पर्यटकको गन्तव्य बन्दै नवलपरासीकाे ‘कुमसोत’
नवलपरासी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ । देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिकरूपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ । राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भू–भाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भू–भाग, राजमार्ग आसपासका घना बस्ती सहजरूपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भू–भाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्यसमेत सहजरूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए। ‘विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो, यो सँगै क्रमशः सुविधाजनक होटल खुल्न थाले, विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्नथाल्यो’, उनले भने । आन्तरिक पर्यटक गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्यरूपमा आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सोतीले बताए। आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना बनाई काम गरिरहेको उनले जानकारी दिए। उनका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरमस्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उनले बताए। कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुनसक्ने भएकाले सोहीअनुसारका काम वडा तथा नगरस्तरबाट बढाउँदै लैजाने वडाध्यक्ष सोतीले बताए । पालिकाभित्रको प्रमुख पर्यटकीयस्थलका रूपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकासलगायतका काम अघि बढाउँदै लैजाने नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए। कुमसोतलाई जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रूपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडा पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलका रूपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै गएकामा आफूहरु उत्साहित बनेको वडाध्यक्ष सोतीले बताए।
शरदयाममा धौलागिरि आरोहण सुुरु, १३ जनाले गरे सफल आरोहण
म्याग्दी । चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरिसकेको शेर्पाले बताए । सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुुचुरोमा पुुगेका छन् । विभिन्न टे«किङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीबाट रु २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ । गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा ८६ लाख २४ हजार तीन सय ३० रुपैयाँ शुल्क सङ्कलन भएको थियो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका चार सय ३६ जनाले अनुमति लिएका छन् । उनीहरुबाट चार करोड दश लाख १४ हजार सात सय ९७ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ शुल्क तिरेका विभागले जनाएको छ । शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ समूहका तीन सय एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धौलागिरि हो । हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल आठ÷आठ जना, खयाङ ६छजना, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न पाँच÷पाँच जनाले अनुमति लिएका छन् ।
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उनको भनाइ छ । सहसचिव लामिछानेले भने, ‘अहिले तीन मुलुक स्वीट्जरल्याण्ड, रुवाण्डा र इन्डोनेसियासँग नयाँ हवाई सम्झौता गर्ने प्रक्रियामा छौँ, हवाई सम्झौताको मस्यौदालाई छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराएर सम्झौताका लागि समय र स्थान तय गरिनेछ ।’ क्यानाडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको थियो । नेपाल र स्वीट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग पनि एमओयु पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । द्विपक्षीय हवाई सम्झौता अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण अङ्ग पनि भएकाले यसलाई क्रमशः विस्तार गर्दै लाने सरकारको नीति छ । हवाई सम्झौता नेपालको गौरवसँग जोडिएको विषय पनि हो । मन्त्रालयका सहसचिव लामिछानेले नेपालले विभिन्न मुलुकसँग गरेका सम्झौताका माध्यमबाट ती मुलुकबीच संरचनागत सम्बन्ध कायम हुने तथा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गर्नुभयो । आइकाओको मापदण्डअनुरुप दुई मुलुकबीचको हितमा रहेर द्विपक्षीय हवाई सम्झौता गरिन्छ । सहसचिव लामिछानेले कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न लागिएको पनि जानकारी दिए । ‘कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न उनीहरुबाटै माग भई आएकाले नेपालले पनि त्यसलाई स्वीकार गरी काम सुरु भएको छ’, उनले भने । नेपालले हाल ४० देश र युरोपेली सङ्घ (ईयु) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० भन्दाबढी गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने घोषणा गरेको छ । मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ । सरकारले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने नीति लिएको छ । नेपालले मध्यपूर्वी एशियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्नेगरी तयारी गरेको छ । दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ । इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेशनल आधिकारिक जिएसए रहेको छ । आगामी वर्षदेखि गरुडा एयरको जिएसए व्यवस्थापन गरिने सोसाइटी ट्राभलका सञ्चालन प्रमुख संगीता रौनियारले बताए । यस्तै अफ्रिकी मुलुक रुवान्डासँग पनि नेपालले हवाई सम्झौतामार्फत दुई देशबीचको सम्पर्क विस्तार गर्न लागेको मन्त्रालयको भनाइ छ । के छ हवाई सम्झौताको महत्व ? नेपालले अन्य मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्दा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल विस्तारका साथै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने सहसचिव लामिछानेले बताए । ‘नेपालले कुन–कुन मुलुकसँग हवाई सम्झौता गरेको छ भन्ने विषयको अन्तर्राष्ट्रिय महत्व हुन्छ । कतिपय मुलुकले सिधा उडान गर्न सक्छन् । सम्बन्धित मुलुकमा ‘कोर्ड सेयरिङ’का एयरलाइन्समार्फत पनि सहज हवाई उडान हुने भएकाले हवाई सम्झौता हुनु भनेको राम्रो कुरा हो’ उनले भने । तीस एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा तीन वटा नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर इण्डिया, इन्डिको एयर, एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भूटान एयरलाइन्स, विमान बङ्गलादेश र ड्रुक एयरले उडान गर्दै आएका छन् । त्यस्तै, क्याथे प्यासिफिक, भिस्तारा, जजीरा एयरवेज, कोरियन एयरलाइन्स, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, एयर अरेबिया अबुदाबी, मलेसिया एयरलाइन्स, कुवेत एयरवेज, मालिन्दो एयर, सलाम एयर, थाई लाइन, थाई स्माइल एयरलाइन्सलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् । रासस