४० प्रतिशत सटर खाली भइसके, गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्नु पर्याे
काठमाडौं । उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही)ले भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी-व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरिएको जनाउँदै थप दबाब आवश्यक रहेको जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणअघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा नागरिक निराश भएको बताए । अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै ४० प्रतिशत सटर खाली भइसकेको जानकारी गराए । चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटक राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको गुनासो सुनाए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्णरूपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम गरिएको उनले बताए । उनले लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्या समाधानका लागि अग्रसर हुन मन्त्रीहरूसँग आग्रह गरे । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि जनप्रतिनिधिको भूमिका रहने बताए । विमानस्थल नियमितरूपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उनले गुनासो गरे । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गुप्ताले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्र्याकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए ।
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए । ‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ’, उनले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौा ।’ आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए । उनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ । ‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्’, उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।’ वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गरेका थिए । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् । सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट सङ्कलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए । विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकमा पनि पाइन्छन् । रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ । रासस
पर्यटकको पर्खाइमा रातो रङको पानी भएको अनौठो गाईखर्क ताल
दाङ । दाङ खोलाको सिरान र थाप्ले पहाडको काखमा जङ्गलको बीचमा रहेको म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको गाईखर्क ताल पर्यटकको पर्खाइमा रहेको छ । हाडिस खोलाको छेवैमा रहेको यस तालमा वरिपरिका रुखबाट कहिल्यै पनि पात खसेर पर्दैनन् भने बिहान र साँझमा पानीको रङसमेत फेरिने गरेको छ । देख्दै आश्चर्य लाग्ने रातो रगत जस्तो रङको पानी भएको अनौठो गाईखर्क तालमा पर्यटकीय पूर्वाधार विस्तार भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आउन नसकेका स्थानीयले बताएका छन् । गाईखर्क तालमा कतै पानीको मुहान देखिँदैन । जङ्गलको बीचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो । यो ताललाई म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिन्छ । मालिका गाउँपालिका वडा नं ५ देविस्थानका वडाध्यक्ष मिम पुनले हावाहुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहर नहुने यसको विशेषता भएको बताए । उनका अनुसार यस तालको सबैभन्दा ठूलो विशेषता वर्षामा निलो र हिउँदमा यसको पानी पूर्णरूपमा रगत जस्तै रातो रङको हुन्छ । एल्गी र ब्याक्टोरीयका कारण हिउँदमा तालको पानी रातो हुने अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकका अनुसार उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सका कारणले पानीलाई रातो बनाउने गर्दछ । सोही कारण यो तालको पानी रातो भएको हुनसक्ने वडाअध्यक्ष पुनले बताए । यो ताल समुन्द्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा ताल रहेको छ । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको वडाअध्यक्ष पुनले जानकारी दिए । मालिका गाउँपालिकाको पाँच लाख रुपैयाँ आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । चालु आर्थिक वर्षमा ताललाई व्यवस्थित गरी पूर्वाधार निर्माणका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष पुनले जानकारी गराए । देविस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यो ताल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । यो तालको अर्को विशेषता भनेको वरिपरि वाख्लै रुख हुँदाहुँदै पनि रुखका पात झरेर यो तालमा पर्दैनन् । ’रुखबाट पात त झर्छन् तर हावाले तालमा पातलाई पर्नै दिँदैन’, वडा सदस्यसमेत रहनुभएका घनबहादुर फगामीले भने, ’स्थानीयले दैवि शक्तिका कारण यस्तो भएको भनेर विश्वास गर्छन् र तालको छेउमा वराहा देवताको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आइरहेका छन् ।’ मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो । सेभेन ए साइड फुडसल तथा वनभोजका लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको वडाअध्यक्ष पुनले बताए । गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमालको छायाँ प्रतिविम्ब स्पष्टरुपमा देख्न सकिन्छ । स्थानीयवासी एवं शिक्षक डोल्पा शिउथानी मगरका अनुसार तालमा हिमाल पौडी खेलिरहेको जस्तो दृश्य यहाँ देख्न सकिन्छ । यहाँबाट प्राचीन पहाड, सेताम्य हिमाल, पहाडी बस्ती स्पष्टरुपमा देख्न सकिन्छ । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटीपौवा, चौतारा, सानासाना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ । यहाँ गाईखर्क ताल, खोरिया दह, ठूल दह, जङ्गले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा, धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्न सक्ने प्रशस्तै सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा यस्ता अमूल्य र आश्चर्य लाग्दा सम्पदा ओझेलमा परेका वडाअध्यक्ष पुनले बताए । यो तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नसके यहाँ पर्यटकको आगमन बलिया सम्भावना रहेका स्थानीयको भनाइ रहेको छ यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरी पर्यटन विकास गर्नसक्ने हो भने ग्रामीण वस्तीको मुहार फेर्न सकिने वडा सचिव धर्मकान्त पौडेलले बताए । रासस