बुद्द एयरले भन्यो : क्यानलाई बक्यौता भुक्तानी गर्न बाँकी छैन
काठमाडौं । बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बक्यौता भुक्तानी गर्न बाँकी नरहेको बताएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर बुद्ध एयरले प्राधिकरणलाई बक्यौता तिर्न बाँकी नरहेको बताएको छ । कम्पनीले बक्यौता भुक्तानीवापत पाइजे २ प्रतिशतको छुट सुविधा समेत प्राप्त गरिसकेको उल्लेख गरेको छ । ‘केही सञ्चार माध्यममा प्रकाशित बुद्ध एयरले तिर्नुपर्ने बक्यौता शिर्षक समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ, बुद्ध एयरले तिर्नुपर्ने सम्पूर्ण सेवा दस्तुहरु नागरिक उड्डयन प्राधिकरणलाई समयमै तिरि त्यसबाट पाईने २ प्रतिशतको छुट सुविधा समेत प्राप्त गर्ने गरेका जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् । यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ । त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान जिल्लामा प्रसिद्ध छन् । यी स्थानबाट पर्यटकीयस्थलको सहज आनन्द लिन सकिन्छ । खासगरी बसाइँसराइ दर बढी भएका कारण यहाँको जनघनत्व कम छ । मानिसको चाप कम भएसँगै यस्ता स्थलका विकासमा प्रत्यक्ष असर पुग्ने स्थानीय जानकारहरूको भनाइ छ । ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकामा रहेको हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी दुवै स्थान गुमनाम छन् । कतिपय ऐतिहासिक धरोहरको स्थानीयस्तरबाट संरक्षण गरिए पनि देश–विदेशमा चिनाउन नसक्दा यहाँ बाह्य पर्यटकको आवागमन कमै हुने गरेको छ । मानिसको बसोबास कम भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा मानिसको आवगमन घटेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क जिल्लाको जनसङ्ख्या ऋणात्मक रहेको छ । विसं २०६८ को जनगणनामा जिल्लाको कुल जनसङ्ख्या एक लाख ८२ हजार चार सय ५९ थियो । विसं २०७८ को राष्ट्रिय जनगणनामा यहाँको जनसङ्ख्या घटेर एक लाख ५८ हजार नौ सय ९१ भएको छ । दश वर्षमा यहाँको जनसङ्ख्या २३ हजार चार सय ६८ ले घटेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर वार्षिक एक दशमलव ३२ ले ऋणात्मक देखिएको छ । कुनै पनि ठाउँको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा जनसङ्ख्याले भूमिका खेल्ने गर्दछ । तर यहाँ भने जनसङ्ख्याले विकासमा असर पुर्याएको देखिन्छ । त्यससँगै सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार लगायतले पनि विकासको सूचक निर्धारण गर्दछ । यहाँ हिउँदयाममा यातायात सञ्चालन भए पनि बर्खायाममा मानिसलाई घुमफिरका लागि यातायातको सहज पहुँच छैन । यसका लागि कतिपय स्थानमा सडकको विकास गर्न आवश्यक छ भने कतिपय ठाउँका पर्यटकीय क्षेत्रमा पुग्न पैदलमार्गलाई व्यवस्थित बनाउनुपर्ने स्थानीयको माग छ । प्रचार अभाव तथा आवश्यक पूर्वाधार विकास अभावमा यहाँका पयर्टकीय क्षेत्र भएको तुलनामा पर्यटक नआउने गरेको जिल्लाका स्थानीय अजय राईको भनाइ छ । ‘यहाँ दर्जनौँ पर्यटकीय तथा धार्मिक क्षेत्र छन्’, उनले भने, ‘पर्यटकीय क्षेत्रको तुलनामा घुम्न आउने मानिसको सङ्ख्या ज्यादै न्यून छ । कामविषेशले केही बाहिरबाट आए पनि यहाँको पर्यटकीय क्षेत्रलाई नै हेर्नका लागि भनेर आउने पर्यटकको सङ्ख्या कम छ । हामीले प्रचार–प्रसारमा ध्यान दिन आवश्यक छ।’ यहाँको मुन्दुम पदमार्गको पछिल्लो समयमा आएर परिचित बनेपछि आशा गरेअनुसारको अनुपातमा पर्यटक आउन नसकेको राईको भनाइ छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराइैका समथर फाँटका मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न पाइने पदमार्ग भए पनि देशमा देखिएको कोभिडका कारण बाह्य पर्यटक आउन समस्या भएको राईको बुझाइ छ । उकालो–ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ । यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वन–वनस्पती, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा यसले चिनारी बनाएको छ । तर पर्यटकलाई यस्ता ठाउँको विषयमा कमै मात्रमा जानकारी हुँदा पनि आवगमन कम हुने स्थानीय जानकारहरूको भनाइ छ ।
नेकोन एयरका सञ्चालकहरुको बैंक खाता र सम्पत्ति रोक्का, बक्यौतामा विवाद हुँदा पुगे अदालत
काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेकोन एयरका सञ्चालकको बैंक तथा सम्पत्ति रोक्का गरेको छ । बन्द भएको लामो समयसम्म विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बक्यौता नबुझाएपछि प्राधिकरणले बैंक खाता र सम्पत्ति रोक्का गरेको हो । विस २०६१ सालमा बन्द भएको नेकोन एयरले क्यानलाई झन्डै ५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरेको नेकोन एयर उड्दा उड्दै ग्राउण्डेड बनेका थियो । हाल अस्तित्वमा नरहेका (बन्द) भएका ११ वटा वायुसेवा कम्पनीले प्राधिकरणलाई बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको थियो । लामो समयदेखि ताकेता गर्दा समेत रकम भुक्तानीमा आनाकानी गरेपछि क्यानले ११ वटै कम्पनीका सञ्चालकको बैंक खाता रोक्का गरेको थियो । क्यानले सञ्चालक समितिका सदस्यको बैंक खाता रोक्का गरेपछि सम्पर्कमा आएका उक्त वायुसेवा कम्पनीमध्ये अझै ३ वटा एयरका सञ्चालकले बक्यौता रकम भुक्तानी नगरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेकोन एयर, सिवानी र कस्मीक एयरका सञ्चालक सम्पर्कमै हुँदा समेत रकम भुक्तानीमा आनाकानी गरेको क्यानले जनाएको छ । सञ्चालक अदालतमा नेकोन एयरका सञ्चालकबीच रकम भुक्तानीमा विवाद भएपछि काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । सञ्चालकहरुबीच कसले कति दायित्व लिने भन्ने विषयमा स्पष्ट नहुँदा सञ्चालक समितिकै सदस्यले मुद्धा दर्ता गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहेका छन् । उक्त सञ्चालकमध्ये हाल मुकुन्दभक्त श्रेष्ठ र मृगेन्द्र जोशीको मृत्यु भैसकेको छ । बाँकी रहेका सञ्चालकबीच रकम भुक्तानीमा सहमति नहुँदा र क्यानले बैंक खाता रोक्का राखेको भन्दै सञ्चालक समितिका सदस्य दीपकराज कोइरालाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेका हुन् । सञ्चालक समितिको खाता रोक्का गर्दै क्यानले अध्यक्ष दीपमणी राजभण्डारीको काठमाडौंमा रहेको सम्पत्ति रोक्का राखेको छ । ‘हामीले रकम भुक्तानी गर्नै पर्छ, तपाईंहरु मिलेर भुक्तानी गर्न आउनुस भनेका थियौँ, तर उहाँहरुबीच विवाद हुँदा कसले कति दायित्व बहन गर्ने विषयमा सहमति नभएपछि मुद्धा दर्ता भएको हो,’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने । गत फागुन १ गते मुद्धाको पेशी तोकिएकोमा सार्वजनिक विदा परेका कारण मुद्धाको पेशी सरेको छ । नेकोनले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ । सन् १९९६ मार्च २१ मा प्राधिकरणबाट एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको नोकोनले अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेको थियो । १३ वटा वायुसेवा कम्पनीबाट उडान गरेको नेकोन नाफामा गएपछि प्राथमिक सेयर निष्कासन गरे पश्चात नोक्सानमा गएर व्यवसाय नै बन्द भएको थियो । नेकोनले दिल्ली, बनारस र कोलकातामा उडान गरेको थियो । यस्तै, सिवानी एयरले रकम भुक्तानी गर्न आउँछु भनेतापनि हालसम्म नआएको क्यान अन्तरगतको वित्त विभागले जनाएको छ । ‘हामी रकम भुक्तानी गर्न आउँछौँ, खाता रोक्का नगर्नुस भनेर हामीलाई मासिक रुपमा भुक्तानी गर्ने सेड्युल नै पेश गर्नुभएको थियो, सेड्युल पेश भएपनि रकम भुक्तानी भएको छैन्, अब खाता रोक्का राख्नु बाहेक अरु विकल्प छैन’, विभाग स्रोतले भन्यो । मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ । कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार बक्यौता रकम भुक्तानी गरेको छैन् । कस्मिक एयरका सञ्चालक रविन्द्रप्रसाद प्रधान हुन् । कस्मिकमा आरपी प्रधानको मुख्य लगानी थियो । उनी पूर्वराजा वीरेन्द्र शाहका हेलिकोप्टर पाइलट थिए । प्रधानले एयरलाइन्स राम्रैसँग चलाएका थिए । पछि उनका छोरा रविन्द्रले एयरलाइन्सको जिम्मेवारी लिएपछि धराशायी भएर बन्द भएको हो । हाल बन्द भएका गोरखा, माउन्टेन, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डप लगायतका वायुसेवा कम्पनीहरुले बक्यौता रकम भुक्तानी गरिसकेको क्यानले जनाएको छ ।