बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित

वीरगञ्ज । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेका आर्थिक वर्ष २०८०/८१ को बजेटमा वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने भनिएको छ । ‘विगतमा हामीले उठाउँदै आएका केही सुझाव पनि अहिलेको बजेटमा सम्बोधन भएको छ’, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भने, ‘हामीले वीरगञ्ज–पथलैया खण्डलाई औद्योगिक करिडोरको रूपमा घोषणा गरिनुपर्र्छ भनिरहेका थियौँ, त्यो बजेटमा सम्बोधन भएको छ ।’ यो एकदमै स्वागतयोग्य कुरा हो, यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छौँ उनले भने । ‘बजेटमार्फत वीरगञ्ज–पथलैया औद्योगिक करिडोर घोषणा गरी सरकारले हाम्रो कुरालाई सम्बोधन गरेको छ’, अध्यक्ष अग्रवालले भने, ‘यो हाम्रा लागि उपलब्धिको कुरा हो, यसको आधारभूत कुराबारे अध्ययन गर्न बाँकी छ । विस्तृत अध्ययनपछि मात्रै यस विषयमा थप कुरा गर्न सकिन्छ ।’ निजी क्षेत्रलाई महत्व दिई वर्तमान आर्थिक अवस्थामा सुधारको प्रयास हुनु स्वागतयोग्य भएको भन्दै यहाँका उद्योगी व्यवसायीले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी, युवा मनोबल वृद्धि र व्यवसाय रक्षाका लागि महत्वकांक्षी कार्यक्रम अघि बढाइए पनि आर्थिक तरलता कायम रहेका बेला आर्थिक वृद्धिको लक्ष्य पूरा हुने अवस्था नरहेको उनको कथन थियो । ‘एकातिर खुल्ला बोर्डका कारण अवैधरूपमा समान आयात र निर्यात हुने क्रम बढेको छ भने अर्कोतिर करको दर बढाइएको छ’, अध्यक्ष अग्रवालले भने,‘त्यसैले खुल्ला नाकाबाट हुने अवैध आयात र निर्यात रोक्नुप¥यो र करको दरभन्दा पनि दायरा बढाउनु पर्छ ।’ त्यसो गर्न सकिए मात्र राजस्व सङ्कलनको लक्ष्य पूरा हुनसक्छ, नभए लक्ष्य पूरा हुनसक्ने सम्भावना छैन उनले भने । सरकारले बजेटमा स्वदेशी उद्योगको उत्पादनलाई स्वदेशमै खपत गर्ने, युवा र महिला उद्योगीलाई प्रोत्साहन, आविस्कार र नवप्रवर्तनमा जोड दिएको छ । ‘’बजेटमा दुईवटा औँद्योगिक क्षेत्रलाई अगाडि बढाउने र दुई वटालाई सार्वजनिक निजी साझेदारीअनुसार अगाडि बढाउने कुरा आएको छ’, उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले भने, ‘यो बजेटको सकारात्क पक्ष हो तर यसलाई कार्यान्वयन कसरी गरिन्छ भनेमा भरपर्छ ।’ पुजीगत खर्च बढ्न नसकेर अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौती गर्ने नीति लिनु सकारात्मक भएको उल्लेख गर्दै उनले बजेटमा उद्योग, वाणिज्य र लगानी क्षेत्रलाई सहजीकरण, प्रोत्साहन र कर छुटको घोषणा हुनु पनि स्वागतयोग्य भएको बताए । ‘सरकारी खर्च कटौती, नयाँ गाडी खरिद नगर्ने र नयाँ भवन नबनाउने घोषणा गर्नु बजेटको सकारात्मक पक्ष हो’, उनले भने,‘अहिलेको बजेटमा खासै उत्साहित हुनुपर्ने कुरा नभए पनि अर्थतन्त्रमा सुधार ल्याउन लिएका कतिपनि नीतिहरु सकारात्मक छन् ।’ त्यसैले यसको कार्यान्वयन महत्वपूर्ण पक्ष भएको उनको कथन थियो । एक सय रुपैयाँ पुँजीमै कम्पनी खोल्न पाउनेदेखि उद्योग तथा कम्पनी दर्तामा सूचना प्रविधिको अधिकतम प्रयोगसम्मका लोकप्रिय कार्यक्रम बजेटमा छन् । कोभिड र आर्थिक सङ्कुचनका कारण धर्मराएको विदेशी लगानी प्रोत्साहन गर्न विदेशी लगानीमा थुप्रै सहजीकरणको घोषणा बजेटमा गरिएको छ । उत्पादनमूलक उद्योगको सहजीकरणका लागि जग्गाको भाडा र हदबन्दीसम्बन्धी कानुन संशोधन, वैदेशिक लगानीको कानुनी स्थिरता, वैदेशिक लगानीको न्यूनतम् सीमा पुनःविचार र क्षेत्रगत सीमा तोकिने कार्यक्रमले उद्योगीको मनोबल बढ्ने पूर्वअध्यक्ष लाठको भनाइ थियो । बजेटले लिएको निर्यात वृद्धि र आर्थिक वृद्धि दुवै लक्ष्य पूरा हुननसक्ने अवस्था रहेकोले अहिले मुलुकमा देखिएको आर्थिक तरलतालाई यसले समाधान गर्न नसक्ने अन्य उद्योगी व्यवसायीको भनाइ थियो । ‘मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेको छ, यस्तो अवस्थामा उत्पादनमुखी बजेट आउनुपर्दथ्यो’, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुवोध गुप्ताले भने, ‘तर अहिले सरकारले प्रस्तुत गरेको बजेट उत्पादनशीलभन्दा पनि वितरणमुखी बजेट हो, यसले अर्थतन्त्रमा सुधार ल्याउनसक्ने अवस्था छैन ।’ बजेट वितरणमुखी रहेकाले यसको कार्यान्वयनमा थुप्रै चुनौती रहेको उनको भनाइ थियो । बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र प्राथमिकता दिने भनिए पनि कार्यान्वयनमा कसरी हुन्छ भन्ने विषयलाई आफूहरुले हेरिरहेको सदस्य डा गुप्ताले बताए । विनियोजित बजेटमा औँद्योगिक पूर्वाधार विकास, स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा निर्यात प्रवद्र्धन, बहुमूल्य खानी अन्वेषण, पेट्रोलियम पदार्थ अन्वेषणलगायत कार्यक्रम बजेटमा समेटिनु अत्यन्तै सकारात्मक र महत्पूर्ण पक्ष भएको नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष मनोजकुमार दासले बताए । रासस

कोसेलीका रुपमा विदेश पुग्छ म्याग्दीको औषधीय गुणले भरिपूर्ण रातो च्याउ

म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन् । मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जङ्गली रातो च्याउ खरिद गर्न टाढा–टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताए । ‘विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ, त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु’, सुनारले भने । उनले जङ्गलबाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ बिक्री गर्दै आएका छन् । ‘घुम्न आउने पर्यटकले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो आठ सयदेखि एक हजार दुई सय रुपैयाँ सम्ममा बिक्री गरेका छौँं’ उनले भने । म्याग्दीका गुर्जा, लुलाङ, मुदी, ओखरबोट, देवीस्थान, रुम लगायतका ठाउँका जङ्गलमा यो च्याउ पाइन्छ । जेठदेखि असोजसम्म उच्च लेकाली जङ्गलमा पाइने यो च्याउ शुद्ध प्राकृतिक च्याउ भएकाले यसको सेवनले विभिन्न किसिमका रोगसमेत निको हुने दरवाङका हीराबहादुर सिउथानी मगरको भनाइ छ । लेकबाट दरवाङ बजारमा झारेपछि यो च्याउ खोसाखोस नै हुन्छ । स्वदेशी पाहुनाले पनि च्याउ किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि ताजा च्याउ खरिद गरेर सुकाइ सुकुटी बनाउन लागेको दरवाङ बजारकी तिला बूढाथोकीले बताए । उनले करिब २० किलो च्याउको सुकुटी बनाएर राखेका छन् । विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराँका मेन्युमा रातो च्याउ परिकारका रुपमा पाइन्छ । रातो च्याउ स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा रातो च्याउको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाले रातो च्याउ किनेर लैजाने गरेका बताए । यसको आकार पङ्खा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्रा पानीमा उमालेर रस चियाको रुपमा पिउनुपर्ने हुन्छ । यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीयतत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टिक तत्व पनि पाइन्छ । यी तत्वले गर्दा हाम्रो शरीरमा रोगप्रतिरोधि क्षमता बलियो हुने आर्युवेदिक चिकित्सकहरु बताउँछन् । त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोग लागेका बिरामीलाई पनि फाइदा हुनेगर्दछ । औषधीय र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ । यो च्याउ क्यान्सर र एचआइभी एड्स रोगीका लागि अति उत्तम मानिने आर्युवेदिक चिकित्सक रघु शर्मा सापकोटाले बताए । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रातो च्याउको व्यावसायिक खेती समेत सुरु गरिएको छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । गुर्जामा रातो च्याउ, बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिए । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो । रातो च्याउको औषधीय महत्व यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभइ विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका बिरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ, यौन सम्वद्र्धन पनि मानिएको छ । यसले हुने कलेजो वा प्यानक्रियाजआदिको कोषको संरक्षण गर्ने चिकित्सकहरु बताउँछन् । यसमा प्रोटिज र गानोर्डरिक अम्लमा मानिसको रगत जमाउने कार्यमा कमी ल्याउने वा जम्न नदिने क्षमता रहेको आर्युवेदिक चिकित्सक सापकोटाले बताए । रासस

अब हवाई यात्रा गर्दा कोभिडको खोप कार्ड नचाहिने

काठमाडौं । अब नेपालमा हवाई यात्रा गर्दा कोभिडको खोप कार्ड नचाहिने भएको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा यात्रा गर्दा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने प्रावधान हटाएको हो । योसँगै अब नेपालमा विदेशबाट यात्रा गर्न आएकाहरुले कोभिड-१९ सँग सम्बन्धित कुनै पनि कागजातहरु बोक्नुपर्ने छैन् । यद्यपी, नेपालबाट विदेश जाने यात्रुले भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्नेछ ।