प्रतिस्पर्धी कम्पनीले उडान थप्दा निगमका जहाज ग्राउन्डेड, चाडपर्वकै बेला झन सुस्त

<p>काठमाडौं । चाडपर्वको माहोल बढेकै बेला नेपाल वायुसेवा निगम सुस्त बनेको छ । प्रतिस्पर्धी हवाइ कम्पनीहरुले धमाधम उडान थप्दा निगमले आफ्ना जहाज ग्राउन्डेड गरेर घाम तपाइरहेको छ । निगमका प्रतिस्पर्धी विदेशी वायुसेवा कम्पनी र स्वदेशी कम्पनीले पनि उडान थप गरिरहेका छन् । निगमले भने २ जहाजभने ग्राउन्डेड अवस्थामा राखेको छ । दुई जहाज ग्राउण्डेड गर्दा [&hellip;]</p>

काठमाडौं । चाडपर्वको माहोल बढेकै बेला नेपाल वायुसेवा निगम सुस्त बनेको छ । प्रतिस्पर्धी हवाइ कम्पनीहरुले धमाधम उडान थप्दा निगमले आफ्ना जहाज ग्राउन्डेड गरेर घाम तपाइरहेको छ । निगमका प्रतिस्पर्धी विदेशी वायुसेवा कम्पनी र स्वदेशी कम्पनीले पनि उडान थप गरिरहेका छन् । निगमले भने २ जहाजभने ग्राउन्डेड अवस्थामा राखेको छ । दुई जहाज ग्राउण्डेड गर्दा निगमले ३० करोड रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरिसकेको बुझिएको छ ।

हाल उडान गर्दै आएका एयर अरेबिया, फ्लाई दुबई, भिस्तारा, बिमान बङ्गलादेश, बाटिक एयर र एयर चाइनाले उडान संख्या थप गरेका छन् । सम्बन्धित वायुसेवा कम्पनीको माग अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उडान थपका लागि अनुमति दिएको हो ।

नेपाली चाडपर्वका लागि एयर अरेबियाले सातामा १४ वटा थप उडानको अनुमति पाएको छ । उक्त एयरले हाल २१ वटा उडान गर्दै आएको छ । यस्तै, हाल सातामा २८ उडान गर्दै आएको फ्लाई दुबईले उडान संख्या बढाएर ४२ बनाएको छ । चाडपर्वका लागि उक्त एयरले १४ उडान थप गरेको हो ।

टाटा सिया (भिस्तारा) ले ७ उडान थप गरेको छ । यसअघि सातामा १४ वटा उडान गर्दै आएको छ । यस्तैगरी, चाडपर्वका लागि नै थाई लायन एयरले १,बिमान बंलादेशले ३ र एयर चाइनाले २ उडान थप गरेको छ । चाडपर्वका लागि मात्र सातामा ५७ वटा उडान थपिएको प्राधिकरणले जनाएको छ ।

यी कम्पनीहरुले धमाधम उडान थप गर्दा नेपाल एयरलाइन्स भने जहाज ग्राउण्डेड गरेर बसिरहेको छ । जहाजका लागि आवश्यक पार्टपुर्जा विदेशबाट आउने क्रममा रहेकोले ग्राउण्डेड गर्नु परेको निगमको भनाइ छ ।

निगमका प्रवक्ता रमेश पौडेल विभिन्न देशबाट पार्टपुर्जा आउने क्रममा रहेकोले ग्राउण्डेड गर्नु परेको धारणा राख्छन् । ‘एउटा देशबाट मात्रै पार्टपुर्जा आउने होइन, ३ वटा देशबाट पार्टपुर्जा आउने क्रममा छ, जडान भएपछि नियमित उडान हुन्छ,’ उनले भने ।

यस्तै, गत बुधबार काठमाडौंबाट साउदी अरबको दमाम उडेको निगमको न्यारोवडी जहाजको टिकासमा समस्या देखिएपछि बिचबाटै जहाज फर्किएको थियो । उडानका क्रममा समस्या देखिएपछि फर्किएको उक्त जहाज हाल ग्राउन्डेड छ । टिकास समस्या समाधान भएर शनिबार काठमाडौं–दिल्ली–काठमाडौं अवतरणपछि पछाडिपट्टिको भाग कुच्चिएकाले ग्राउण्डेड भएको निगमको भनाइ छ ।

७५ दिनसम्म ग्राउन्डेड भएर भाडाको इन्जिन जडान गरेर पुनः सञ्चालनमा ल्याएको उक्त जहाज फेरि ग्राउन्डेड बनेको हो । उक्त जहाजमा इजरायली कम्पनीको भाडाको इन्जिन जडान गरी उडान सुरु गरेको केही सातापछि पुनः उडान रोकिएको हो ।

दशैंको मुखमा धमाधम उडान बढाउनुपर्ने समयमा निगमका दुई जहाज ग्राउन्डेड हुँदा निगममाथि आर्थिक भार थपिएको छ । चाडपर्वको समय र नेपालमा पर्यटकीय सिजन सुरु हुनलाग्दा नयाँ गन्तव्य विस्तार गरेर थप आम्दानी गर्नुपर्ने समयमा निगमले उल्टो आर्थिक नोक्सानी व्यहोरिरहेको छ ।

यात्रुलाई गन्तव्यमा पुर्याएर आम्दानी गनुपर्ने निगमको जहाज बिग्रिएपछि बोडिङ पास भएका यात्रुलाई होटलमा राख्नुपर्दा थप आर्थिक भार थपिएको छ । गत शनिबार काठमाडौं–दमाम उडानका क्रममा जहाजमा समस्या आएर रोकिएपछि दुई तर्फका यात्रुको भार निगमले ब्योहोर्नु परेको थियो ।

यस्तै, निगमको अर्काे वाइडबडी अन्नपूर्णको इन्जिन ब्लेडको साइकल सकिनै लागेको छ । साइकल सकिनै लागेको भन्दै उक्त जहाजको काठमाडौं–नारिता मात्रै उडान गर्दै आएको छ ।

Share News