आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

<p>काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव [&hellip;]</p>

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो ।

मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।

अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

“हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उनले भने, ‘अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।”

अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने उनको भनाइ छ ।

“अरुण डाँडाको छुटै धार्मिक महत्व छ, यो स्थान घुम्न आउने मानिसको लागि आनन्ददायक छ । मानिस आफ्नो भाकल पूरा गर्नको लागि पूजाआजा तथा दर्शनको लागि पनि आउने गरेका छन्,” उनले भने ।

अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उनको भनाइ छ ।

“अरुण डाँडाको विकाससँगै यसको प्रचार÷प्रसारमा जुटेका छौँ, हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ । यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ,” उनले भने ।

पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । मानिस प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीयवासी लालबहादुर तामाङले बताए ।

सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उनको भनाइ छ ।

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेपछि पर्यटकको सङ्ख्या बढेको छ, यो ठाउँमा बिदाको समयमा पर्यटक धेरै आउँछन् । यो स्थान धेरै पर्यटकको रोजाइमा पर्ने स्थल बनेको छ,” उनले भने ।

वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उहाँको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।रासस

Share News