कोरोनापछि होटेल व्यवसायमा उछाल : ८ अर्ब पुँजी, एक वर्षमै डेढ अर्ब नाफा

<p>काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले थला परेको होटेलक्षेत्र अहिले भने आक्रामक रुपमा अगाडि बढेको छ । लामो समय कोरोनाको सकस भोगेको यो क्षेत्रको नाफमा गत वर्ष २०७९/८० मा भने उछाल देखिएको हो । गत वर्ष होटेल क्षेत्रको नाफा झण्डै २ सय प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले थला परेको होटेलक्षेत्र अहिले भने आक्रामक रुपमा अगाडि बढेको छ । लामो समय कोरोनाको सकस भोगेको यो क्षेत्रको नाफमा गत वर्ष २०७९/८० मा भने उछाल देखिएको हो । गत वर्ष होटेल क्षेत्रको नाफा झण्डै २ सय प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटल व्यवसाय खस्किएको थियो । तर, वर्षको अन्त्यतिर आउँदा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको व्यावसाय उल्लेख्य बढेको होटेल व्यवसायीहरुले बताएका छन् ।

पूँजी बजारमा विभिन्न ६ वटा होटलहरु सूचीकृत छन् । जसमध्ये अधिकांश होटेलको व्यवसायमा उल्लेख्य बढेको देखिन्छ । गत असारसम्म होटेलहरुले झण्डै डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार गत वर्ष होटेल कम्पनीहरुले १९२.६८ प्रतिशत नाफा बढाएर १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेका हुन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा गरेका थिए ।

हालै आईपीओ जारी गरेको सिटी होटेलबाहेक अन्य सबै होटेलले नाफा गरेका छन् । गत असारसम्म सिटी होटेल २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सानीमा छ । सो होटेल अघिल्लो वर्ष पनि ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष झनै नोक्सानी बढेको देखिन्छ ।

तर, अघिल्लो वर्ष नोक्सानीमा रहेको ओरियन्टेल होटलले गत वर्ष भने १७ करोड ८४ लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ओरियन्टेल होटल २ करोड ४६ लाख १ हजार रुपैयाँ नोक्सानीमा थियो । पर्यटकहरुको आवागमनमा उच्च वृद्धि भएसँग होटेलले पनि नाफा गर्न सफल भएको हो ।

गत वैशाख, जेठ र असार तीन महिनाको अवधिमा होटेल तथा पर्यटन क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार आएकाले पर्यटकीय गतिविधिमा अभिवृद्धि भएकोले होटेलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरुमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

गत वर्ष सबैभन्दा बढी नाफा बढाउने होटेलको सूचीमा कालिन्चोक दर्शन छ । कालिन्चोक दर्शनले अघिल्लो वर्षको तुलनामा गत वर्ष २१३६ प्रतिशत खुद नाफा बढाएको छ । गत असारसम्म कालिन्चोक दर्शनले ३३ करोड १९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष १ करोड ४८ लाख ४० हजार रुपैयाँ मात्रै गरेको थियो ।

यस्तै, चन्द्रागिरी हिल्सको खुद नाफा ७९६.४१ प्रतिशत बढेर १५ करोड ११ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, तारागाउँ रिजेन्सीको १ सय प्रतिशत बढेर ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, सोल्टी होटेलको ८३ प्रतिशत बढेर ५४ करोड ५१ लाख ५४ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ७२ लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत असारसम्म कूल ८ लाख ५६ हजार ३६० पर्यटक नेपाल आएको तथ्याङ्क छ । जसकारण नेपालको पर्यटन तथा होटल क्षेत्रको कारोबार फस्टाएको देखिन्छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष होटल क्षेत्रमा ब्यापक चलायमान भएको देखिन्छ । गत वर्ष सूचीकृत ६ वटै होटलहरुको सञ्चालनमा आम्दानी ७४.४९ प्रतिशत बढेर ६ अर्ब १८ करोड ८९ लाख रुपैयाँ गरेका छन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको मात्रै आम्दानी गरेका थिए ।

गत वर्ष सोल्टी होटेलको सञ्चालन आम्दानी ६४.२७ प्रतिशत बढेर २ अर्ब २४ करोड रुपैयाँ, तारागाउँको ९९.७० प्रतिशत बढेर १ अर्ब ३८ करोड रुपैयाँ र ओरियण्टेलको ९१.८५ प्रतिशत बढेर १ अर्ब ९ करोड रुपैयाँ गरेका छन् ।

यस्तै, चन्द्रागिरीको ३६.५३ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ, सिटी होटलको १५०.१२ प्रतिशत बढेर ४७ करोड ३१ लाख रुपैयाँ र कालिन्चोकको ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् ।

सूचीकृत होटेल कम्पनीहरुको चुक्ता पूँजी पौने ८ अर्ब मात्रै छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४.४६ प्रतिशत बढेर ७ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । अघिल्लो वर्ष होटल कम्पनीहरुको चुक्ता पूँजी ७ अर्ब ३७ करोड रुपैयाँ थियो ।

चुक्ता पूँजीका आधारमा सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको छ । गत असारसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यस्तै, सिटी होटलको ११.११ प्रतिशत बढेर १ अर्ब ६७ करोड रुपैयाँ, चन्द्रागिरी हिल्सको १ अर्ब ५३ करोड रुपैयाँ र ओरियण्टेल होटल्सको १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, सोल्टी होटलको ८८ करोड ४७ लाख रुपैयाँ र कालिन्चोक दर्शनको ६० करोड रुपैयाँ पूँजी रहेको छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

होटेल कम्पनीहरुको नाफा बढेसँग प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेकाे छ । गत असारसम्म अधिकांश कम्पनीको ईपीएस नाफामा छ । जसमध्ये तारागाउँ रिजेन्सीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २०.२८ रुपैयाँ छ ।

यस्तै, अघिल्लो वर्ष २.१८ रुपैयाँ ऋणात्मक रहेको ओरियन्टलको गत असारसम्म १५.८२ रुपैयाँ नाफामा छ । त्यस्तै, चन्द्रागिरी हिल्सको ९.८५ रुपैयाँ, सोल्टी होटेलको ६.१६ रुपैयाँ र कालिन्चोक दर्शनको ५.९६ रुपैयाँ ईपीएस पुगेको छ । सिटी होटेलको ईपीएस भने १६.३५ रुपैयाँ नोक्सानीमा छ ।

Share News