हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताए । ‘दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रङ्गीन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो’, मल्लले भने, ‘दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनःनिर्माणका लागि काठको खोजीसमेत भइरहेको छ ।’
उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो । त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए ।
कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् ।
तस्विरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेलले जानकारी दिए । ‘पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भूगोल दरबार तथा बगैँचा देख्दा राजा बस्ने ठाउँजस्तै छ’, प्रतेलले भने, ‘यसको पुनःनिर्माण गर्न आवश्यक देखेँ, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ ।’
दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उनको भनाइ छ । बाबुको हत्यापछि विस्थापित परिवार नफर्कँदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थालेका हुन् ।
विसं २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो । पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारी जानकारी दिए । रासस