सङ्कटमा पदमार्ग, स्थानीय श्रमिक प्रभावित
काठमाडौं । लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो । पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्दथे । स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीय स्थलमा पुग्थे । तर, हिमाली जिल्ला मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्ष अघि नेपाली सेनाले ट्रयाक खोल्यो । नेपाली सेनाले विसं २०६९ मा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्रयाक खोलेर यात्रा सहज बनाइयो । सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसियाली छाएको थियो । यस सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ । पदमार्गमा प्रभाव पार्दा केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन् । यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको हो । यस विषयमा सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो पुगेन । यसले गर्दा अहिले पदयात्रीले सकस भोगिरहेका छन् । यसका साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल र्पुयाइयो । मनाङ सदरमुकाम चामे पुगेको सडक विसंं २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर दूरी सडक सञ्जालसँग जोडियो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकमा जोडिएको छ । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट)को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मि) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । मनाङमा विसं २०५० सम्म होटल खुलेका थिएनन् । चक्रिय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो । सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार हुन थालेका बताइन्छ । त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो । भरियाले बेँसीसहरबाट ५र६ दिन लगाएर भारी बोकेर सामग्री पुर्याउने गरिन्थ्यो । सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र र्भयाङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । उनका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । कम मात्रामा प्रयोग गर्ने गरिन्छ । “गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ”, उनले भने । विसं २०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न आइपुग्छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपर्दैन । “पहिले जस्तो छैन अहिले, गाडी चल्यो, मान्छे र सामान सँगसँगै गाडीमै आइपुग्छ, अहिले भरिया खासै हुँदैनन्”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८० वर्षीय याङदुङ गुरुङले भने, “भरियाविनै काठमाडौँ–पोखराबाट बेँसीसहर हुँदै सिधैँ माथिल्लो मनाङ पुग्छन् ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा वर्षेनी १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्दथे । सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीहरसम्म मोटर चल्ने भएकाले पर्यटक बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे । जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार दुई जना बराबर एक जना भरियाले सामान बोक्ने गर्दथे । “हिँडेरै आउने पर्यटकसँगै उनीहरूका भारी बोक्ने भरियाको राम्रो कमाइ हुन्थ्यो, नेपाली भनेर मनाङीले भरिया सुतेको पैसा लिँदैनथे”, घलेले भने, “अचेल त पर्यटक गाडीमा आउँछन्, त्यसकारण भरिया नै देखिदैनन् ।” अहिले सवारीसाधान चलेपछि काठमाडौँ–पोखराबाट पर्यटक सिधैँ मनाङ आइपुग्छन् । खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला भञ्ज्याङ हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया बेँसीसहरबाटै लैजानुपर्ने हुन्थ्यो । गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ । मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ । पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म र्पुयाउन भने सहज छैन । एक समय बेँसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जीपमा चार घण्टामै पुगिन्छ । धारापानीदेखि तिल्चे (मनाङ)सम्म पनि यातायात चल्छ । तर, दुध खोलामा पुन नहुँदा वर्षायाममा यातायात ठप्प हुन्छ । त्यसपछि भीमथाङ, लार्के (मनाङ–गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ । मनास्लु पदमार्गको यस मार्ग अहिले खच्चड प्रयोगमार्फत सामग्री ढुवानी गर्न सहज र छिटो हुन्छ । तिलिचो जान आउनेका लागि खाङ्सारसम्म जीपमार्फत एकै दिनमा पुग्न सकिन्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । त्यहाँबाट दुई दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ । विसं २०६९ सम्म बेँसीसहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे । कोही मनाङ प्रवेशपछि मनास्लु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे । मनाङमा भरियाले नै खाद्यान्न पुर्याउँथे । मङ्सिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू आठ महिना गाउँमै बदस्थे । विसं २०७०र७१ मा माथिल्लो मनाङसम्मै जीप पुग्न थालेपछि त्यसमाथिका ठाउँको भारी बोक्न खच्चड प्रयोग हुन थालेको मनाङवासी बताउँछन् । मनाङ जाने बाटोमा र्भयाङ बनाएर डोरीमा झुन्डिएर जानुपर्ने बाध्यता थियो । खच्चड हिँड्न थालेपछि सामग्री ढुवानीमा सहज भएको थियो । पदमार्गले परिचय बनाएको मनाङको गौरव अहिले सङ्कटमा परेको छ । रासस
भुटान एयरलाइन्सले फेरि पाराे–काठमाडौं उडान सुरु गर्ने, हप्तामा चार उडान
काठमाडौँ । भुटान एयरलाइन्सले नेपालमा फेरि उडाउन सुरु गर्ने भएको छ । कोभिड महामारीपछि भुटान एयरलाइन्सको नेपाल उडान स्थगित भएको थियो । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनी)को भगिनी संस्थाले भुटान एयरलाइन्सले फेरि उडान सुरु गर्न लागेको बताएको हो । यो भुटानको पहिलो निजी एयरलाइन्स कम्पनी हो । भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि हप्तामा चार उडान हुने बताइएको छ । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्ने छन् । ‘थन्डर ड्रागनको भूमी’ भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडान सुरु गरेको थियो । भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने अवस्थाको सामना गर्नुपरेको बताए । यसपटक भने उडान तालिका नियमित राख्न प्रतिबद्ध रहेको उनले बताए । त्यस्तै, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भुटान एयरलाइन्सको उडान पुनः सुरु भएपछि दुवै देशका पर्यटकलाई सहज हुने बताए ।
बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण
काठमाडौं । आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ । यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ ।” मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् । मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । उनले “विपद्को बेला तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका हुन् ।” यसका साथै विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरू तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल तथा खुला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले राखेको छ । विपद्को समयमा परिचालन गर्नका लागि तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेको जनाइएको छ । रासस