पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो- पर्यटन प्रवद्र्धन गर्ने । तुलसीपुर-१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट देख्न सकिन्छ । त्यहाँबाट दाङका फाँट देख्न सकिन्छ । रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृश्य हेर्न जानेहरू धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भए पनि मोटरसाइकलमा जाँदा धुलाम्मे हुने अवस्था छ । पन्ध्रौँ-सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा पर्यटनको आकर्षणको केन्द्र हो । त्यहाँ अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक गरेर दुई सडकबाट छिल्लीकोट पुग्ने गरिन्छ । त्यहाँबाट सात किलोमिटर हिँडेपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने गरिन्छ । बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्र हुँदैछ । त्यो सडक कालोपत्र भएपछि भने पर्यटक सहजै छिल्लीकोट पुग्न सक्नेछन् । सोनापुर सिमेन्ट उद्योगले रिचेगोदेबाट चुनढुङ्गा ल्याउनका लागि खनेको सडकमा अहिले छिल्लीकोट पुग्ने गन्तव्य बनेको छ । तर निकै धुलाम्मे हुन्छ । बिजौरी, बेलझुण्डीबाट हिँडेको मान्छेको स्वरुप छिल्लीकोट पुग्दा अर्कै भइसक्छ । चिन्न पनि हाम्मे–हाम्मे पर्छ । मोटरसाइकल, स्कुटरमात्रै होइन, तुलसीपुरबाट धुलाम्मे हुँदै छिल्लीकोट अवलोकन गर्नेको सङ्ख्या पनि कम छैन । कोही बाटोमा सिमेन्ट उद्योगका टिपर भेटिए पनि रोकेर त्यसमै चढेर पुग्छन् भने छिल्लीकोट पुग्ने जो–कोही गाडी भेटिए पनि रोक्दै गाडीमा चढ्दै गर्छन् । बिजौरी, बेलझुण्डीबाट छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः छिल्लीकोट पुग्ने पर्यटकको घुइँचो लाग्ने गर्छ । छिल्लीकोट पुग्ने सडक कालोपत्र भएपछि सहजरूपमा आवतजावत हुनेछ । यसले पर्यटकको सङ्ख्यालाई थप वृद्धि गर्ने स्थानीय पूर्ण पुनले बताए । उनले भने, ‘सडक व्यवस्थित भएमा यहाँ पर्यटकको घुइँचो लाग्ने गर्छ ।’ पन्ध्रौँ-सोह्रौँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाउँको नाम धार्मिक शास्त्रअनुसार (मल्लागिरि), पर्वत हो । अर्थात छिल्लीकोटको प्राचीन नाम मल्लागिरि हो । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौँको उत्तरी भू-भागमा पर्दछ । छिल्लीकोटमा कालिका-मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ । मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले बताए । छिल्लीकोटबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहासिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुङ्गाका अवशेष पनि हेर्न सकिन्छ । त्यसले त्यहाँको जीवनस्तर पनि निकै माथि उठाएको छ । सुमुद्र सतहदेखि एक हजार चार सय १० मिटर रहेको छिल्लीकोट तुलसीपुर–१९ मा पर्छ । जुन रोल्पाको रुटीगढी गाउँपालिकाको सिमाना पनि पर्छ । त्यहाँ कालिका, मालिका, गणेशथान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, बुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्रचोक, टुँडिखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाह नायक बनी नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो । छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान बुटवल शासन गर्नका नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार, मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि मालपोत कार्यालय माल अड्डाले हेर्ने टुङ्गो लागेको थियो । त्यो माल अड्डा कार्यालय तत्कालीन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । विसं २००६ सम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाण अहिले पनि सुरक्षित छन् । अर्कातर्फ धार्मिकरूपमा संसारमा रहेका तीनवटा गिरिमध्ये पूर्णागिरि भारतमा पर्दछ । चन्द्रागिरि काठमाडौंमा पर्दछ भने मल्लागिरि दाङको छिल्लीकोटमा पर्दछ । यहाँ सतीदेवीको अङ्ग पतन भई कालिका मालिका देवी भगवती उत्पत्ति भएको विश्वास गरिन्छ । पछि छिल्ली राजाले देवकोटा ब्राह्मणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पूजाआजा गर्ने चलनको सुरुआत गरेका हुन् । राजाले भोटबाट लामा गुरु बोलाई बुद्ध ढुङ्गाको समेत पूजा चलाएको किंवदन्ती छ । पछि आएर विसं २००६ देखि २०२२ सम्म यहाँकै भगवतीले रुचाएर अमृता घर्तीमगरलाई ओलप्पाई माताका रूपमा प्रकट गरेको मानिन्छ । यिनै कुरा छिल्लीकोटका सुन्दरता हुन् । ऐतिहासिक र धार्मिक कुरालाई लिएर अहिले सङ्घीय, प्रदेश र स्थानीय तहले छिल्लीकोटलाई दाङकै एउटा प्रमुख पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । सोहीअनुसार बर्सेनि बजेट विनियोजन भइरहेको छ । करोडौँ बजेट छिल्लीकोटमा गएको छ । यो बजेटले काम पनि भइरहेको छ । त्यहाँका नागरिकको जीवनस्तर सुधार हुँदै गएको छ । ‘कुनै समय बिजौरीबाट पैदल हिँडेर छिल्लीकोट पुग्नुपर्ने अवस्था थियो’, स्थानीय ओमप्रकाश पुनले भने, ‘अहिले हिलाम्मे, धुलाम्मे जे भए पनि छिल्लीकोटमै सडक पुगेको छ, यसले निकै सहज भएको छ ।’ रासस
थाइ एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज, वार्षिक ३ अर्ब रुपैयाँ बाहिर जानबाट रोकियो
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । सोमबार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताएका हुन् । उनले आजको मितिदेखि थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको बताए । ‘थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको छ, अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा राेकिँदैन,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणको अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने उनले बताए । विमानस्थलका महाप्रबन्धक ठाकुरलाई घुस प्रकरणमा परेको थाइ स्माइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी रहेको छ । थाइ स्माइलले उडान संचालन सेवा दिएपनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्ध गरिएको प्राधिकरणले बताएको छ । साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको दिइने प्रावधान रहेको छ । विगतमा प्राधिकरणका महानिर्देशकले थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो । तर प्राधिकरणको सोमबारको निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकेको छ ।
संस्कृतिसहितको पर्यटन विकास आवश्यक : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धन’ विषयमा आयोजित अन्तक्र्रियामा उनले संस्कृतिसहितको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘संस्कृति, रैथाने ज्ञान र स्वादसहितको पर्यटन विकास गर्नुपर्छ, रैथाने स्वादलाई पर राखेर पर्यटन विकासको कल्पना गर्न सकिँदैन, हाम्रा होटल रेस्टुराँमा पनि नेपाली स्वाद पस्कने वातावरण बन्नुपर्छ, विदेशी परिकारको मात्र भर परेर पर्यटनको विकास हुँदैन ।’ पर्यटनमन्त्री किराँतीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवद्र्धनको रणनीति तयार गरिने उल्लेख गरे । उनले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने पनि जानकारी दिए । सातवटै सम्पदाको इतिहास र महत्वबारे आवश्यक जानकारीसहित ती क्षेत्रमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले सम्पदा बसयात्रा सुरु गर्न लागिएको उनको भनाइ छ । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेले नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि ‘टुरिज्म कूटनीति’ सम्भाव्यताको अध्ययन गरेर पर्यटन मन्त्रालयले नीतिगत योजना ल्याउन जरुरी भएको उल्लेख गरे। पूर्वराजदूत मधुरमण आचार्यले पर्यटनमा लगानी बढाएर सरकार र निजी क्षेत्रको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउनुपर्ने बताए । अर्का पूर्व राजदूत लक्की शेर्पाले एनआरएनएसँगको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धन गरिनुपर्ने सुझाए । कार्यक्रममा पूर्वराजदूतहरु दीपक धिताल, भीम उदास, डा अञ्जना शाक्यलगायतले पर्यटकीय पूर्वाधार विकास र प्रचुर सम्भावनाको सदुपयोग गरेर प्रवद्र्धन अभियान चलाइनुपर्नेमा जोड दिए ।