८ करोडमा कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब आठ करोड रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताए । ‘गजुर छोडेर ५१ फिट उचाइ र चौडाइ १७ देखि १९ फिट भएको यो मन्दिर पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गाले निर्माण गरिदैछ’, उनले भने, ‘मन्दिरको भित्र पुरानो शिव लिङ्ग राखिने छ ।’ पहिले महादेव स्थानका रुपमा रहेको यो स्थलमा आदिवासी थारु समुदायले शिख्रौली कुमारवर्ती (परिक्रमा पूजा) सालका वृक्षमुनि केही माटाका प्राचीन मूर्ति राखी चैत शुक्ल पक्षमा पूजाआजा गर्दै आएका थिए । विसं २०१६ मा पुनर्वास योजनाअन्तर्गत पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति बसाइँसराइ आएपछि भारतको कानपुरबाट खयर सङ्कलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी शिव मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पूजाअर्चना हुँदै आइरहेको छ । विसं २०३५ पछि यहाँको मन्दिरको नाम कैलाश सन्न्यास आश्रम राखिएको अध्यक्ष घिमिरेले बताए । यस स्थानको मन्दिर १३ औँ शताब्दीको भएको पुरातत्व विभागले जनाएको छ । ‘अहिलेसम्म पुरातत्व विभागले आश्रमलाई मन्दिर हस्तान्तरण गरेको छैन’, घिमिरेले भने, ‘विभागले सम्पन्न भइसकेपछि मन्दिर आश्रमलाई हस्तान्तरण गर्ने छ ।’ पूर्व–पश्चिम राजमार्गबाट आठ सय मिटर दक्षिणमा रहेको यस मन्दिरलाई पुरातात्विक, धार्मिक र प्राकृतिकरुपमा पर्यटकीयस्थल बनाउन सकिन्छ । मन्दिरको नजिकै कलकल बगेको नारायणी नदी, नदी पारीको चितवन राष्ट्रिय निकुञ्जमा देखिने गैँडा, बँदेल, मृग, मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाइने यस स्थान रमणीय रहेको छ । गैँडाकोट–१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ । यहाँ ढुङ्गामा कलात्मक हस्तकलाले कुँदिएका करिब एक हजार पाँच सय बढी शिला फेला परेपछि विभागले आफ्नो मातहतमा ल्याएर खोज अनुसन्धान र अन्वेषण गरी मन्दिर बनाउने प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षका लागि रु २० लाख बजेट छुट्टिएको छ । अब दुई वर्षमा सो मन्दिरले पूर्णता पाउने अध्यक्ष घिमिरेले बताए । स्थानीय बुद्धिप्रसाद न्यूरेले धार्मिक आस्थाको केन्द्र र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गरेर अगाडि बढ्नुपर्ने बताए । ‘यो मन्दिर र यहाँको महत्व धेरै छ । विशेषत शिव भगवानको आराधना र पूजा गर्दा आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वासका आधारमा मन्दिर आउछन्’, उनले भने । हाल भग्नावशेषका रुपमा भेटिएका कलात्मक वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम गरिएको हो । गैँडाकोट–१३ का मोहन भण्डारीले पुरातत्व विभागले खोज गरेर अहिले मन्दिर निर्माण सकेको बताउँदै यसको महत्वलाई उजागर गर्नुपर्ने बताए । राष्ट्रिय गौरवको रुपमा रहेको यस आश्रमको दुई वर्ष लगाएर उत्खनन गरी पुरातत्व विभागले पुराना र नयाँ शिलाको प्रयोगबाट शिव मन्दिर बनाएको आश्रमका महासचिव नेत्रप्रसाद रिजालले बताए । यसको ऐतिहासक र पुरातात्विक महत्वलाई उजागर गरेर अगाडि ल्याउन काम गरिरहेको रिजालले बताए । यहाँ अहिले मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताका मठमन्दिर, धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिर सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो । पर्खाल निर्माण सम्पन्न भएको छ । यहाँ रहेको पाँच बिघा भूगोलको अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । सिखर शैलीको मन्दिर निर्माण गरिए तापनि किन र के कारणले भग्नावशेषको अवस्था आयो यसको खोज भइरहेको छ । रासस

पर्यटन प्रवद्र्धन गर्न हरित पार्क निर्माण

ढोरपाटन । बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको ८ लाख रुपैयाँले पार्क निर्माण गरेको बरेङ गाउँपालिका–५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिए । १ हजार ७०० मिटरको उचाईमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए । यहाँ प्रतिक्षालय, घेराबार  र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुआत गरेको बताए । उनले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताए । अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवद्र्धन गर्ने उल्लेख गरे । गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला र छहरेखोला झरनाको प्रवद्र्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ । रासस

तारा एयर दुर्घटना : जाँचबुझ आयोगले औल्यायो ८ गल्ती

काठमाडौं । तारा एयरको दुर्घटना जाँच गर्न बनेको आयोगले विभिन्न ८ गल्ती औल्याएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयर दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पछि छानबीनका लागि गठन भएको समितिले चालक दलको त्रुटिका कारण दुर्घटना भएको औल्याएको हो । आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चालक दलको गल्ति औल्याएको हो। प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको उल्लेख छ । पाइलटको असावधानिका कारढ दुर्घटना भएको उल्लेख छ। यस्तै, उपलब्ध स्रोतको न्यून उपयोग गरेको तथा न्यूनअनुभवी कोपाइलट हुँदा दुर्घटना भएको समितिको निष्कर्ष निकालेको छ । दुर्घटना जाँच आयोगले प्रचलित कानून त अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम अमेरिकाको नेशनल ट्रान्सपोट सेफ्टी बोर्ड समेतको सहयोगमा विस्तृत जाँचबुझ गरि मस्यौदा अन्तिम प्रतिवेदन तयार पारिएको जनाएको छ । तारा एयरको जहाज जेठ १५ गते बिहान १० बजेतिर पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा मुस्ताङको सानुशरेमा दुर्घटना भएको थियो। जहाज दुर्घटनामा दुई जना जर्मन नागरिक, चारजना भारतीय, १३ जना नेपाली यात्रुसहित चालक दलका ३ सदस्य सबैको निधन भएको थियो । जाँचबुझ आयोगमा वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमन, क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए ।