कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैटौँ पटकका लागि आधार शिविरमा

काठमाडौं । १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिइन् । श्रेष्ठ यसअघि वि.सं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीन पटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नामाङ्कित भएको थियो । १३ दिनभित्रै तीन पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । ‘पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ,’ श्रेष्ठले भनिन् । उनले ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका-९ आरुटार निवासी हुन् ।

नेपाल वायुसेवा निगम सुधार गर्न पर्यटन मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको सुधार गर्न नागरिक र सेवाग्राहीसँग सुझाव माग गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नेपाल वायुसेवा निगम सुधारको लागि अध्ययन गर्न गठित समितिमा नेपाल वायुसेवा निगमको संरचना, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन लगायत समग्र सुधारका लागि सुझाव मागिएको हो । सचेत नागरिक तथा सेवाग्राहीको रूपमा सूचना प्रकाशित भएको सात दिनभित्र आफ्ना रचनात्मक सुझाव दिन सबैलाई अनुरोध गरेको छ ।  ‘सुझावहरू मन्त्रालयको इमेल ठेगाना [email protected] अथवा ह्वाट्सएप नं. ९८५१३१२७२२ मा पठाउनु हुन अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

विमानस्थलमा यात्रु आकर्षित गर्ने जिम्मा निजी क्षेत्रको पनि हो : इन्दु घिमिरे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पर्यटन महाशाखाको सहसचिव इन्दु घिमिरेले पर्यटन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु आकर्षित गर्ने प्याकेज निर्माण र त्यसको सेल गर्ने जिम्मा निजी क्षेत्रको पनि हुने बताएकी छन् ।  होटल संघ नेपालले आयोजना गरेको वेलनेस पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । सो कार्यक्रममा घिमिरेले  वेलनेस पर्यटनसम्बन्धी सरकारी रणनीतिबारे जानकारी दिँदै उनले सरकारले पूर्वाधार विकास र नीतिगत वातावरण निर्माण गर्ने तर पर्यटन प्रवर्द्धन तथा बजार विस्तारमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक हुने स्पष्ट पारिन् । उनका अनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र त्यहाँबाट अन्तर्राष्ट्रिय यात्रु प्रवाह बढाउन आकर्षक पर्यटन प्याकेजहरू आवश्यक छन् ।  ‘यात्रु ल्याउने प्याकेज बनाउने र यसलाई ‘सेल’ गर्ने काममा निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भनिन् । यस वर्षको सरकारी नीति तथा कार्यक्रममा पर्यटन नीति र आरोग्य पर्यटनले विशेष महत्त्व पाएको छ ।  मन्त्रालयले आरोग्य पर्यटन रणनीति (२०२६–२०३६) तयार पारिएको छ । जसमा १० वर्षको रणनीति र ५ वर्षको कार्ययोजना रहेको छ । यो रणनीति हाल मन्त्रिपरिषदमा रहेको घिमिरेले बताइन् । रणनीतिमा आठ वटा रणनीतिक पिलरहरू राखिएका छन्, जसमा सर्टिफिकेसन (प्रमाणीकरण) र जनशक्ति विकासका कुराहरू समेटिएका छन् । धार्मिक र मेडिकल टुरिजमलाई भने अहिले स्पष्ट अवधारणा र पूर्वाधारको कमीले गर्दा केही समयका लागि बाहिर राखिएको उनको भनाइ छ ।  उनका अनुसार एसियाली विकास बैंक (एडीबी) ले डेस्टिनेसन डेभलपमेन्ट फ्रेमवर्क र कन्सेप्ट पेपरमा सहयोग गरिरहेको छ ।