फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटम : ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
काठमाडौं । फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै धमिलो छ । निर्वाचनको उत्सव सकिएको छ, विजयका गुलालहरू पखालिइसकेका छन् र अहिले काठमाडौंका गल्लीहरूमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । तर पोखराका गल्ली, चोक र चौतारीहरूमा भेटिने सर्वसाधारणका कुरा सुन्दा लाग्छ— उनीहरूको उत्साहभन्दा बढी ‘अन्तिम आशा’ जीवित छ । वर्षौँदेखि आश्वासनका पोकाहरू बोकेर घरदैलोमा आउने नेताहरू र सत्ताको कुर्सीमा पुगेपछि बदलिने उनीहरूको चरित्रबाट पोखरेली जनता यसरी थाकिसकेका छन् कि अब उनीहरूलाई भाषण होइन, परिणाम चाहिएको छ । बलबहादुरको १८ औँ भोट र एउटा हजुरबुबाको सपना ८४ वर्षको उमेर । चाउरिएका गाला र जीवनका धेरै उतारचढावका रेखाहरू प्रष्ट देखिने अनुहार । पोखराको एउटा कुनामा भेटिएका बलबहादुर नेपालीको कथा कुनै राजनीतिक दस्तावेजभन्दा कम छैन । उनी भन्छन्, ‘मैले १८ पटक भोट दिएँ बाबु १ काँग्रेसमा हुर्किएँ, माओवादीलाई पनि हेरेँ । तर जति पटक भोट हाले पनि गरिबको भलो भएन । ठूलाठालुले देशका कम्पनी बेचेर खाए, हामीलाई जहिले पनि पछाडि पारे ।’ बलबहादुरको यो भनाइले नेपालको विगत ३०–३५ वर्षको राजनीतिक अस्थिरताले आम मानिसको मुटुमा पारेको घाउलाई छर्लङ्ग पार्छ । उनी अहिले कुनै राजनीतिक आस्थाले होइन, बरु एउटा विवश हजुरबुबाको सपनाले नयाँ अनुहारप्रति ढल्किएका छन् । उनी चाहन्छन्— आफ्ना छोरानातिले आफ्नै देशमा रोजगारी पाऊन्, बिरामी पर्दा उपचार नपाएर मर्नु नपरोस् र कम्तीमा गाँस–बासको चिन्ता नहोस् । ‘जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तर हामीलाई धेरै चाहिएको छैन, मात्र बाँच्ने बाटो चाहिएको छ ।’ उनको यो वाक्यले नयाँ सरकारलाई गम्भीर प्रश्न गरिरहेको छ । नारायणप्रसादको ‘सिस्टम’ र पसिनाको मूल्य पोखरा–३३ बागमाराका नारायणप्रसाद काफ्लेको कथा अलि फरक छ । उनी एउटा कर्मठ किसान हुन्, जसले २०६० सालदेखि गाई फार्म चलाएर माटोसँग पौँठेजोरी खेलिरहेका छन् । तर उनको संघर्ष माटोसँग मात्र होइन, देशको भ्रष्ट प्रणालीसँग पनि छ । उनी भन्छन्, ‘हामीलाई व्यक्तिगत फाइदा चाहिएको छैन, हामीलाई त एउटा सुशासनयुक्त ‘सिस्टम’ चाहिएको छ ।’ काफ्लेको अनुभव निकै तीतो छ । उनले आफ्नै आँखा अगाडि वास्तविक किसानले भन्दा ‘झोलामा कागज बोक्ने’ दलालहरूले सरकारी अनुदान कुम्ल्याएको देखेका छन् । नयाँ सरकारलाई उनको स्पष्ट खबरदारी छ— गल्ती गर्नेले सजाय पाओस्, सरकारी कार्यालय जाँदा फाइल बोकेर महिनौँ धाउनु नपरोस् र किसानको पसिनाको प्रतिफल दलालको खल्तीमा नजाओस् । जनता अब केवल ‘भोट बैंक’ मात्र बन्न तयार छैनन्, उनीहरू आफ्नो पसिनाको वास्तविक मूल्य खोजिरहेका छन् । सीतादेवीको उद्योग र बाकसमा फर्किने युवाको पीडा पोखरा–७ मुस्ताङचोककी सीतादेवी आचार्य एउटी शाहसी उद्यमी हुन् । उनले प्लास्टिक उद्योगमार्फत ७० जनालाई रोजगारी दिएकी थिइन् । तर आज बजारको मन्दी र सरकारको उदासीनताले उनको उद्योग संकटमा छ । ‘मार्केटमा पैसा छैन, सरकारले उद्योगीलाई हेर्दैन । ७० जनाको परिवार पालेकी थिएँ, अहिले आफैँलाई टिक्न गाह्रो छ’ उनी पीडा पोख्छिन् । तर सीतादेवीको व्यक्तिगत पीडाभन्दा ठूलो चिन्ता देशको भविष्यप्रति छ । दिनहुँ विमानस्थलबाट बाहिरिने युवाको लर्को र खाडीबाट बाकसमा फर्किने छोराछोरीको लासले उनलाई पिरोल्छ । उनी भन्छिन्, ‘नेपाल आमा रोइरहेकी छिन्, छोराछोरी बाकसमा फर्किरहेका छन् । गाउँमा मलामी जाने मान्छे छैनन् ।’ उनको नयाँ सरकारसँग एउटै माग छ- युवालाई विदेश पठाउने एजेण्ट होइन, स्वदेशमै पसिना बगाउने वातावरण बनाउने अभिभावक बनोस् । ऋषिरामको खबरदारी : ‘तेरो र मेरो पार्टी नभनी काम गरियोस्’ पोखरा–२१ का ऋषिराम बिकको चासो भने विकासको गुणस्तर र राजनीतिक निष्पक्षतामा छ । चुनावमा भोट दिएर पठाएका प्रतिनिधिहरूले अब मन्त्रिमण्डल गठन गर्दा जनताको आधारभूत आवश्यकतालाई भुल्न नहुने उनी बताउँछन् । ऋषिरामको अनुभवमा विकासका योजनाहरूमा चरम भ्रष्टाचार र दलीय भागबण्डा हुने गरेको छ । ‘हाम्रो अपेक्षा के छ भने, जनताले जहाँ गए पनि आफ्नो कुरा राख्न सकून् । काम गर्दा तेरो र मेरो पार्टी भनेर भेदभाव नगरियोस्,’ ऋषिराम भन्छन् । विशेषगरी पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र कमिसनतन्त्रप्रति उनको आपत्ति छ । ‘बाटो बनाउन आउने रकम ठाउँ–ठाउँमा बाँड्दा–बाँड्दै सकिन्छ, अनि कसरी राम्रो बाटो बन्छ रु अगाडि बनाउँदै गयो, पछाडि भत्किँदै जान्छ,’ उनी थप्छन् । उनलाई नेताहरूको भाषणमा अब विश्वास छैन । उनी भन्छन्, ‘बोलीभन्दा काम गरेर देखाइदिए राम्रो हुन्थ्यो ।’ भाषणको रेल होइन, बाँच्ने आधार चाहिएको छ पोखराका यी प्रतिनिधि आवाजहरू केवल तीन व्यक्तिका कुरा मात्र होइनन्, यो त समग्र नेपालीको साझा सुस्केरा हो । बलबहादुरको आशा, नारायणप्रसादको प्रणाली र सीतादेवीको उद्योग— यी सबैलाई जोड्दा एउटै निष्कर्ष निस्कन्छः जनतालाई ठूला भाषण, रेल र पानीजहाजका सपना होइन, आधारभूत आवश्यकताको सुनिश्चितता चाहिएको छ । नयाँ बन्ने सरकारका लागि पोखरेलीको सन्देश प्रष्ट छ- सरकारी अस्पतालमा सहजै अस्पतालका शैय्या पाइयोस्, सरकारी कार्यालयमा जाँदा नागरिकले अपमानित हुनु नपरोस् र आफ्नै माटोमा पसिना बगाएर सम्मानजनक जीवन बाँच्न पाइयोस् । यदि यो नयाँ सरकारले पनि पुरानै प्रवृत्ति दोहोर्यायो र जनताको यो ‘अन्तिम आशा’ माथि खेलबाड गर्यो भने, त्यो निराशाको विस्फोट देशका लागि निकै महँगो सावित हुनेछ । उनीहरु भन्छन्ः सत्ताको कुर्सीमा बस्नेहरूले बेलैमा सुनून्- पोखराको यो आवाज केवल अपेक्षा मात्र होइन, यो त एउटा गम्भीर खबरदारी पनि हो ।
टेकअफ र ल्याण्डिङको क्रममा हुन्छन् धेरै हेलिकप्टर दुर्घटना
काठमाडौं । बुधबार काठमाडौंबाट खोटाङ उडेको एयर डाइनेस्टीको ९एन–एएफक्यु हेलिकप्टर दुर्घटनामा पर्यो । खोटाङको कपिलासगढी गाउँपालिकामा दुर्घटना हुँदा एक जना घाइते भए भने बाँकी सकुशल छन् । हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए । यसअघि २०८२ कार्त्तिक १३ गते लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । मानवीय क्षति भने भएको थिएन । उक्त दुर्घटनामा क्याप्टेन विवेक खड्का घाइते भएका थिए । नेपालमा हरेक वर्ष अझै भनौं वर्षमा तीन पटकसम्म हेलिकप्टर दुर्घटना हुने गरेको पाइएको छ । लगातारको दुर्घटनाले हेलिकप्टर उडानको सुरक्षामा समेत प्रश्न उठ्दै आएको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो, जसमा भीभीआईपी सवार हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको थियो । त्यसयता हालसम्म आइपुग्दा ९८ जनाले गुमाइसकेका छन् भने हेलिकप्टर दुर्घटना भइसकेका छन् । पछिल्लो १० वर्षमा हेलिकप्टर दुर्घटनाको तथ्यांक नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२३ मा सबैभन्दा धेरै ४ वटा हेलिकप्टर दुर्घटना भएका थिए । त्यसअघि सन् २०१८ मा ३ वटा दुर्घटना भएका थिए । पछिल्लो १० वर्षमा मात्रै नेपालमा १२ वटा हेलिकप्टर दुर्घटना भएका छन् । सो अवधिमा हेलिकप्टर दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाइसकेका छन् । सन् २०१६ अर्थात २०७२ चैत्र ४ गते रसुवाको लाङटाङमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । निर्माण सामग्री बोकेर गएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा मानवीय क्षति भने भएको थिएन । त्यसैगरी, २०७३ साउन २४ गते नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयर नाइन एन एकेए कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको थियो । सन् २०१६ पछि सन् २०१८ मा नेपालमा ३ वटा हेलिकप्टर दुर्घटना भएको देखिन्छ । विंस २०७३ को असार १६ गते सिम्रिक एयरको हेलिकप्टर धापसीस्थिति ग्रान्डी अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त हेलिकप्टर दुर्घटनामा मानवीय क्षति भने हुन सकेन । त्यसको एक महिनापछि (२०७५ साउन २९) गते हुम्लाको हिस्लासमा मनाङ एयरको होलिकोप्टर भएको थियो । उक्त दुर्घटना एक जना भारतीय नागरिकको मृत्यु भएको थियो । २०७५ भदौ २३ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा दुर्घटना परेको थियो । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको एक महिनापछि अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी ६ जनाको घटनास्थलमै ज्यान गएको थियो । २०७५ फागुन २५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । कलसाइन एसफाइभ ३५ हेलिकोप्टर दुर्घटना हुँदा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु थियो । हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो । २०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना भयो । विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी, २०७९ चैत्र २५ गते ह्याम्स अस्पतालमा डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटना भयो । अस्पतालको छतमा अवतरणको क्रमममा हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनाम मानवीय क्षति भने भएको थिएन । त्यसकै भोलिपल्ट अर्थात चैत्र २६ गते म्याग्दीको धौलागिरि बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भयो । हेलिकप्टर दुर्घटनामा पाइलटप्रिया अधिकारी सामान्य घाइते भएकी थिइन् । उक्त दुर्घटनाको झण्डै एक महिनापछि २०८० वैशाख २२ गते संखुवासभाको मकालु–वरुण क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । अपर अरुण जलविद्युत आयोजनाका लागि सामान ढुवानी गर्दै आएको ९एन–एजेजेड, एएस ३५० बी थ्री ई हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एक स्थानीय सहयोगीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । २०८० असार २६ गते मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ६ जनाका मृत्यु भएको थियो । सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । २०८१ साउन २३ गते नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो । रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर बेपत्ता भएको हो । उक्त हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । जसमा चार पुरुष र एक महिला । मृत्यु हुनेमा पाइलट अरुण मल्ल र ४ चिनियाँ नागरिक थिए । २०८२ कार्तिक १३ गते लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा दुर्घटना परेको हो । मानवीय क्षति भने भएको थिएन । उक्त दुर्घटनामा क्याप्टेन विवेक खड्का घाइते भएका थिए । त्यसको पाँच महिनापछि अर्थात २०८२ चैत्र ४ गते एयर डाइनेस्टीको ९एन–एएफक्यु हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ उडेको हेलिकप्टर केपिलासगढीमा दुर्घटना भएको हो । उक्त हेलिकप्टरमा क्याप्नेटसहित ६ जना सवार थिए । एक जना घाइते भएका छन् । हेलिकप्टर दुर्घटनाको कारण हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको प्रवृत्तिलाई मुख्य कारण ठहर्याउने गरेका छन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले हेलिकप्टर दुर्घटनाको एउटै निश्चित कारण नहुने बताउँछन् । हेलिकप्टर दुर्घटना कुनै एक कारणले मात्रै नहुने र हरेक घटनामा फरक–फरक कारण रहने उनको भनाइ छ । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका मापदण्डहरू पछिल्लो समय उल्लेखनीय रूपमा कडा बनाइएको छ । तैपनि बारम्बार दुर्घटना भइरहनुमा उनले चिन्ता व्यक्त गरेका छन् । उनले मौसमलाई दुर्घटनाको एक महत्त्वपूर्ण कारणका रूपमा औंल्याउँदै खराब मौसमका कारण जोखिम बढ्ने बताए । तर, सधैं मौसमकै कारणले मात्र दुर्घटना हुने अवस्था भने नरहेको उनको स्पष्ट भनाइ छ । नागरिक उड्ययन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुल पनि नेपालमा हेलिकप्टर दुर्घटनाको एउटै कारण नहुने तर्क गर्छन् । उनका अनुसार हालसम्मको तथ्याङ्कले नेपालमा बढी दुर्घटना टेकअफ र ल्याण्डिङको क्रममा हुने गरेका छन् । प्रायः दुर्घटना पाइलटले सही निर्णय लिन नसक्दा हुने गरेको उनले बताए । ल्याण्डिङ गर्दा उपयुक्त ठाउँको मूल्याङ्कन नगर्नु वा समयमै निर्णय गर्न नसक्नु दुर्घटनाको मूख्य कारण हो, सूचना अधिकारी भुल भन्छन्, ‘नेपालमा अधिकांश दुर्घटना मानवीय त्रुटीका कारण भएको देखिन्छ, त्यसपछि बाँकी मौसम र प्राविधिक कारणले हुने गरेको छ ।’ वायु सेवा सञ्चालक संघका अध्यक्ष पाण्डेले वायुसेवा कम्पनीहरूले नियमित रूपमा पाइलट तथा प्राविधिक जनशक्तिलाई तालिम दिँदै आएको बताए । पाण्डेका अनुसार सुरक्षा सुधारका प्रयास भइरहे पनि दुर्घटनालाई पूर्ण रूपमा रोक्न भने चुनौतीपूर्ण रहेको छ । ‘हामीले सुरक्षा उपायहरू निरन्तर सुदृढ गर्दै आएका छौँ, तर पनि कहिलेकाहीँ दुर्घटना हभवितव्यका रूपमा हुन्छ,’ उनले भने । क्यानका सूचना अधिकारी भुलका अनुसार क्यानले आफ्नो मापदण्डअनुसार राष्ट्रिय सुरक्षा कार्यक्रम र स्ट्यान्डर्ड सेफ्टी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत प्रत्येक वायुसेवा कम्पनीमा सेफ्टी म्यानेजर तोकिएको हुन्छ, जसले सेफ्टी म्यानेजमेन्ट सिस्टमअन्तर्गत काम गर्छ । त्यसैगरी क्वालिटी म्यानेजर कम्पनीको गुणस्तर निरीक्षण गर्छ भने क्यामो म्यानेजरले उपकरणको मर्मतसम्भार सुनिश्चित गर्छ । उनका अनुसार प्राधिकरणले कम्पनीको सुरक्षा अभ्यास र प्रक्रियामा नियमित अडिट गर्दै आएको छ । यद्यपि, प्राइमरी लेभलमा पाइलट र कम्पनीको भूमिका महत्त्वपूर्ण हुने भुलले बताए ।
हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुचारु
काठमाडौं । मध्यपूर्वका देशहरूमा पछिल्लो समय विकसित तनावका कारण प्रभावित बनेका दुबई उडान पुनः सुचारु हुने भएका छन् । हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ । एयरलाइन्सका अनुसार यात्रुहरूले टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट बुकिङका लागि सम्बन्धित ट्राभल एजेन्सी वा बुकिङ कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।