मन्थली–लुक्ला उडान ५ दिनदेखि ठप्प, २ सयभन्दा बढी फ्लाइट क्यान्सिल

<p>काठमाडौं । ​खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाई उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक उड्डयन प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिवारदेखि बुधवारसम्म दुई सयभन्दा बढी उडान स्थगित भएका छन् । सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने [&hellip;]</p>

काठमाडौं । ​खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाई उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतीक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिवारदेखि बुधवारसम्म दुई सयभन्दा बढी उडान स्थगित भएका छन् ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख अशोक थापाले बताए ।

पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिरहेका थिए । तर अहिले हेलिकप्टरका लागि पनि भिजिविलिटी कम भएको उनले जानकारी दिए ।

प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् ।

‘सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्’, उनले भने, ‘शनिवारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।’​

लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । ‘अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ’, थापाले भने ।

यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् ।

हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । यसअघि दोलखाको जिरीबाट पैदल हिँडेर लुक्लासम्म जाने गरेका पर्यटक अहिले सुविधा थपिएसँगै जहाज र हेलिकप्टरमा जानेआउने गरेका हुन् ।

सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख थापाले बताए ।

निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि  चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् ।

काठमाडौंबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौंदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ । रासस

Share News