स्थानीय परिकार र दृश्यावलोकनका लागि ‘बनौँ लेक’
गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुगिसकेका छन् । अहिले बनौँँमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको पाइन्छ । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित घरी घरबास तथा विभिन्न होटलसमेत सञ्चालनमा आएका छन् । चिसो हावापानीसहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको बनौँमा एक वर्षअघि मात्रै कालोपत्र सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन् । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि भारतीय सेनाबाट अवकाश प्राप्त डम्मरबहादुर फगामीले ‘काकई सामइ घारबास’ समेत सञ्चालनमा ल्याएका छन् । बनौँमा सडकको सहजतासँगै बढ्दै गएका आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले नौ महिनादेखि घरबास सञ्चालनमा ल्याएको बताए । ‘पर्यटकलाई आउन सडक नै चाहिँदो रहेछ, जब एक वर्षअघि सडक कालोपत्र भयो, त्यसपछि यहाँ आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो, सामाजिक सञ्जालको प्रभावका कारणसमेत यहाँ आउनेको सङ्ख्या बढी छ, राजमार्गसँग जोडिएका बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामबाटै एक/डेढ घण्टाको यात्रामा बनौँ आउन सकिन्छ’, फगामीले भने, ‘५० लाख रुपैयाँको लगानीमा घरबास सञ्चालनमा ल्याएको हुँ, अहिले एक रातमा २० जनासम्म पाहुँना राख्ने क्षमता घरबासको छ ।’ चौबिस वर्ष भारतीय सेनामा कार्यरत भई नायब सुबेदारबाट छ वर्षअघि अवकाश प्राप्त गरी गाउँ आएका फगामीले आफूलाई सहरको मोह नभएका कारण गाउँमै घरबास सञ्चालनमा ल्याएको बताए । फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुने र अघिपछिको समयमा थोरै मात्र पाहुना आउने गर्दछन् । फगामीको काकई सामइ घरबास जैविक परिकारका पारखीका लागि निकै राम्रो गन्तव्य बनेको छ । उनको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिँडो, गुन्दु्रक, मकै, भट्ट, आलु, जौको ढिडो र खसीको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ । यहाँ आउने पर्यटक सहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ । जलजला गाउँपालिका–९ स्थित बनौँ लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको उनको भनाइ छ । बनौँ गाउँमा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पछिल्लो समय घरबासका साथै अन्य होटलसमेत सञ्चालनमा आउन थालेका छन् । चिसो हावापानीमा जैविक स्वाद लिँदै घरबासमा रमाउन बागलुङ बजारबाट बनौँ आएका आन्तरिक पर्यटक नारायण रिजालले बताए । ‘सामाजिक सञ्जालमा अहिले बनौँ जाने लहडै चलेको देखे, बनौँका विषयमा धेरै चर्चा सुनेकाले छ जना साथीसहित बनौँ आएका हौँ’, उनले भने, ‘बेलुका घरबासमा जैविक परिकारको स्वाद लियौँ भने बिहानै देविथान रहेको डाँडामा पुगेर दृश्यावलोकनसँगै तीन जिल्लाको सदरमुकाम देख्यौ, निकै आनन्द आयो, अहिले गर्मी पलाईसकेको अवस्थामा यहाँ निकै चिसो हावापानी रहेछ ।’ बनौँँ लेक पुगका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोजस्थलमा टेन्ट हालेरसमेत बस्ने गरेका स्थानीय अमबहादुर गर्बुजाले बताए । बनौँ लेकबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकले बताएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घन्टामै पुग्न सक्ने स्थानमा रहेको बनौँ पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो । कला, संस्कृतिको धनी रहेको बनौँ गाउँमा मगर समुदायको बाहुल्यता छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उच्च पहाडी भेगमा पर्ने बनौँ लेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ । बनौँ लेकबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलासमेत देख्न सकिन्छ । रासस
२ करोड लगानीमा बिनु-बसन्तीको ‘सरुमा चुल्हो’ : स्वादका पारखीको गन्तव्य बन्दै
पोखरा । देशकै एउटा लोकप्रिय पर्यटन शहर हो पोखरा । घुमफिरमा रुची राख्नेहरुले कुनै न कुनै दिन यस ठाउँलाई आफ्नो गन्तव्य बनाउने सपना बुनेका हुन्छन् । पोखराको भूगोल र तालहरुसँग रमाउन आएका स्वादका पारखी पाहुनाहरुलाई सन्तुष्टी दिने उद्देश्यले बिनु र बसन्तीले सुरु गरेका छन् ‘सरुमा चुल्हो एण्ड बार’ । पोखराको मुख्य भाग अर्थात् लखन चोक । जुनसुकै ठाउँबाट बस चढेर आएकाहरु ओर्लने ठाउँ हो यो । न्यूरोड चिप्लेढुंगा जाने बाटोमा पर्ने सभागृह चोक लखनचोकबाट पैदल हिँड्दा मात्रै ५ मिनेटको दुरीमा छ । सभागृहचोकबाट उत्तरतर्फको सुन्दर हिमाल दृश्यसँगै न्यूरोडको यात्रा सुरु हुन्छ । चोकबाट झण्डै २ मिनेट उत्तरतर्फ लाग्दा पहिले ‘दिपेन्द्र सभागृह’को नाममा परिचित सभागृह आइपुग्छ । सभागृहबाट ठिक विपरित उभिएको ‘मिडटाउन’ पछिल्लो केही वर्षदेखि पोखरामा आधुनिक व्यापारिक केन्द्र बनेको छ । सोही मिडटाउनसँग जोडिएर सुरु हुने गल्लीको मिडटाउनकै ठिक विपरित बायाँतर्फ छ ‘सरुमा चुल्हो एण्ड बार’ । जसलाई न्युरोडको सडकको पारीपट्टीबाट नै देख्न सकिन्छ । पृष्ठभूमीका हिसाबले बिनु–बसन्ती फरक–फरक क्षेत्रमा काम गर्दै अगाडि बढेका व्यक्ति हुन् । बिनुले कलेजको पढाइसँगै आफ्नो करिअर जागिरबाट शुरु गरेकी थिइन् । तर, उनी जागिरमा आफ्नो भविष्य देख्न सकिनन् । केही वर्षको सरकारी अस्थायी जागिर छाडेर बिनु रोजगारका लागि जापान गइन् । झण्डै एक दशक लामो जापान बसाइपछि नेपालमा नै व्यवसायिक जीवन सुरु गर्ने उद्देश्यले उनी गत साल मात्रै नेपाल फर्किएकी हुन् । त्यस्तै, कलेजको पढाईसँगै बसन्तीले पत्रकारिताबाट आफ्नो करिअर सुरु गरिन् । अन्य विभिन्न सहायक कामहरुसँगै अहिलेपनि पत्रकारितालाई उनले आफ्नो मुख्य पेसा बनाइरहेकी छन् । बिनु र बसन्ती स्वभाव र शैलीका हिसाबले आधुनिक पुस्ताका महिला हुन् । दुबैजनाले आफ्नै नेतृत्वमा उद्यम सञ्चालन गर्ने इच्छा र प्रयास पहिल्यैदेखि नै राख्दै आएका थिए । बसन्तीले केही वर्ष अगाडि पनि पोखरामा होटल सञ्चालन गर्ने सोच बनाएकी थिइन् । तर, सबै परिवेश अनुकुल नभएकाले सुरु भने गर्न नसकेको उनको भनाइ छ । झण्डै एक वर्ष अगाडि बिनु–बसन्तीले लगानी जुटाउन सके पोखरामा फरक पहिचानको रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सल्लाह गरे । खासगरी खाना तथा खाजा खाँदा पनि ग्राहकलाई कसरी आनन्द दिन सकिन्छ भन्नेमा आ–आफ्ना अनुभवहरुलाई लिएर अहिलेको ‘सुरुमा’को डिजाइन तयार भएको बिनु बताउँछिन् । रेष्टुरेन्ट कुन मोडेलमा सञ्चालन गर्ने भन्ने विषयमा प्रायः सञ्चालकहरुले धेरै सोचेर गर्ने गर्छन् । पोखरामा रेष्टुरेन्टहरुको कुनै अभाव छैन । तर, त्यहाँ नयाँ फरकपनको विशेषता कसरी बनाउने भन्नेमा उनीहरुले धेरै सोचविचार र सल्लाह गरे । ‘सरुमा’ एउटा पुरै घरमा सञ्चालन गरिएको छ । रेष्टुरेन्टको गेटबाट प्रवेश गर्नेवित्तिकै सजिसजाउ बगैंचा जस्तो परिवेशले ग्राहकलाई स्वागत गर्छ । रेष्टुरेन्टको भवनभित्र प्रवेश गर्नुअगाडि नै कफी बार निर्माण गरिएको छ । बाहिरी वातावरणमा नै बसेर कफी पिउन तथा खाजा खान चाहनेहरु बाहिर नै बसेर लिन सकिन्छ । ‘सरुमा’ले रेष्टुरेन्टलाई बालमैत्री होस् भन्ने हिसाबले भुईंतलाको बगैंचा र टपमा झुलन कुर्चीहरुको व्यवस्था पनि गरेको छ । साढे दुई तले घरमा सञ्चालनमा रहेको ‘सरुमा’का भिन्न–भिन्न तलामा भिन्न भिन्न विशेषता छन् । रेष्टुरेन्टमा पारिवारिकदेखि मझौला स्तरका बर्थडे पार्टी, खाना खाजा सहितको छलफल, बिहानदेखि बेलुका सम्मका स्वादिष्ट खाना/खाजा पाइन्छ । ग्राहकहरुसँग ट्याबको प्रयोग गरेर अर्डर लिने तरिकाको अवलम्बन गरिएको छ । खाना तथा खाजामा नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल र सी फुडमा अन्तर्गत पर्ने परिकारहरु पाइन्छ । सबै प्रकारका ग्राहकहरुलाई लक्षित गरेर परिकारहरुको व्यवस्था गरिएको सञ्चालक बिनु बताउँछिन् । रेष्टुरेन्टको अहिलेसम्म ‘ग्रयान्ड ओपनिङ’ भैसकेको छैन तर व्यापार भने निकै राम्रो भइसकेको छ । अहिलेसम्म रेष्टुरेन्टको निर्माणमा दुई सञ्चालकले २ करोड ५० लाख भन्दा धेरै लगानी गरिसकेका छन् । मंसिरको अन्तिम साताबाट सञ्चालनमा आएको रेष्टुरेन्टमा अहिले दैनिक औसत ५० हजारभन्दा धेरैको व्पापार हुने गरेको सञ्चालिका बिनु बताउँछिन् । अहिलेसम्म भइरहेको व्यापारबाट मात्रै पनि सम्पूर्ण खर्च कटाएर एकजना सञ्चाकले मासिक रुपमा १ लाख भन्दा धेरै आम्दानी गर्न सक्ने तर व्यवसायको अवस्था वृद्धितर्फ भएकाले भविष्यमा राम्रो आम्दानी हुने अनुमान सञ्चालकहरुले गरेका छन् । ‘रेष्टुरेन्टमा अनिवार्य हुनुपर्ने पक्ष भनेको स्वाद, गुणस्तर, आतिथ्यता र वातावरण हो, हामीले यसमा अब्बल बनाउने कोशिस गरेका छौं’, बिनु भन्छिन्, ‘सायद यसैले होला ग्राहकहरुको आकर्षण बढ्दो छ ।’ विगतमा आम्दानीको लागि विभिन्न क्षेत्रलाई रोजे तापनि होटल, रेष्टुरेन्ट तथा आतिथ्यताको क्षेत्रलाई नै अब मुख्य बनाउने दुबै सञ्चालकको धारणा छ ।
विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भन्ने बारे अध्ययन गर्दै सरकार
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्याङ्क निकाल्ने लक्ष्यका साथ अध्ययन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘दुई हजार नमुना सङ्कलन गरिनेछ, बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन्,’ बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमका विद्यार्थी यो अध्ययनमा सम्लग्न छन् । नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्याङ्क निकाल्न यो अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले उल्लेख गरे । उनका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ । सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन् । सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ थियो । उनले ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ को प्रमुख टुलका रूपमा आजदेखि अध्ययन सुरु गरिएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्याङ्क कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन सुरु गरिएको हो । पछिल्ला दिनमा विदेशी पर्यटक आउनेक्रम बढेको छ । बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने गएको वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड–१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक आएकामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जनामा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । रासस