जाजरकोट भूकम्प पीडितलाई कैशाल हेलिकप्टरले १० लाख सहयोग गर्ने

काठमाडौं । कैलाश हेलिकप्टरले जाजरकोट भूकम्प पीडितको लागि राहात स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सहयोगको लागि मातहतका कम्पनीहरुलाई आह्वान गरेपछि उक्त कम्पनीले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । ‘विभिन्न किसिममा कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको हाम्रो कम्पनीले जाजरकोट भूकम्प पीडितलाई राहात वितरण गर्नको लागि राज्यको विपत कोषमा दश लाख रुपैयाँ सहयोगको घोषणा गरेका छौं’ कम्पनीका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले भने । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । भूकम्पबाट धेरै घरहरु भत्केका छन् । सयाैं मानिसहरु घाइते भएको हुन सक्ने प्रारम्भिक विवरणहरु आएका छन् । घाइतेको शिघ्र उपचार र पीडित परिवारहरुलाई आपत्कालिन सहयोगको लागि सरकारको राज्य कोषमा सहयोग गर्न लागिएको पाण्डेले बताए । त्यस क्षेत्रको पुर्ननिर्माणमा पनि सबै पक्षको सहयोग आवश्यक हुने उनले बताए ।

प्रदेशको पञ्चवर्षीय योजनामा समावेश गर्न पर्यटन र कृषिमा मनाङवासीको जोड

मनाङ । हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित पार्ने गरेका छन् । आन्तरिक पर्यटनको बिस्तार भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पाइन्छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार विगत ६ महिनामा ९ हजार ७ सय २८ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् । विदेशीबाहेक आन्तरिक पर्यटक पनि मनाङ उत्तिकै सङ्ख्यामा आउने गर्दछन् । तर, पूर्वाधार विकास नहुँदा यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । यहाँ पर्यटन पूर्वाधार निर्माण र वैकल्पिक पदमार्ग बनाउन व्यवसायीले सरकारसँग माग गरिरहेका छन् । उनीहरुले सरकारी निकायका कोही मनाङ भ्रमणमा जाँदा यो समस्या सुनाइहाल्छन्। शुक्रबार मनाङको सदरमुकाम चामे बजारमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको टोली मनाङ पुग्दा मनाङवासीको यही गुनासो थियो । गण्डकी प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना निर्माणको काममा जुटेको छ । यसका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले मुस्ताङका सरोकारवालासँग छलफल गरिसकेको छ । सोही विषयमा छलफल गर्न आयोगको टोली मनाङ आएको हो । अन्तरक्रियामा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङले मनाङको समृद्धि र विकासमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहने बताए । ‘मनाङ विकासको मेरुदण्ड भनेकै पर्यटन क्षेत्र हो । यसका लागि प्रदेश सरकारले बनाउन लागेको पञ्चवर्षीय योजनामा यहाँको पर्यटन क्षेत्रले महत्व पाउनुपर्छ,’ उनले भने, ‘यहाँ अन्नपूर्ण चक्रीय पदमार्ग, तिलिचो ताल, एक हजार वर्ष पुराना गुम्बा छन् यसलाई कसरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने भन्ने कुरा पञ्चवर्षीय योजनामा समेटिनु जरुरी छ ।’ सांसद गुरुङले मनाङमा पर्यटनसँगै कृषि र जलविद्युत्मा पनि सम्भावना रहेको बताए। नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि पर्यटन नै जिल्लाको चिनारी रहेको बताए। ‘विसं २०७८ असारमा आएको बाढीले हाम्रो पालिकाको धेरै पर्यटकीय क्षेत्रको पूर्वाधार बगाएको छ । यहाँ पदमार्ग पनि छैन । यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ,’ अध्यक्ष गुरुङले भने, ‘यहाँ पर्यटनसँगै कृषि, पशु र जडीबुटी पनि मुख्य सम्भावना भएको क्षेत्र रहेकाले यसतर्फ ध्यान पुग्नुपर्छ । त्यसैले प्रदेशको पञ्चवर्षीय योजनामा जडीबुटी खेती र प्रशोधन केन्द्र समेट्न जरुरी छ ।’ मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटकको सङ्ख्या बढाउन आफ्नो पालिकाभित्र रहेको जिल्लाको एक मात्र हुम्दे विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए। नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने अनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आवश्यक रहेको बताए । कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले अन्तरक्रियापछि मनाङबाट प्रदेश समृद्धिका लागि धेरै राम्रा सुझाव आएकाले छलफलका विषय दोस्रो पञ्चवर्षीय योजनामा समेटेर अघि बढ्ने बताए । रासस

‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौंमा सुरु

काठमाडौं । नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ पहिलोपटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको दुईदिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दाबढी ‘वेडिङ अर्गनाइजेसन’कम्पनीको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन आज ‘बिजनेस टु बिजनेस’(बिटुबी) कार्यक्रम आयोजना गरिएको छ । बिटुबीअन्तर्गत नेपाल र भारतका सरोकारवालाबीच व्यावसायिक प्रवर्द्धनका कार्यक्रम तय भएको बताइएको छ । नेपाललाई वेडिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । ‘धेरैभन्दा धेरै भारतीयलाई नेपालमा आइ विवाह गर्न कसरी आकर्षित गर्ने तथा विवाहका लागि कपडा र गरगहना सहजरूपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो,’ उनले भने। भारतीयले विवाहमा सुन र साडी बढी प्रयोग गर्ने भएकाले उनीहरूका सामान सहजरूपमा यहाँ ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने डा. रेग्मीको विश्वास छ । भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना भएकाले पहिलोपटक नेपाललाई गन्तव्यका रूपमा रोजिएको बताए। उनले यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुद तुल्याउने र व्यावसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकअप’सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारीको अवसर प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । सम्मेलनमा नेपालका पाँचतारे र चारतारे होटल तथा लक्जरी रिसोर्टको सहभागिता छ । त्यस्तै पर्यटन विभाग, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा भारतका चर्चित कलाकार अमिताभ बच्चन, ऐश्वर्या राय तथा चर्चित व्यवसायी मुकेस अम्बानीको विवाह गराउने कम्पनी पनि सहभागी रहेको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार नेपालका पाँचतारे र चारतारे सबै होटलमा विवाह गराउन सकिन्छ । नेपालमा विवाहपछि तारे होटलमा पार्टी दिने प्रचलन छ तर भारतमा विवाह नै विदेशमा गएर गर्ने चलन छ । कतिपय सम्भ्रान्त परिवारका विहेहरू वर्षमा करिब एक हजारको थाइल्याण्डमा तथा नेपालमा वार्षिक एक सय हाराहारीमा यस्ता विवाह हुने गरेका छन् । यस्ता विवाहमा मध्यम परिवारले एकदेखि १० करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्यांक भेटिन्छ । वेडिङ समिट ‘माइस टुरिजम्’को महत्वपूर्ण अङ्ग भएकाले आगामी दिनमा नेपालमा ठूला अन्तर्राष्ट्रिय ‘इभेन्ट’मार्फत गन्तव्य प्रवर्द्धन गर्ने बोर्डको योजना रहेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए। यस किसिमको कार्यक्रमले विवाह पर्यटनका रूपमा पनि नेपाल गन्तव्यको प्रचारप्रसारका साथै आर्थिकरूपमा समेत नेपाललाई फाइदा पुग्ने आयोजकको विश्वास छ । आगामी दिनमा यो सम्मेलनलाई वार्षिकरुपमा थप व्यवस्थित ढङ्गले आयोजना गर्ने बोर्डको योजना छ ।