प्रधानमन्त्रीद्वारा ५ अर्ब लगानीको लुम्बिनी केबलकार उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । बुटवल उपमहानगरपालिका– ३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब तीन किलोमिटर दूरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर  कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ । यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११  पण्डितले धार्मिक प्रवचन दिएका थिए । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रही आएको छ । यस अगाडि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । सम्झौता अनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम ती दुई पालिकाका लागि छुट्याउने छ । आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गँैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको जानकारी दिएका छन् । उनले भने ,’लुम्बिनी केबलकार संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’ रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने विश्वास गरिइएको छ । अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताए । उनले केबलकार धार्मिक पर्यटन ‘सर्किट’ निर्माणको नयाँ अभियानको पनि घोषणा गरेका छन् । यस सर्किटअन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गयौँ भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने जानकारी दिए । लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कूल लागत करिब पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि ‘रेष्टुरेन्ट’ बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५  गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको जनाइएको  छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले जानकारी दिए । केबलकार सञ्चालनमा आएसँगै ‘टप स्टेशन’मा रु साढे तीन अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुनेछन् । रासस

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन बिहीबार प्रधानमन्त्रीले गर्ने

बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तव्य बनेको छ । बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताएका छन् । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए । केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।

९३ वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा

काठमाडौं । गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ । हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौं सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाएका छन् । हेलिकोप्टरमार्फत आज विहान गोसाइँकुण्ड पुगेका उनले स्नान एवं पूजाआरधना गरे । वृद्ध अवस्थामा हिँडेर जानसक्ने अवस्था नहुँदा उनी चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाइँकुण्ड पुगेका हुन् । काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाइँकुण्ड पुग्दा उनलाई लेकलाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताए । वयोवृद्व तीर्थयात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाइँकुण्ड पुग्न अरुलाई सुझाव समेत दिए । रासस