नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म(गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ । यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म(गमगढी सडक कालोपत्रे नहुँदा यात्रा असहज बनेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए । उक्त सडकखण्ड कालोपत्रेका लागि बजेट विनियोजित नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । केन्द्र सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा सडकखण्ड प्रथामिकतामा परेको छैन । यो सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना भइरहेको छ । वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि बजेटमा यसले प्राथमिकता नपाउँदा स्थानीय असन्तुष्ट बनेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । ‘आगामी आवको बजेटमा नाग्म(सिञ्जा(गमगढी सडकमा रकम बिनियोजन नहुनु दुःखको कुरा हो । जुम्ला र मुगुबाट प्रतिनिधित्व गर्नुहुने सांसदले यस विषयमा  तत्काल अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सशोधन प्रस्ताव दर्ता गर्नुपर्छ’, उनले भने । उनले संसदमा बोलेर मात्र नहुने भन्दै प्रभावकारी समन्वयको आवश्यकता रहेको बताए । ‘यो बाटोमा प्रदेश सरकारले बजेट छुट्याउँदैन तर पनि रारा ताल जाने बाटो कालोपत्रे गर्न सरकारको ध्यान गएको छैन’, उनले भने, ‘पर्यटन प्रबद्र्धनमा लागेको सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।’ कर्णाली राजमार्ग हुँदै नाग्म(गमगढी सडक भएर रारा ताल पुग्न सकिन्छ । यो सडक जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका हुँदै रारा पुग्छ । सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्रे नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रासस

बागलुङको गलकोट दरबार संरक्षण गरिँदै

गलकोट । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला सङ्ग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए । जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ । दरबारको वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन् । ‘दरबार एक सय दुई वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ, बगैँचालाई व्यवस्थित गराउन सुन्तलासमेत रोपिएको छ’, मल्लले भने, ‘दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोका फेर्न आवश्यक छ, अहिले पाँचवटा मात्रै झ्याल फेर्न सके पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ ।’ मल्लका अनुसार दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनःनिर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराने योजना रहेको सुनाए। बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको सङ्ख्या सबैभन्दा बढी भएको उनको भनाइ छ । हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताए । ‘दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रङ्गीन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो’, मल्लले भने, ‘दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनःनिर्माणका लागि काठको खोजीसमेत भइरहेको छ ।’ उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा  आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो । त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । तस्विरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेलले जानकारी दिए । ‘पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भूगोल दरबार तथा बगैँचा देख्दा राजा बस्ने ठाउँजस्तै छ’, प्रतेलले भने, ‘यसको पुनःनिर्माण गर्न आवश्यक देखेँ, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ ।’ दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उनको भनाइ छ । बाबुको हत्यापछि विस्थापित परिवार नफर्कँदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थालेका हुन् । विसं २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो । पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारी जानकारी दिए । रासस

पाँच महिनामा ४ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए । तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार छ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अष्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन् । बङ्गलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् । कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ । रासस