बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै
बाँके । बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन् । ‘लायन्स पार्क’ नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम कक्षलगायतको निर्माणमा १७ लाख रुपैयाँ बराबर खर्च भएको बावुकुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष महेन्द्रबहादुर शाहीले जानकारी दिए । उनले पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनसँग आन्तरिक सहमति गरेर त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन विभिन्न योजना अघि सारिएको बताए । नेपालगञ्ज बजारबाट करिब पाँच किलोमिटर दूरीको उत्तर–पूर्वमा पर्ने सो स्थान शान्त र रमणीय देखिन्छ । वन जङ्गलसँगै प्राकृतिक सौन्दर्य र हरियालीले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याइरहेको हुन्छ । उक्त स्थानको वनमा जङ्गली जनावरको बासस्थान रहेकाले पर्यटकले जनावरबाट पनि छुट्टै आनन्द लिन सक्छन् । ‘यहाँ रहेको स्थानमा तारबार गरेर बाह्सिङ्गेलाई संरक्षण गरेर राख्न सकिने र त्यसबाट अझै बढी आन्तरिक पर्यटन भित्र्याउन सकिन्छ’ पूर्वअध्यक्ष शाहीले भने । डब्लुडब्लु एफको सहयोगमा करिब दुई बिघा जमिनमा करिब १४ लाख खर्च गरेर निर्माण गरिएको तलाउले जैविक विविधिता र स्थानीय किसानको खेतमा चिस्यानसमेत प्रदान गरेको उनले उल्लेख गरे । उक्त पार्कबाट केही पर परापूर्वकालमा एक बाबाले कुँवा खनेर पानी खाने गरेका कारण बावुकुँवा नामाकरण गरिएको बताइन्छ । पूर्वअध्यक्ष शाहीले जैविक विविधता संरक्षण गर्न र जङ्गली जनावरलाई पानी खान बस्तीमा जान जोखिम भएकोले थाकेका जनावरलाई पानी खान तलाउ निर्माण गरिएको जानकारी दिए । सिद्धीविनायक लायन्स क्लब अफ नेपालगञ्जका पूर्वअध्यक्ष शिवेन्द्र भण्डारीले पर्यटन पवद्र्धको उद्देश्यले त्यस क्षेत्रको विकास गर्न खोजिएको र यसका लागि करिव १० करोड रुपैयाँ लाग्ने बताए । ‘नेपालगञ्ज बजारबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ’ उनले भने । लियो क्लब अफ नेपालगञ्जका पूर्वअध्यक्ष तथा युवा व्यवसायी विष्णु श्रेष्ठले त्यहाँ पर्यटनको प्रचुर सम्भावना रहेकाले पार्कलाई अझ रमणीय बनाउन फूलबारीको विकासमा जोड दिन आग्रह गरे । उनले पर्यटकलाई फोटो खिच्न लालयित बनाउन र केही घण्टा भुल्ने वातावरण निर्माण गनुपर्नेमा जोड दिँदै पछिल्लो समय मनोरन्जनका लागि बबई र कर्णली जाने अवस्था अन्त्य भएको बताए । पर्यटकका लागि तलाउमा फिसिङ् गरेर मनोरञ्जन लिने नयाँ अवधारणा अघि ल्याउन आवश्यक भएको र यसका लागि स्थानीय समुदायको सहकार्यमा घरबास कार्यकम अघि बढाउन सकिने विश्वास पूर्वअध्यक्ष श्रेष्ठले व्यक्त गरे । ‘सो कार्यका लागि लगानी आवश्यक हुन्छ त्यसैले सम्भावनाबारे अध्ययन गरेर, ‘कप्पल पार्क’ का रुपमा पनि यसलाई स्थापित गर्न सकिन्छ’ उनले भने । डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले गाउँपालिकाको सिधिनियाघाट, कम्दीलागयत क्षेत्रमा पनि पर्यटकीय सम्भावना देखिए पनि बजेट अभावले संरचना तयार गर्न नसकिएको बताए । ‘धेरै पर्यटकीय सम्भावना भएका क्षेत्र छन् तर बजेट नहुँदा त्यहाँको विकास गर्न सकिएको छैन’ उनले भने । शनिबार वा सार्वजनिक बिदाको दिन नेपालगञ्ज बजारबाट नजिकै रहेको सो स्थानमा वनभोज खान र घुम्न स्थानीयवासी जाने गर्छन् । रासस
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’
काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो । स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् । शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरि डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका तत्कालीन नेपाल खाल्डोको एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ । त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् । त्यसैगरी उक्त स्थानमा भालेश्वर महादेवको मन्दिर रहेको छ । यहाँ साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् । यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ । विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरि डाँडा जाने गरेका छन् । यो विगत लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन । चन्द्रागिरि हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुस महिनामा मात्र ७१ हजार एक सय ४५ जनाले केबलकारमार्फत चन्द्रागिरिको भ्रमण गरेको बताए । केबलकारमार्फत चन्द्रागिरि डाँडामा जान नेपाली नागरिकका लागि रु सात सय ९९, नेपाली विद्यार्थीका लागि रु छ सय र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्ने गरेको छ । चन्द्रागिरि डाँडामा अहिले दैनिक दुई हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन चार हजार पाँच सयदेखि पाँच हजार व्यक्ति चन्द्रागिरि डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरि डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरि हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँहरू छन् । चन्द्रागिरि हिल्समा आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख सात हजार चार सय ११ नेपाली र ६३ हजार तीन सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेल बताए । चन्द्रागिरि डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरि हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् । ७० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ एक सय मिटर छ भने अर्को दुई सय मिटर लम्बाइ भएको जिपलाइन समेत सञ्चालनमा आइसकेको छ । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रूपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको बताए । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म एक सय मिटर लामो निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि चार सय रुपैयाँ लाग्नेछ भने दुई सय मिटर लामो जिपलाईनको मज्जा लिन आठ सय रुपैयाँ लाग्नेछ । ‘आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीतिअनुसार चन्द्रागिरिमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ’, महाप्रबन्धक थापा भने । अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केबलकारको लम्बाइ कुल दुई किलोमिटर चार सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् र यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी कुल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडामा पुग्न थानकोट स्टेशनबाट नौदेखि १४ मिनेट लाग्ने गर्दछ । केबलकारको एक डिब्बामा आठ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यस वर्ष भने पर्यटक आवागमनको सङ्ख्यामा वृद्धि भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौंको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी सङ्घसंस्था एवं कम्पनीहरूले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीय यस गन्तव्य नेपाल सरकारको आमन्त्रणमा एवं आफैँ नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाहरूको पनि आकर्षण बन्ने गरेको छ । प्रालिले यहाँ एकीकृत पर्यटकीय संरचना निर्माण गरी पर्यटन गन्तव्यको विकास गरेकाले यसको अध्ययनका लागि पर्यटन क्षेत्रका व्यक्तिहरू पुग्ने गरेका छन् । रासस
ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाइने
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताएका छन् । ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्ले सोमबार साँझ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्तिसुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया’मा उनले आचारसंहिता बनाएर ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन सकिने धारणा राखे । ‘व्यवस्थित ठमेल निर्माणका लागि आचारसंहिता बनाऔँ, आचारसंहिताअनुसार सबैले काम गरे यसभित्र देखिएको विकृति अन्त्य हुँदै जान्छ,’ उनले भने । ठमेलभित्रका सबै व्यवसायीले अनिवार्य सिसिटिभी जडान गर्नुपर्ने उनको भनाइ थियो । काठमाडौँ प्रहरी प्रमुख कार्कीले व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसी टिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुने बताए । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी, घरधनी र सुरक्षाकर्मी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय तहको पूर्ण साथ र सहयोग रहने उनको भनाइ थियो । प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई मर्यादित र व्यवस्थित बनाउन परिषद् लागेको बताउँदै यसमा साथ दिन स्थानीय तह र प्रहरीलाई आग्रह गरे । उनले पछिल्लो समय ठमेललाई व्यवस्थित बनाउन तार व्यवस्थापन, ढल व्यवस्थान, ठमेलका सडकमा बत्ती जडान, सिसी टिभी जडान लगायतको कामलाई परिषद्ले तीव्रता दिएको बताए । परिषद्का महासचिव राजीव पाण्डेले व्यवसायी, घरधनी, प्रहरी र स्थानीय सरकारबीच सहकार्य गरेर अगाडि बढेमात्र ठमेललाई व्यवस्थित बनाउन सकिने बताए । सोही अवसरमा ठमेलभित्रका व्यवसायी तथा घरधनीले आफूले व्यवसायका क्रममा शान्तिसुरक्षाका क्षेत्रमा भोगेका समस्याबारे स्थानीय जनप्रतिनिधि र प्रहरीलाई अवगत गराए ।