दुबईको मजदुरी छाडेर मायाँटारमा घरबास, जीवनले लियो नयाँ मोड

नारायण अधिकारी चितवन । दश वर्ष दुवइमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदलेका छन् । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ बसेको घरबाट उनले घरबास सुरु गरेका हुन् ।  विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ्लगायतका ठाउँमा हिडेर जानेहरू रातमा यही बास बस्ने गर्थे । गुरुङले भने, 'बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरुको बस्ने थलो हो यो', उनले थपे, 'हामीले पहिला देखिनै खान खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ ।'  दश वर्षको वैदेशिक रोजगारपछि फर्किएका गुरुङले चार वर्ष अघि यो घरलाई मर्मतसम्भार गरेर घरबासका लागि कोठा बनाए । दुवईमा होटलमा काम गरेको अनुभव लिएका उनले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाए । दुवईमा मासिक एक लाख रुपैयाँ कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर ८० हजार रुपैयाँ हाराहारी कमाई हुन थालेपछि विदेश जाने योजना स्थगित गरेर यही घरबास सञ्चालन गरेको बताउँछन् । साथी भाइको सुझावलाई मनन गर्दै उनले आफ्नो पुरानो घरमा घरबास बनाए । उनले भने, 'यही घरबाट सुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो ।' यही घरमा उनीहरुको परिवार बस्थ्यो ।  जिल्लाको पहाडी भूभागमा घरबास बने पछि त्यहाँ जानेहरूको चहलपहल बढ्न थाल्यो । गर्मीको मौसममा जानेहरू बढी हुन थाले । बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरू बढ्न थालेपछि आफूले घरबास विस्तार गरेको उनी बताउँछन् । अहिले घर बाहिर पनि कोठा बनाएका छन् । एघार वटा कोठा छन् । तीमध्ये चार वटामा सँगै शौचालय पनि छ । उनले भने, 'पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ ।' हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णालीजस्तो रहेको भन्दै उनले बाटो, बत्ती सबै भए पछि अब मायाँटार पर्यटकीय गन्तव्य वन्न सकेको उनी बताउँछन् । दुई वर्षयता मायाँटारमा बिजुली बत्ती पुगेको छ । त्यस अघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उनी बताउँछन् । मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उनले भने, 'मायाँटार मायाँटार बन्नुमा पत्रकारको ठूलो हात छ । समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँहो भन्ने प्रचार भयो ।'  मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो । सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ । तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ । जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ । त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्दछ । प्रचार हुँदै गए पछि पाहुनाको चाप हुन थालेको छ । एक रातमा ४० जनासम्म राख्ने क्षमता आफूसँग रहेको भन्दै उनले अहिले वरपर अरुले पनि घरबास बनाउन थालेको बताए । बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उनी बताउँछन् । आफूले स्थानीय उत्पादित खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताए । त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता स्थानीय उत्पादनमा पाहुना रमाउने गर्दछन् ।  चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ । यहाँ चितवनसहित काठमाडौं, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । यो समुन्द्रिक सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा छ । भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ । राजमार्ग तर्फबाट पनि त्यतीनै समयमा मायाँटार आउन सकिन्छ । रासस     

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४८ हजार पर्यटक

काठमाडौं । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढेको आयोजना प्रमुख डा. रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ । ‘नेपाल भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ । यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ,’ उनले भने ।  नेपालमा मार्चदेखि मेसम्मको महिनालाई दोस्रो मुख्य पर्यटकीय यामका रूपमा लिइन्छ । नयाँ वर्ष आउन लागेको र वार्षिक परीक्षापछि शैक्षिक संस्थामा पनि बिदा हुने भएकाले यस याममा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्ने आयोजना प्रमुख डा. कडरियाले बताए । पदयात्रा गर्न रुचाउने  आन्तरिक तथा बाह्य  पर्यटकका लागि यो याम उत्तम रहेको उनको भनाइ छ ।   आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पद मार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रिने गरेका छन् । यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका यस क्षेत्र परिचित छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्न स्थानीय सरकारको दबाब

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । नगर प्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान गौतम बुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे । लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको उनको भनाइ छ । ‘विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्‍याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ,’ उनले भने । नगर प्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।  नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी-व्यवसायी धराशायी अवस्थामा पुगेको बताए । उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे ।  सिद्धार्थनगर नगरपालिका-४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट पहल गर्ने बताए ।