डलर भित्र्याउन मेरियट होटल र निगमबीच प्रतिस्पर्धा, यी हुन् बढी डलर ल्याउने उत्कृष्ट ८ कम्पनी

काठमाडौं । काठमाडौंको पाँचतारे होटल मेरियटले एक वर्षमा करिब साढे ५० लाख अमेरिकी डलर भित्र्याएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मेरियटले सन् २०२२ अगष्ट १ देखि २०२३ को अगष्ट १ सम्ममा ५० लाख ४१ हजार २ सय ३७ डलर आर्जन गरेको हो । जुन होटल क्षेत्रमै सबैभन्दा बढी हो । सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेसँगै मेरियटलाई पर्यटन मन्त्रालयले सम्मान गरेको छ । मन्त्रालयले ४४ औं विश्व पर्यटन दिवसको अवसरमा मेरियटसहित सबैभन्दा विदेशी मुद्रा आर्जन गर्ने ८ वटा क्षेत्रलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रमको अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पर्यटनमार्फत सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरुलाई सम्मान गरेका हुन् । ८ वटा क्षेत्रमध्ये सबैभन्दा बढी अमेरिकी डलर आर्जन गर्नेमा सरकार स्वामित्वको नेपाल वायुसेवा निगम रहेको छ । जसले समीक्षा अवधिमा ८ करोड ४५ लाख डलर आर्जन गरेको छ । त्यस्तै, मेरियट होटल सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउनेको दोश्रो सूचीमा परेको छ । मन्त्रालयको विवरणअनुसार ट्रेकिङ र पर्वतारोहणतर्फको साहसिक खेलतर्फ पोखरा अल्ट्राले ४४ हजार ३ सय ८८ डलर, सेभेन समिटले ४३ लाख २२ हजार ६४ डलर र ट्राभल एण्ड टुर्सतर्फ सीता वल्र्डले ३३ लाख ६१ हजार १ सय ३६ डलर आर्जन गरेका छन् । यस्तै, कृषि फार्ममा कपिलवस्तको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज पनि सम्मानित भएको छ । ३ बिगामा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाईसमेत विकास गरेको भन्दै मन्त्रालयले कपिलवस्तुको उक्त रिसोर्टलाई सम्मान गरेको हो । सरकारले होमस्टेमा अमलटारी मध्यवर्ती सामुदायिक कावासोती र पर्वतारोहीतर्फ तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलालाई सम्मान गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु ९२ दिनभित्र आरोहण गरी कीर्तिमान कायम गरेको भन्दै लामा र नर्वेकी हेरिलालाई सम्मान गरिएको हो ।

हिमालय एयरलाइन्सले जहाजभित्रै पसल चलाउँदा आम्दानी बढ्यो, निगमले पनि सुरू गर्दै

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले जहाजभित्रै ‘अनबोर्ड ड्युटी पेड स्टोर’ अर्थात् पसल सञ्चालन गर्न थालेको लामो समय भएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई जहाजभित्रै पसल राख्न पाउने व्यवस्था गरेसँगै हिमालयले पनि याे सो सेवा सुरु गरेको थियाे । मन्त्रालयले २०७९ को भदौ २० गते ‘अनबोर्ड ड्युटी पेड स्टोर सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गरेको थियो । मन्त्रालयले स्वीकृत दिएसँगै हिमालय एयरले हाल उडान गर्दै आएको सबै गन्तव्यमा पे सप सञ्चालन गर्दै आएको छ । हिमालय एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले हाल उडान गर्दै आएको सबै गन्तव्यमा खानाका परिकारहरु बिक्री गर्दै आएको जानकारी दिए । ‘विदेशका सबै एयरलाइन्सले लामो समयदेखि जहाजमा सामानहरु बिक्रीको काम गर्दै आएका छन्, हामीकहाँ अहिले वायुसेवा कम्पनीले दिने मात्र खानेकुराहरु उडानमा पाइन्छ, थप खानका लागि उडान नसक्दासम्म विकल्प नै थिएन्, सरकारको निर्णय अनुसार हामीले नियमित दिने बाहेक पेडमा खानाका परिकार बिक्री केही समय अघिदेखि सुरु गरेका हौँ’, उनले भने, ‘खाने कुरामात्र (खानाका परिकार) बिक्री हुँदै आएको छ, हाम्रो उद्देश्य भनेको समयमै सस्तो र सुलभ रुपमा गन्तव्यमा पुर्याउने हो ।’ उनले एयरलाइन्स कम्पनीले उडानका क्रममा दिने बाहेकका परिकार आफ्नो आवश्यकता जहाजमा नै पाइएपछि यात्रुहरुले दिने प्रतिक्रिया सकारात्मक हुने गरेको बताए । जहाजभित्र पे सप सञ्चालन हुँदा आम्दानी राम्रो रहेको भन्दै उनले विस्तारै आम्दानी बढ्ने अनुमान गरिएको बताए । एयरलाइन्सले हाल बंगलादेश, मलेसिया, कतार, कुवेत, साउदी अरब, दुबई र चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । निगम पनि तयारी थाल्दै  नेपाल वायुसेवा निगमले २०६४ सालसम्म उडान गर्ने सबै गन्तव्यमा पे सप सञ्चालन गर्ने गरेको थियो । निगमले ड्युटी फ्री सपबाट विभिन्न सामग्री खरिद गरेर जहाजमा सस्तो मूल्यमा बिक्री गर्ने गरेको थियो । २०६४ सालसम्म निगमको एउटा मुख्य आम्दानीको स्रोत नै ड्युटी फ्री सप बनेको थियो । तर, सरकारले २०६४ सालमा भन्सार ऐन जारी गरेपछि निगमको व्यवसाय खोसिएको थियो । भन्सार ऐनले जहाजभित्र ड्युटी फ्री सप सञ्चालन गर्न कडाइ गरेपछि निगमले पे सप बन्द गरेको थियो । पे सप बन्द भएको झन्डै १६ वर्षपछि निगमले पे सप सञ्चालनका लागि २०८० को साउन पहिलो साता मन्त्रालयसँग अनुमति माग गरेको छ । निगम अन्तर्गतको कर्पाेरेट विभागले पे सप सञ्चालनका लागि अनुमति माग गरेसँगै मन्त्रालयले सञ्चालनको अनुमति समेत दिइसकेको छ । मन्त्रालयबाट पे सप सञ्चालनको अनुमति पाएसँगै आवश्यक तयारी थालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा संस्थाहरुलाई उडानका बखत जहाजभित्र पसल सञ्चालन गर्न सहजीकरण गर्दै नेपाली वायुसेवा कम्पनीको अतिरिक्त आम्दानीमा वृद्धि गराई वायुसेवालाई थप सबल, सुदृढ र दीगो बनाउनका लागि राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पु¥याउने उद्देश्यले पसल सञ्चालनका लागि आवश्यक अनुमति प्रदान र सञ्चालन कार्य व्यवस्थित गर्न आवश्यकता भएको कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार जहाजभित्र पसल सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको गुणस्तर सुनिश्चित हुनुपर्ने, बिक्रीपछि यात्रुलाई आधिकारिक बिल जारी गर्नुपर्ने, प्रचलित कानुनको पूर्ण पालना गर्नु पर्ने, विवरण अद्यावधिक राख्नु पर्ने, सेवा सञ्चालनको प्रगति विवरण त्रैमासिक रूपमा मन्त्रालयमा पेस गर्नुपर्ने उल्लेख छ । विमानस्थल सेवा शुल्क नियमावली २०७८ को पूर्ण पालना गर्नु पर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सेक्युरिटी म्यानुअल, फ्लाइट अप्रेसन र क्याबिन क्रु म्यानुअल पूर्ण पालना गर्नुपर्ने समेत कार्यविधिमा उल्लेख छ ।

पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

ललितपुर । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो । हाल पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्नका लागि आन्तरिक पर्यटकले ३० र बाह्य पर्यटकले एक हजार रुपैयाँ शुल्क तिर्ने गरेका छन् । पाटन दरबार सङ्ग्रहालयले राखेको तथ्याङ्कअनुसार दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्राहालय अवलोकन गर्छन् भने दुई सयजना बाह्य पर्यटकले अवलोकन गर्दै आएका छन् । उनले भने, ‘मङ्गलबारदेखि पाटन दरबार क्षेत्रमा नेवारी समुदायको ऐतिहासिक हस्तकला सामग्री प्रदर्शन गरिएको छ ।’ विश्व पर्यटन दिवसको अवसरमा पाटन दरबार क्षेत्र अवलोकन गर्न आएका बाह्य पर्यटकलाई निःशुल्क प्रवेश गराएर मायाको चिनोसमेत प्रदान गर्ने कार्यक्रम रहेको विश्व पर्यटन दिवसका संयोजक डिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।