शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिदै
गण्डकी । नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा रहेको यस दरबारलाई पछिल्लो समय संरक्षणसँगै पर्यटकीयरुपमा उपयोग गर्ने लक्ष्य लिइएको छ । दरबारलाई मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग स्रहशताब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोड्दै यसलाई ऐतिहासिक गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ संरक्षण एवं पूर्वाधार निर्माणमा जोड दिइएको ढोरदरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताए । नेपालका बाइसे तथा चौबिसे राजाका समयमा पहिलो राजा कृति खाड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखा राज्यमा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ । दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, जेल घर, टक्सार घर, रानीकुवा आदिको भग्नावशेष तत्कालीन समयको दरबारका जीवन्त अवशेष हुन् । पुरातत्व विभागको सहयोगमा दरबार संरक्षणको प्रयाससँगै दरबार परिसरलाई व्यवस्थित गर्ने काम भइरहेको उनले बताए । दरबार क्षेत्रको संरक्षणका लागि परिसरमा तारबार गरिएको छ । दरबार हेर्न आउने पर्यटकलाई लक्ष्य गरी नजिकैको रजस्थल गाउँमा रजस्थल सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको रजस्थल सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव डिलश्री गुरुङले जानकारी दिए । ‘होमस्टेमा प्रत्येक दिन ५० जनासम्म पर्यटक राख्नसक्ने व्यवस्था छ’, उनले भने ‘फाट्टफुट्ट पर्यटक आउने गरे पनि अपेक्षितरूपमा उनीहरूको आगमन बढाउन सकेका छैनौँ । पछिल्लो समयमा गाउँबाट बढ्दो बसाइँसराइका कारण पनि होमस्टेलाई व्यवस्थित सञ्चालन गर्न पनि जनशक्ति अभाव चुनौतीका रुपमा देखिएको छ।’ कोरोनाफैलिएका बेलामा सहर बजार लकडाउनका कारण ठप्प हुँदा ढोरदरबार क्षेत्रमा दैनिक ठूलो सङ्ख्यामा मानिस घुम्न आउने गरेको स्थानीयवासीको भनाइ थियो। ढोरदरबार तनहुँको दुलेगौँडाबाट सवारी साधनमार्फत आउन सकिन्छ । पछिल्ला समयमा रजस्थलसम्म जीप आउन थालेकोे र त्यहाँबाट १०र१५ मिनेटकै दूरीमा दरबार क्षेत्र पुग्न सकिन्छ । दरबार क्षेत्रबाट नाङ्गो आँखाले धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । हिमाली दृश्यका साथै उत्तरतर्फ कास्कीको भरतपोखरीको कोटभैरव, हुँडिकोट, बर पाण्डेथुम, निर्मल पोखरी बरसाम्मी र तलको सुरौदी फाँटको मनोरम दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ भने दक्षिततर्फ नवलपुरको देबचुली, बरचुली, तलतिर देखिने मान्द्रे, फिर्दी फाँट आदिको रमणीय दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । दुलेगौँडाबाट सेती नदी किनाराको रक गार्डेन हुँदै हाइकिङ गरी करिब चार पाँच घण्टाको हिँडाइमा दरबार पुग्न सकिने भएकोले एक दिने हाइकिङका लागि पनि यो उपयुक्त गन्तव्य रहेको स्थानीयवासीले बताए। दरबारलाई अझै व्यवस्थित गरी मिलेनियम ट्रेकमा आउने पर्यटकको सङ्ख्या बढाउन सकेमा होमस्टे सञ्चालन पनि त्यहीरुपमा अघि बढाउने अपेक्षा गरिएको छ। समितिले होमस्टेमा आउने पर्यटकका लागि दुई छाक खाजा तथा एक छाक खाना र सुत्ने विस्तारासहित एक हजारको प्याकेज निर्धारण गरेको छ । आगन्तुक पर्यटकलाई सकेसम्म स्थानीयरूपमा उत्पादित वस्तु नै खुवाउने गरिएको होमस्टे सञ्चालक समितिका गङ्गाकुमारी मल्लले बताए । रजस्थलमा हाल १० घरमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । घरबासलाई व्यवस्थित सञ्चालनका लागि आफूहरूलाई तालिमलगायत सहयोगको खाँचो रहेको उनको भनाइ थियो । कच्ची बाटोका कारण पनि पर्यटकको आगमन बढ्न नसकेको बताउँदै सञ्चालक मल्लले बाटोलाई यथासक्य चाँडो स्तरोन्नती एवं कालोपत्र गर्नुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्या बढ्दै गएमा होमस्टेलाई पनि व्यवस्थित गर्दै यही नै रोजगारीका अवसर सिर्जना गर्न सकिन्थ्यो’, उनले भने, ‘युवा शक्ति दिनदिनै गाउँ छोड्दा बस्ती उजाड बनिरहेको अवस्थालाई पनि गम्भीरताका साथ लिनु अपरिहार्य छ ।’ शताव्दीऔँ पुरानो ऐतिहासिक महत्वको ढोरमूलकोट दरबार संरक्षण गरी यसको प्रवर्द्धन गर्न सकेमा बर्सेनि रित्तिदै गएका बस्तीमा मानिस फर्किएर पुनः भरिभराउ हुने विश्वास लिइएको मिलेनयम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । दरबारलाई मिलेनियम ट्रेकको नक्सामा समावेश गरिएको बताउँदै उनले यस पदमार्गमा आउने पर्यटकलाई दरबार अवलोकन गराउँदै नजिकै रहेको रजस्थल सामुदायिक होमस्टेमा बस्ने व्यवस्था मिलाउन सकिने जानकारी दिए ।समितिले पदमार्ग क्षेत्रका ऐतिहासिक मन्दिर, गुफा आदिको संरक्षण एवं प्रवर्द्धनमा जोड दिएको उनले बताए । रासस
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
लुम्बिनी । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् । उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ लक्षित कार्यक्रमबाट भारतीय पर्यटक नेपालतर्फ आकर्षित हुने धारणा राखे । बिहीबार बुटवल र पाल्पामा पर्ने लुम्बिनी केबलकार उद्घाटन समारोहमा सहभागी हुन बुटवल आउनुभएका उनले भने, ‘नेपालसँग पर्यटनको अधिक सम्भावना छ, उत्तर प्रदेशमा मात्र २४ करोडभन्दा बढी जनसङ्ख्या छ, नेपालको सम्भावनाका हर क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्ने हो भने विदेशी पर्यटक खोज्न नेपाल धेरै टाढा जानै पर्दैन ।’ उनले बुटवलमा बनेको लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण हुने बताए । भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र यहाँ बन्ने केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधार उनीहरुका लागि पनि आवश्यक गन्तव्य बन्दै जाने उनको धारणा थियो । उत्तरप्रदेशबाट लोकसभाका सदस्य रहनुभएका पालले अब उत्तर प्रदेशका जनता केबलकार चढ्न हिमाञ्चल प्रदेश पुग्नुनपर्ने र लुम्बिनी केबलकार उनीहरुको पनि आकर्षण बन्ने बताए । ‘लुम्बिनी केबलकार नेपालीका लागि मात्रै होइन, छिमेकी देश भारतको उत्तर प्रदेशलगायत भारतीय जनताका लागि पनि हो’, उनले भने । केबलकारको टप स्टेशनमा बनेको कामाख्या भगवती मन्दिर, प्राकृतिक सौन्दर्य र शीतल वातावरण भारतीय पर्यटकका लागि आकर्षण बन्ने उहाँको भनाइ थियो । लुम्बिनी भारतीय पर्यटकका लागि पनि अत्यधिक रोजाइको गन्तव्य रहेको र त्यसमा अब केबलकारसहितको यो नयाँ गन्तव्य थपिएकाले शान्त र शीतल वातावरणमा रमाउन चाहने भारतीय पर्यटकको बसाई अवधि लम्ब्याउन सजिलो हुने उनको भनाइ थियो । उनले नेपाल र भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिकदेखि जनता जनताबीचको सम्बन्ध प्रगाढ रही आएको पनि बताए। उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतको भ्रमण गर्नुभएबाट पनि दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्न सकेको बताए । उनले भने, ‘यो भ्रमणले दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेको छ, यस अवसरमा नेपाल र भारतका बीचमा भएका सहमति र सम्झौता दुवै देशको सामूहिक हितका पक्षमा रहेको छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भनी सार्वजनिक गरेको प्रतिबद्धता ऐतिहासिक रहेको र यसले आगामी दिनमा भारत र नेपालको ऊर्जा क्षेत्रमा आपसी लाभ प्राप्त हँुदै जाने उनले बताए । लुम्बिनी प्रदेशका तराईका पाँच जिल्लाले भारतको उत्तर प्रदेश सीमासँग जोडिएको छ । नेपाल–भारत सीमा जोडिएका जिल्लामा मुख्य सीमानाका रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा जमुनाहा ठूला नाका र नवलपरासीको ठुटीबारी, रुपन्देहीकै कक्रहवा, दाङको कोइलाबासलगायतका छोटी भन्सार नाकाबाट दैनिकजसो भारतीय पर्यटक नेपाल आवतजावत गर्ने गरेका छन् ।
पर्यटन क्षेत्रमा कर थुपार्दा व्यवसायी असन्तुष्ट, आम्दानी घट्ने चिन्ता
काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धीत एक दर्जन बढी संघसंस्थाले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टी व्यक्ति गरेका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) को नेतृत्वमा शुक्रबार पर्यटन क्षेत्रका १५ वटा संथाले संयुक्त रुपमा पत्रकार सम्मेलनका आयोजना गर्दै बजेटमा असन्तुष्टी व्यक्ति गरेका हुन । ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एशोसिएसन अफ याफ्टिङ एजेन्सीज् (नारा), हिमालयन उद्धार संघ नेपाल (एचआरए), आरोहण अपरेटर्स एसोसिएसन नेपाल (इओए), वायुसेवा संचालक संघ, नेपाल (एओएन), सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल), नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए), टुरिष्ट बस एसोशिएसन अफ नेपाल (टीबिएन), नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो), ठमेल पर्यटन बिकास परिषद (टिटिडिसि) र कैलाश–टुर अपरेटर्स एशोसिएसन अफ नेपाल (एओएयन) ले बजेटमा असन्तुष्टी जनाएका हुन । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विद्येयक मार्फत हवाई उडानमा १३ प्रतिशत भ्याट, चार तथा पाँच तारे होटलमा २ प्रतिशत लक्जरी कर र विदेश घुम्न जाने नेपालीलाई ५ प्रतिशत लक्जरी कर लगाउने घोषणा गरेको थियो । पर्यटन क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल बीनै सरकारले पर्यटन क्षेत्रमा कर थपेको भन्दै व्यवसायीहरुले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन । सरकारको उक्त नीतिले कोभिड महामारीपछि भरखरै तग्रिन लागेको पर्यटन उद्योगमा ठूलो असर परेको भन्दै उनीहरुले यी कर लगाउँदा पर्न जाने नकारात्मक असरको अध्ययनका लागि समिति बनाउन माग गरेका छन् । अध्ययनका आधारमा एक वर्षपछि मात्रै ती कर कार्यान्वयन गर्न सकिने ती संस्थाको ठहर छ । सरकारको उक्त निर्णयले बजेटमै घोषणा भएको सन् २०३२ मा १० लाख विदेशी पर्यटन भित्र्याउने योजनामा समेत असर परेको टानका अध्यक्ष नीलहरी बास्तोला बताउँछन् । ‘बजेट मार्फत सरकारले सनन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने, सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने, आगामी आर्थिक वर्ष नेपाल घुमौ नेपाल चिनौँ अभियान सञ्चालन गर्ने र सन् २०२३–०३२ लाई पर्यटक दशकको रुपमा मनाउने घोेषणाले हामी पर्यटन व्यवसायी धेरै उत्साहीत भएका थियौँ’, उनले भने, ‘तर, सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम घोषणासँगै बीना तयारी अनावश्यक कर थप्दा लक्ष्य प्राप्त हुन नसक्ने अबस्था सृजना भयो ।’ यस्तै, उनले सरकारले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिदा राज्यवाट पाउनुपर्ने सहुलियतपूर्ण व्याजदर तथा विजुली शुल्क आदिवाट बञ्चित हुनुपरेको गुनासो गरे । उनले सरकारले पर्यटन उद्योगीको माग सरकारले सम्बोधन नगरी सडकदेखि सधनसम्म आन्दोलन गर्ने चेतावनी दिए । ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर लगानीकर्ताको माग सम्बोधनका क्रममा पर्यटन उद्योगीका समेत माग सम्बोधन गर्ने हामीले आश गरेका थियौँ, उहाँले सेयर लगानीकर्ताको मात्रै माग सम्बोधन गरेपछि हामी आन्दोलन गर्न बाध्य भयौँ’, उनले भने । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा सरकार आफै स्पष्ट नहुँदा व्यवसायी झन मारमा परेको बताए । ‘सरकारले बजेट मार्फत पर्यटन उद्योगमा विभिन्न शिर्षकमा कर थप्ने घोषणा गर्यो, सरकारको घोषणा अनुसार बजेट सार्वजनिक भएको भोलिपल्टै करका दर लागुहुनुपर्ने हो, तर अहिलेसम्म लागु भएको छैन’, उनले भने, सरकारले बिना तयारी हचुवाको भरमा कर थप्पगर्दा कोभिड पछि भरखरै तँग्रदै गरेको पर्यटन उद्योगमा थप मारमा पर्याे ।’ नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष चन्द्रप्रसाद रिजालले सरकारले पर्यटन व्यवसायीसँग छलफल नै नगरी पर्यटन क्षेत्रमा कर थप्दा गरि खाने वातावरणको अन्त्य भएको बताए । ‘पर्यटन क्षेत्रका उद्योगी व्यवसायीको साझा थलो नेपाल पर्यटन बोर्ड हो, सरकारले बजेट बनाउदा बोर्डसँग कुनै समन्वय नै गरेन’, उनले भने, ‘अर्थमन्त्रालयमा पर्यटन विज्ञ को छ, बजेटमा कर थप गर्दा हामीलाई समन्वय गर्नुपर्ने होइन’, उनले अर्थमन्त्रालयलाई प्रश्न गर्दै भने । उनले सरकारले बजेटमा कर थप्दा नेपाल महंगो गन्तव्यको रुपमा पर्ने भन्दै विदेशी पर्यटक घट्ने बताए । नेपालमा कर लगाउदा विदेशबाट टिकट काटिन्छ सरकारले बजेट मार्फत पहिलो पटक हवाई टिकट काट्दा १३ प्रतिशत भ्याटको घोषणा गरेको छ । तर, पर्यटन व्यवसायीहरु उक्त निर्णयले विदेशबाट टिकट काट्नेहरु बढ्ने बताउँछन् । ‘अहिले नेपालबाट काटिद्दै आएको टिकट भ्याट लागुभएपछि विदेशबाटै काट्न्छि, विदेशबाट टिकट काट्दा कुनै शुल्न नलाग्ने भएपछि नेपालीको रोजगारी समेत गुम्छ’, टान अध्यक्ष बास्तोलाले भने । ‘हवाई यात्रा, यात्रुवाहक यातायात तथा ढुवानी सेवाहरु, ढुवानी साधनका भाडा, ढुवानी सेवा, कार्गो सेवा समेतलाई पूर्णरुपमा भ्याटमा लागुहुँदा टुर प्याकेज महंगो हुन्छ, साविककै आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाई भाडादर महङ्गो भएर घटाउनुपर्ने बेला भ्याट लागु गर्दा हवाई यात्रा झन महंगो भयो’, उनले भने । उनले हाल ६० देखि ७० प्रतिशत अर्न्तराष्ट्रिय हवाई टिकट विदेशवाट विक्रि भइरहेको अवस्थामा नेपालका एजेन्सीहरु मार्फत भ्याट लगाउदा नेपालमा मात्र टिकटको मुल्य वढ्ने भएकोले पुर्ण रुपमा विदेशवाट टिकट विक्री हुने खतरा रहेको बताए ।