नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसरु जहाज पठाउन लागिएको छ । एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उनले उल्लेख गरे । यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ । गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो । सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ । उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै  सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो । नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।  जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ । रासस

कोरोनापछि होटलमा लगानी बढ्दै, ४ अर्ब बढीमा बन्दैछन् यी २० होटल

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा ५१ वटा स्वदेशी उद्योगमा झन्डै ३१ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले भदौ २४ गतेसम्मको तथ्यांक अनुसार ५१ वटा स्वदेशी उद्योगका लागि ३० अर्ब ८० करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रका २० उद्योेगमा लगानी भित्रिएको छ । पर्यटन क्षेत्रको संख्या ठूलो भएपनि लगानी रकम भने कम रहेको छ । २० वटा पर्यटन क्षेत्रका उद्योेगका लागि ४ अर्ब १६ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबर रहेको छ । उर्जा क्षेत्रका ३ उद्योगमा भने करिब १८ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । उर्जाका उक्त उद्योगमा १७ अर्ब ८४ करोड ९६ लाख ३७ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । कुन होटलमा कती प्रतिवद्धता ?  उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिना (साउन १ गतेदेखि भदौ २४ गतेसम्म) को अबधिमा २० वटा होटलका लागि सवा ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी प्रतिवद्धता रुपन्देहीको होटल बुद्ध स्टार प्रालिका लागि आएको छ । ठूला उद्योगका रुपमा उक्त होटलमा १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो । पूर्ण रुपमा नेपाली लगानीकर्ताको लगानी रहेको उक्त होटलले उद्योगमा दर्ता गर्दा ५ सय किलोबाट विद्युत खपत गर्नेछ भने होटलले १०३ जनालाई रोजगारी दिने उल्लेख छ । यस्तै, होटल बुद्धपछि कास्कीमा वाटफोर्ड होटल म्यानेजमेन्टले १ अर्ब १६ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेको छ । यस्तैगरी, काठमाडौंको डिज बुटिक होटलले २० करोड, दाङको होटल पाँवाले १२ करोड, काठमाडौंको सिवङ्ग झि रेष्टुरेन्टले १० करोड, काठमाडौंको गोल्डेनजिन होटलले २ करोड, काठमाडौंको होटल संकाइले ४ करोड, कास्कीको एल बोकाईतो स्पानोल होटल एण्ड रेष्टुरेन्टले २ करोड रूपैयाँ बराबरकाे लगानी प्रतिवद्धता आएको छ । यस्तैगरी, ललितपुरको रेमनाण्डले ५ करोड, ग्लोवल ट्राभल एण्ड एड्भेन्चरले १ करोड, संखुवासभाको खांदवारीको अल्मोस्ट होम प्राइभेटले २ करोड, काठमाडौंको टाइङ युन होटलले ४ करोड, काठमाडौंकै इयुट्टेम कोरियन रेष्टुरेन्टले २ करोड, काठमाडौंकै गुड टेष्ट क्याफेको ४ करोड, वाई लि होटल एण्ड रेष्टुरेन्टले १० करोड, डाँङ्गफाइङ प्यालेस चाइना लान्झाव लामियन नुडल्स हेझाउ प्लेवर लिनछिया क्विसाइनले ४ करोड, कास्कीको वाइगफु हट पट चाइनिज रेष्टुरेन्टले २ करोड, होटल बोधी भिलेजले २ करोड र काठमाडौंकै सु लियन होटलले ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेका हुन् । घट्यो प्रतिवद्धता रकम उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको २ महिनाको तुलनामा चालू आर्थिक वर्षमा लगानी प्रतिवद्धता घटेको छ । आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा ६८ वटा उद्योगका लागि ७४ अर्ब ६५ करोड २६ लाख ४९ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अबधिमा प्रतिवद्धता रकमसँगै संख्यामा समेत कमी आएको हो । कोरोना पछि होटलमा लगानी थपिने त्रम बढ्दो होेटल व्यवसायीहरु कोरोना महामारीपछि होटलमा लगानी गर्नेहरु बढ्न थालेको बताउँछन् । होटल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव एवंम प्रवक्ता साजन शाक्य होटलमा लगानी थपिने क्रम बढ्दो रहेको बताउँछन् । ‘कोरोना महामारीपछि नेपालमा धेरै होटलहरु थपिने थालेका छन्, जनयुद्धको समयमा धेरै धेरै होटलहरु बन्द भए, त्यसपछि पनि करिब १० वर्षको अवधिमा नयाँ होटलहरु थपिएनन’, उनले भने, ‘अब विस्तारै पर्यटकहरुसँगै होटलको संख्या पनि बढ्दै गएको हो ।’ सरकारले भिजिन नेपाल २०२० घोषणा गरेपछि होटलमा लगानी गर्नेहरु थपिन थालेको उनको भनाइ छ । ‘होटल व्यवसायमा एक पटक लगानी गरेपछि पुग्छ, वान टाइन इनभेष्टमेन्ट भएपछि होटल चले भैहाल्यो, नचले पनि लगानी खेर जाँदैन बढ्छ भनेर नै धेरैले सुरक्षित लगानीका रुपमा होटलमा लगानी गर्ने गरेको पाइएको छ’, उनले भने, ‘होटलको प्रपटीको मूल्य १० वर्षमा झन्डै तीन गुणा हुँने भन्दै पछिल्लो समय धेरै व्यवसायी तथा व्यवसायीक घरानाहरुको आकर्षक होटलमा देखिएको हो ।’ उनले कनेक्टीभिटीकै कारण धेरै देशका विदेशीहरु आउन नसकेको भन्दै कनेक्टीभिटी बढ्न थालेपछि पर्यटकको संख्यामा समेत बढ्ने अनुमान व्यवसायीहरुले गर्ने गरेको उनले बताए । उनका अनुसार होटल व्यवसायीहरुले अबको ५ वर्षमा ३५ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आउने अनुमान गरिएको बताए ।

पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’

दाङ । विसं २०५९ माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका पार्क व्यवस्थापन समितिले जनाएको छ । समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले पार्कमा दिनहुँ भिड हुने गरेको भन्दै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या बढिरहेको जानकारी दिए । पार्क अवलोकन गर्न आउनेबाट प्रतिव्यक्ति ३० शुल्क निर्धारण गरिएको जानकारी दिँदै भण्डारीले वनभोज खान आउने समूहबाट रू तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको बताए । उनका अनुसार अहिले पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिए । ‘पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ’, उनले भने, ‘राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको तीन किलोमिटर उत्तरमा श्रीगै गाउँबाट डेढ किमी पूर्वमा पर्ने उक्त पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्दछ ।’ भण्डारीका अनुसार पार्कभित्रको उत्तरतर्फ बालबालिकाका लागि बालउद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निर्माण गरिएको छ । पार्क वरपर चराचुरुङ्गीको मधुर स्वर सुन्न पाउनुका साथै प्राकृतिक तथा जैविक विविधताले भरिएको रमणीय वातावरण रहेको उनको भनाइ थियो । त्यस्तै, उत्तरतर्फ मिनि चिडियाखाना निर्माण गरिएको छ । यहाँ चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर र पशुपक्षी राखिएका छन् । ‘पार्कभित्रको मुख्य आकर्षण भनेको भगवान गौतमबुद्धको मूर्ति हो’, भण्डारीले भने, ‘मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकको सङ्ख्यामा बढेको हो ।’ उनका अनुसार पार्कसँगै जोडिएको जङ्गलमा वनभोज खानका लागि एक दर्जनबढी वनभोज स्थल निर्माण गरिएका छन् । खानेपानी, शौचालयदेखि वनभोज खान आउनेलाई आवश्यकपर्ने भाँडाकुँडा, दाउरा तथा ग्यासको सुविधा पनि पार्कमा रहेको समितिका कर्मचारी भण्डारीले जानकारी दिए । पछिल्लो समयमा मगर संस्कृति झल्कने गुन्यो, चोलोलगायतका पोशाकको पनि व्यवस्था गरिएको जनाउँदै उनले यहाँ आउने पर्यटकले ती पोशाक लगाएर फोटो खिच्ने, टिकटक बनाउन गर्ने गरेको बताए । द्वन्द्वका समयमा शान्तिको सन्देश दिनका लागि भन्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यहाँका नागरिक अगुवा तथा बुद्धिजीवी, व्यापारी, सरकारी निकायलगायतको पहलमा उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निमार्णका लागि आवश्यकपर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको समितिले जनाएको छ । विसं २०५९ माघ ८ गतेदेखि यहाँ पार्क निर्माण सुरु गरिएको थियो । सुरुको दिनमा यहाँ धेरै झाँडी तथा बुट्यान रहेकाले उक्त झाँडी तथा बुट्यानको फँडानी गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय, तथा नागरिक अगुवाले योगदान गरेका समितिका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए । सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रू साढे ३७ लाख अनुदान प्राप्त भएपछि पार्क निर्माण थालिएको व्यस्थापन समितिले जनाएको छ । पछि पटकपटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगर नगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायतबाट रू पाँच करोड सङ्कलन भई सीमितको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोज स्थललगायतका चिडिया खाना, गौतमबुद्धको मूर्तिलगायतका पूर्वाधार निर्माणमा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा पनि विभिन्न निकायबाट पार्कका लागि रकम विनियोजन भएको छ । उद्यानको अवलोकन गर्न बर्दियाको गेरुवा गाउँपालिकाबाट शनिबार यहाँ आएका शिवनारायण चौधरीले भने, ‘पार्क देख्दा आनन्द आयो, पार्कका बारेमा धेरैबाट सुनेकी थिए । आज प्रत्यक्ष घुम्न पाउँदा यहाँको सुन्दरताले आनन्दित बनाएको छ ।’ विगतका वर्षमा नागरिक तथा वन समूहका उपभोक्ताको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले उक्त पार्क जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको भनाइ थियो । ‘झाँडी र निलकाटा मात्र रहेको ठाउँ अहिले यहाँका वन समूहका उपभोक्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, नागरिक अगुवा, सरकारी निकायलगायतको सहयोगले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने केन्द्र बन्दै गएको छ’, उनले भने । रासस