लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

रुपन्देही । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए  । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ । सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८  नेपाली र एक लाख ११ हजार आठ सय ६१  भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५  भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ । यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुइ सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलङ्कन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९  छन् । कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा  दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका  कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ । त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको  वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए । उनले भने, ‘यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।’ यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनले बताए ।  रासस

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी पूरा

काठमाडौं । भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा यही जेठ २३ गतेदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ । आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी लगभग पूरा भएको जानकारी दिए । ‘सम्मेलनमा सहभागी हुन आउनेहरूका लागि बसोबासको थोरै समस्या देखिएकाले त्यसको व्यवस्थापनमै जुटेका छौँ,’ उनले भने । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि सहभागी हुन लागेको जनाइएको छ । पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिसकेका छन् । सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा ४०१ सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो । समुद्री सतहबाट झन्डै ३ हजार २ सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ । सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले ५ दशकसम्म साधना गरेका थिए । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । बहुमूल्य जडीबुटी पनि पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ । आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो । विकासको पहिलो पूर्वाधार मानिने सडक मार्ग खप्तडमा आहिलेसम्म पुग्न सकेको छैन । डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ । झिङरानासम्म यातायातमार्फत पुगिने भए पनि त्यसपछि झन्डै एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ । बाजुरा, बझाङ र अछामको बाटो हुँदै पनि खप्तड पुगिन्छ ।

पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

गण्डकी । तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला । पोखरामा फेवा तालमा दैनिक ठूलै सङ्ख्यामा पर्यटक पुगे पनि बेगनास तालमा भने आइपुग्नेको सङ्ख्या कम नै हुने गर्दछ । पछिल्ला समयमा यहाँ पर्यटकको आगमन बढाउन लेखनाथ उद्योग वाणिज्य सङ्घसहित बेगनास ताल डुङ्गा व्यवसायी समिति, मत्स्य व्यवसायी सङ्घ लेखनाथलगायतका सङ्घसंस्था क्रियाशील बनेका छन् । बेगनास तालको संरक्षणसँगै यसको पर्यटकीयरुपमा अधिकतम् उपयोग होस् भन्ने कुरालाई लेखनाथ उद्योग वाणिज्य सङ्घले सधैँ आफ्नो प्राथमिकतामा राखेको सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउँछन् । पोखरा र आसपासका सञ्चालन हुने महोत्सवमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको जमघट हुने लेखनाथ महोत्सवका अवसरमा वर्षेनी यसको संरक्षण र उपयोगलाई जोड दिदै विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुने गर्दछ । महोत्सव सुरु भए यता नै तालको संरक्षण र पर्यटकीय उपयोग गर्ने विषय प्राथमिकतामा रहँदै आएको उनको भनाइ छ । लेखनाथ महोत्सव २०५८/५९ देखि नै सुरु भएपनि औपचारिक र व्यवस्थित रुपमा २०६० सालबाट सुरु भएको हो । अध्यक्ष आत्रेयले ताल किनाराको रातमाटा क्षेत्रमा करिब १३ लाख रुपैयाँको लागतमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको बताउनुभयो । बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी बनाउन लागिएको बोर्ड ७० फुट लम्बाई र १७ फुट उचाइको हुनेछ । बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फुटको हुने जनाइएको छ । सङ्घले २०७९ मा सम्पन्न १८ औं लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरेको थियो । लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जना सहयोगी लिएर एक हप्तामा उक्त डेमो तयार गरेका थिए । बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो । त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो । पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुखआदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो । पछिल्लो समयमा बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न पहल थालिएको छ । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । बराह क्षेत्रमा बेगनासताल बराह क्षेत्र पर्यटकीय पूवर्पाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउनुभयो । योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो । योजनाका लागि कुल ५५ लाख ७६ हजार ९१७ रुपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र श्रमदानबाट पाँच लाख ७६ हजार ९१७ रुपैयाँ विनियोजन गरिएको छ । बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए । बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पु¥याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिंदै आइएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन् । बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दूरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कंडेलले जानकारी दिए । पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष नौ लाख नौ हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै तालको किनारामा पैदल मार्ग(फुट ट्रयाक) बनाउनका लागि नेपाल पर्यटन बोर्डको १५ लाख र पोखरा महानरपालिकाको  तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रुपैयाँको लागतमा डुङ्गाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ । महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको कंडेलले जानकारी दिए । बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रवनाथ अधिकारीका अनुसार महायज्ञमा कूल एक करोड चार लाख रुपैयाँ आम्दानी भएकामा सबै खर्च कटाएर ७६ लाख रुपैयाँ बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो । महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताए । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उनले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताए । बेगनास तालमा डुङ्गा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले बताए । डुङ्गा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समूदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कंडेलले जानकारी गराए । बेगनास ताल आसपासका व्यवसायीको व्यावसायिक क्षमता अभिबृद्धिका लागि समितिले गत चैतमा अवलोकन भ्रमण गराएको थियो । समितिले ९० जना व्यवसायीलाई पछिल्लो समयमा चर्चित भरतताल, जनकपुर, सहिद स्मारक, सौराहा, सिजी धाम आदिमा अवलोकन भ्रमण गराउँदै त्यहाँबाट पर्यटकको आतिथ्यता लगायतमा प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको उनले जानकारी दिए । बेगनासतालमा हाल २५६ वटा डुङ्गाले पर्यटकलाई सेवा दिइरहेका छन् । पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रुपैयाँको मोटरबोट खरिद गरेको छ । समयानुकल रुपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुङ्गा व्यवसायीले सामुहिक रुपमा रकम उठाएर मोटरबोट ल्याएको जानकारी दिदै अध्यक्ष तिवारीले यसका माध्यमबाट शेयर सदस्यको आर्थिक क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताए । जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त सङ्ख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन् । बाँकी छ परिवार विक र चार अन्य छन् । वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक २० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको वेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी बताउँछन् । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो एक सय ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत विभिन्न प्रजातिका माछा पाइन्छन् । कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ । पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढ्ेका कारण आशा जगाएको उनीहरू बताउँछन् । बेगनास तालमा पर्यटक लक्षित पूर्वाधार एवम् गतिविधि बढ्दै जाँदा यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने उनीहरूको विश्वास छ । रासस