एनटिभिए नेतृत्वका लागि प्रकाश सापकोटा समुहद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को २० औँ वार्षिक साधारणसभामा प्रकाश सापकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।आगामी मंगलबार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाको सबै समुहले उम्मेदवारी दर्ता गरेको हो । अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिका प्रबन्ध निर्देशक हुन । सापकोटाको समुहबाट बरिष्ठ उपाध्यक्षमा भरत प्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोदप्रसाद अर्याल, कोषाध्यक्षमा रामकुमार बस्नेतले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी, सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्रबहादुर पाठक, सुदिन महत लगायतको उम्मेदवारी दर्ता भएको छ । संघको साधारण सभा भने आगामी २२ भदौमा हुनेछ । अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाले आफ्नो समुहमा संघका पूर्वअध्यक्षहरुको समर्थन र साथ रहेको बताए ।
मझगाउँ विमानस्थल निर्माणले गति लिन सकेन, २५ प्रतिशतमात्र काम सम्पन्न
बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ’, उनले भने, ‘त्यसैले अहिले काम रोकिएको छ, बर्खा रोकिएपछि फेरि काम सुरु हुन्छ ।’ आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको हो । विमानस्थल पुनः निर्माणमा यहाँको भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नवाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो । उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो । काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको हो । मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसपछि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गर्दछन् । रासस
नागरिक उड्डयन प्राधिकरणको नयाँ नीतिले समीट, तारा र सौर्य एयरलाइन्सलाई सकस
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेपछि तीन वटा वायु सेवा सञ्चालक कम्पनीलाई सकस पर्ने देखिएको छ । नागरिक उड्डयन प्राधिकरणले एओसीआर संशोधन गरेर वायुसेवा कम्पनीले पाँच वर्षभित्रमा न्यूनतम पाँच वटा जहाज पुर्याउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यो व्यवस्थाले अहिले पाँच भन्दा कम जहाजबाट वायुसेवा दिइरहेका कम्पनीहरु समस्यामा पर्ने भएका छन् । अहिले वायु सेवा सञ्चालन गरिरहेको समिट एयरसँग चार वटा जहाज छन् । त्यसैगरी, तारा एयरलाइन्ससँग तीन र सौर्य एयसलाइन्ससँग दुई वटा मात्रै जहाज छन् । प्राधिकरणको नयाँ व्यवस्था अनुसार अब उनीहरुले पाँच वर्ष भित्रमा पाँच वटा जहाज पुर्याउनुपर्ने हुन्छ । पछिल्लो समय आर्थिक संटकमा समेत परेको सौर्य एयरलाई प्राधिकरणले गरेको यो व्यवस्थाले झनै असर गर्ने देखिन्छ । दुई वटा जहाज भए पनि सौर्यले अहिले एउटा जहाजबाट मात्रै उडान गर्दै आएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सरोकारवालासँग छलफल नै नगरी नयाँ व्यवस्था गरेर नागरिक उड्डयन प्राधिकरणले वायुसेवा क्षेत्र नै बन्द गर्न खोजेको टिप्पणी गरेका छन् । ‘कुनै निर्देशिका तथा नियमहरु संशोधन गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने व्यवस्था छ । तर, प्राधिकरणले एकलौटी रुपमा निणर्य गर्दै आएको छ’, कँडेलले भने । अर्का एक वायुसेवा सञ्चालकले भने प्राधिकरणको निर्णयको बारेमा छलफल गरेर धारणा तय गर्ने बताए । ‘सरोकारवाला निकायसँग छलबिनै भएको संशोधन कार्यन्वयन हुन्छ भन्ने हुँदैन । वायु सेवा सञ्चालकको बीचमा छलफल गरेर निर्णयमा पुग्छौं’, उनले भने । पढ्नुहाेस् याे पनि वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने, पाइलटलाई अन्य व्यवसाय गर्न रोक