाे छ ।