पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्डको मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन् । पोखरेबगर-घोडेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले श्रमदानमार्फत मर्मत गरेका हुन् । पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुईदिन श्रमदान गरेर मर्मत गरेका पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुुम्तीमा करिब ३० मिटर दूरीमा ढुङ्गा बिछ्याइएको छ । मर्मतपछि सडकमा सहज रूपमा सवारीसाधन सञ्चालन हुन थालेका उनले बताए ।      अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि यसै हप्ता श्रमदान अभियान सञ्चालन भएको थियो । सडक मर्मतका क्रममा ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार नगद र अन्य दाताहरूबाट सामग्री सहयोग भएको छ ।       लुलियाघुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयवासीका साथै पर्यटकीयस्थल घोडेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको थियो । स्थानीय उद्यमी शिव खड्काका अनुसार पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने, दुर्घटना हुनेलगायत समस्या बढेको थियो ।       सङ्घीय सरकारले बजेट विनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।  'लुलियाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ', उनले भने, 'जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपछि कार्यालयले बिहीबार मात्रै रु तीन करोड बजेट विनियोजन भई आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ ।'      घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुँदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खुलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या रहेको स्थानीय बताउँछन् । लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ । रासस  

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एक विदेशी पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजा र भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनले भने, 'एअर इण्डियाको उडान नम्बर एआइ २१८ मा काठमाडौंबाट दिल्ली जान लागेका निजले लिई आएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा/भाङको जस्तो देखिने तेल एक दशमवल २५ लिटरको बोतल पाँच थान फेला पारिएको हो । पक्राउ परेका निज अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए ।  

अन्नपूर्ण आधार शिविर : प्रकृति र आत्मचिनारीको संगम (फोटो फिचर)

काठमाडौं । विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्येको एक अन्नपूर्ण आधार शिविर यतिबेला पदयात्रीहरूको रोजाइमा परेको छ । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाईमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका लागि प्रख्यात छ । यात्राको शुरुवात र सौन्दर्य यात्राको प्रवेशद्वार पोखराको फेवातालको मनमोहक रात्रिकालीन दृश्यबाट शुरु हुने यो यात्रा, पदयात्रीहरूका लागि एउटा सपनाको यात्रा जस्तै बन्दछ । उकाली–ओराली, ढुङ्गे खुड्किलाहरू, र कतै गहिरा खोँचहरू पार गर्दै जाँदा देखिने कलकल बग्ने झरना र नीलो कञ्चन पानीका खोलाहरूले यात्राको थकान मेटाइदिन्छन् ।  हिमालको काखमा रमाउँदा अन्नपूर्ण र माछापुच्छ्रे जस्ता विश्व प्रसिद्ध हिमालहरूलाई आँखा अगाडि देख्दा पदयात्रीहरू मन्त्रमुग्ध हुन्छन् । ४,०६० मिटर उचाईमा रहेको ‘कागभुसुन्डी डाँडा’ जस्ता बिन्दुहरूबाट देखिने दृश्यहरू अतुलनीय छन् । हिउँले ढाकिएका चुचुराहरू, बादलले छोपिएका पहाडहरू र चिसो सिरेटोका बीच हिउँका मानव बनाएर रमाउने पदयात्रीहरूको संख्या पनि उल्लेख्य छ ।  वनस्पति र वन्यजन्तुको सान्निध्य यस क्षेत्रमा पाइने अल्पाइन फूलहरू, लेकाली रुखहरू र ढुङ्गाका कापमा उम्रिएका लेउहरूले यस क्षेत्रको जैविक विविधतालाई झल्काउँछन् । हिउँमा रमाउने स्थानीय भोटे कुकुरहरू र रंगीचंगी लुङ्ता (प्रार्थना झण्डाहरू) ले यस पदयात्रालाई सांस्कृतिक र प्राकृतिक रूपमा थप समृद्ध बनाएका छन् ।  पदयात्रीहरूको उत्साह पदयात्राका क्रममा भेटिने क्याम्पिङ साइटहरूमा रङ्गीबिरङ्गी टेन्टहरूमा बसेर रात बिताउनुको छुट्टै आनन्द छ । अग्ला चट्टानी पहाडहरू र छाँगाहरूबाट झरेका झरनाहरूले यो क्षेत्रलाई पृथ्वीको एउटा सानो स्वर्गको रूपमा चिनाएका छन् ।   अन्नपूर्ण पदयात्रा केवल एक हिँडाइ मात्र नभएर प्रकृतिको नजिक पुग्ने र आफैँलाई चिन्न पाउने एक महत्वपूर्ण अवसर हो भन्नेकुरा यहाँ पुग्ने जो कोहीले महशुस गर्दछन् ।