निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारी सुरु भएपछि उत्साही बनेका हुन् । जङ्गल सफारीमा आउनेलाई नारायणीमा डुङ्गा शयरसहित निकुञ्ज क्षेत्रमा जिप सफारी गराउँदा पर्यटकको सङ्ख्या बढ्ने भएपछि आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताए । ‘पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्’, उनले भने । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमासमेत जिप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताए । ‘हामी खुसी छौँ, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ’, अध्यक्ष महतोले भने । उनका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै पर्यटक लैजाने अनुमति पाएका थिए । अब अमलटारीबाट गैंँडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताए । नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमकाबीच शनिबार निकुञ्जमा सफारीको सुरुआत गरेको थियो । नवलपुर क्षेत्रबाट प्रतिदिन पाँच वटा जिपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन् । होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन् । हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ । निकुञ्जमा जिप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । रासस  

रसुवामा पदयात्रीलाई गुणस्तरीय सेवा

रसुवा । हिमाली प्रकृति छटाको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको छ । दोस्रो  ‘सिजन’ अन्तर्गत लाङ्टाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग अन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र  ‘बेड विस्तारा‘ मर्मत अगाडि बढेको हो । विशेषगरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन शुरु हुन्छ ।  हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मङ्सिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दासमेत हिमपात नभएको र फागुनमा पर्नसक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताए । उनले भने, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’ असोज, कात्तिक, मङ्सिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले  गोसाइँकुण्ड, लाङ्टाङ एवं तामाङ सम्पदामार्गको गतलाङ, नाकथली, थुमनलगायतका क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्नेगरेको बताइएको छ । दोस्रो सिजनअन्तर्गत आन्तरिक रूपका मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ । पर्यटकका लागि धुञ्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङ्टाङका लागि ठूलोस्याफ्रु, बम्वो, लामाहोटल, घोडातबेला, लाङ्टाङ, क्याङ्जेनलगायतका स्थानमा सयौं होटल सञ्चालित छन् । पश्चिम लाग्दा तामाङ सम्पदा मार्ग र पूर्व लाग्दा लाङ्टाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ । तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे रहेका छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीयस्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताए । रासस

पाल्पामा पर्यटक लोभ्याउँदै बाघको मूर्ति

पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका-६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ। नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् । पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर-६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उनी बताउँछन् । ‘बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ’, उनले भने, ‘आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ।’ बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु दुई लाख सहयोगमा काम थालनी भएको हो। करिब तीन लाख रुपैयाँको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले ३० हजार रुपैयाँ बराबरको श्रमदानसमेत गरेका छन् । हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउँछन्। उनका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ। कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउँछन्। ‘यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ’, उनले भने। यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ। कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ। कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् । कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँको वातावरणमा आएपछि मेटाउने खालको वातावरण छ। बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ। सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन्। बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको (पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारीसाधनमा जान सक्ने) पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ। यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् । यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ। कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ । रासस