सगरमाथामा ‘डायमक्स’ दुरुपयोगको समाचारप्रति एनएमएको आपत्ति, निष्पक्ष छानबिनको माग
काठमाडौं । नेपाल पर्वतारोही संघ (एनएमए) ले सगरमाथा आरोहणका क्रममा ‘डायमक्स’ नामक औषधीको दुरूपयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । औषधीको दुरुपयोग गर्दै पर्वतारोहीलाई समस्यामा पार्ने भन्दै प्रकाशित समाचारप्रति संघले आपत्ति जनाएको हो । एनएमएका अनुसार नेपाल दशकौंदेखि विश्वकै अग्रणी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित रहँदै आएको छ र यस्ता अपुष्ट तथा नकारात्मक खबरले देशको अन्तर्राष्ट्रिय छवि प्रभावित पार्न सक्ने जोखिम बढेको छ । संघले विशेषगरी वसन्तकालीन आरोहण सिजन सुरु भइसकेको अवस्थामा यस्ता समाचारले पर्यटन उद्योगमा निर्भर हजारौं व्यवसायी, गाइड र श्रमिकको जीविकामा असर पार्न सक्ने जनाएको छ । ‘पर्वतारोहण हाम्रो उद्योग मात्र होइन, राष्ट्रिय गौरव, पहिचान र साहसको प्रतीक हो,’ विज्ञप्तिमा उल्लेख छ । नेपालका पर्वतारोहण कम्पनी र जनशक्ति निकै व्यवसायिक र इमान्दार रहेको भन्दै अफवाह नफैलाउन संघले आग्रह गरेको छ । उक्त विवरणबारे निष्पक्ष छानबिन गर्न संघले सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । ‘नेपालको पर्वतारोहण इतिहास निकै समृद्ध र सौम्य छ । पर्वतारोहण एक उद्यम मात्रै नभएर गर्वको प्रतीक हो । यस्ता कपोकल्पित सामाग्रीले नेपालको पर्वतारोहण क्षेत्रको इज्जत धुमिल गराउनुका साथै धेरैको रोजीरोटी गुम्छ,’ संघको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, बीमा दाबी, हेलिकोप्टर उद्धार लगायत सेवामा पारदर्शिता र कडाइ आवश्यक रहेको औंल्याउँदै संघले नियमन प्रणाली सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ ।
पर्यटन र हवाई क्षेत्रको सुधारमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ : देशबन्धु बस्नेत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धिमा निजी क्षेत्रको योगदान सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् । महासंघमा आफ्नो कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल समापनको पूर्वसन्ध्यामा आफ्ना उपलब्धिहरू सार्वजनिक गर्दै बस्नेतले सरकार र मातहतका निकायसँगको निरन्तर समन्वयका कारण पर्यटन क्षेत्रमा केही सकारात्मक परिणामहरू देखिएको उल्लेख गरे । २०८० जेठमा महासंघका अध्यक्ष चन्द्र ढकालबाट समितिको सभापतिमा चयन भएपछि बस्नेतले पर्यटन क्षेत्रका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय र विभागहरूमा पटक–पटक पैरवी गर्दै आएका थिए । विशेषगरी होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिलाउने विषयमा बस्नेतले गर्नुभएको पहलले सार्थकता पाएको छ । उनकै सक्रियतामा अघिल्लो सरकारले ऐन संशोधन गरी होटललाई उद्योगको सुविधा दिने निर्णय गरेको थियो, जसलाई उनले अब व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै, हवाई टिकटमा लगाइएको भ्याट पुनरावलोकन र पर्यटन ऐनको संशोधनजस्ता नीतिगत सुधारमा पनि उहाँको कार्यकालमा महत्त्वपूर्ण छलफलहरू भएका छन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारले ल्याएका सहुलियत योजनाहरू पर्याप्त नभएको उल्लेख गर्दै बस्नेतले अब नयाँ सरकारले यी विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल बढाउनुपर्ने धारणा राखे। नेपालको हवाई सुरक्षालाई लिएर युरोपेली युनियन (ईयू) ले राखेको कालोसूचीबाट हटाउन सरकार र नागरिक उड्डयन प्राधिकरणले सार्थक कदम चाल्नुपर्ने बस्नेतको सुझाव छ । नेपाललाई युरोपेली देशहरूसँग सिधा हवाई सम्पर्कमा जोड्न र नेपाल पर्यटन बोर्डमार्फत हुने विश्वव्यापी ब्राण्डिङमा निजी क्षेत्रलाई पनि सहभागी गराउन उहाँले निरन्तर आवाज उठाउँदै आएका छन् । आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने महासंघका अध्यक्ष चन्द्र ढकाल, पदाधिकारी टिम, उपसभापतिहरू अच्युत शर्मा गुरागाईं र निलहरी बाँस्तोला लगायत समितिका सदस्य र सल्लाहकारहरूलाई उनले धन्यवादसमेत दिएका छन् । आगामी दिनमा पनि निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो तर्फबाट निरन्तर प्रयत्न जारी रहने प्रतिबद्धता बस्नेतले व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसको तयारी तीव्र, देशभर ७५३ स्थानीय तहमा एकैसाथ मनाइने
काठमाडौं । आगामी अप्रिल १५ मा पहिलोपटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारीलाई तीव्र बनाइएको छ । जस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२०८३ वैशाख २ गते) देशभरका ७५३ वटै स्थानीय तह र सातै वटै प्रदेशमा प्रभावकारी, सहभागितामुलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय गरेको छ । बैठकमा सहभागीहरूले आरोग्य दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीवनका र दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले योग र ध्यानका गुरु भगवान शिव भएको उल्लेख गर्दै योग परम्परासँग जोडिएको पवित्र स्थल पशुपतिनाथको सन्दर्भ उठाउँदै वेलनेसलाई केवल प्रचारमा सीमित नराखी जनजीविकासँग जोड्नुपर्नेमा जोड दिए । उनले भने, ‘नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ । हामीले वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्नुपर्छ । यो सुरुवात मात्र हो, लामो यात्रा बाँकी छ– तर आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान जोगाउँदै अघि बढ्न सके वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्नेछ ।’ प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको आध्यात्मिक परम्परा र सांस्कृतिक मौलिकतासँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सोचभन्दा फरक र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । निरोगी जीवन र स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने वेलनेसलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने उनको धारणा थियो । उनले थपे, ‘वेलनेसलाई व्यवहारमा उतार्न हामीले क्षेत्रगत ढाँचामा काम गर्नुपर्छ । विद्यालयमा ध्यान अभ्यास, होटल क्षेत्रमा स्वस्थ खानपान, र हिमाली क्षेत्रमा माइन्डफुलनेससँग जोडिएका गतिविधिले छोटो समयमा नै व्यापक सन्देश दिन सक्छन् ।’ त्यसैगरी मन्त्रालय सचिव मुकुन्द प्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै भने, 'यो केवल एक दिवस होइन, नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभर फैलाउने ऐतिहासिक अवसर हो । आजको बैठकमार्फत जिम्मेवारी बाँडफाँट गर्दै कार्यान्वयनलाई स्पष्ट बनाइएको छ ।' नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको उल्लेख गर्दै भने, “नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको छ । अब वेलनेस पर्यटन उत्पादन विकास, प्याकेजिङ र प्रवद्र्धनलाई सशक्त बनाउँदै नेपालको आम्दानीको मुख्य धारा बनाउने समय आएको छ । त्यसका लागि हामीले देशभित्र र बाहिर यस दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आजको आवश्यकता हो ।” वेलनेस पर्यटनका सम्भावना र अवसरबारे प्रस्तुति दिँदै सुदिप बैजुले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गरे । उनले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिने बताए । जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै विश्वले खोजेको र नेपालले दिन सक्ने मुख्य विषय भएको उल्लेख गरे । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । जुन नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ । यस निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ को अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउने टेवा पु¥याउनेछ । नेपालको पर्यटन आम्दानी ६१२ मिलियन अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा २५ मिलियन (करिब ४ प्रतिशत) रहेको छ ।