रिग र तिलाचन तालमा पर्यटकको चहलपहल बढ्यो

बागलुङ । शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारी छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेका छन् । दुवै ताल फरकफरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । तिलाचन तालले बागलुङ र रोल्पाको सिमाना पछि छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हुँदै यी तालमा पुग्न सकिन्छ । दुवै ताल फरकफरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । तिलाचन तालले बागलुङ र रोल्पाको सिमाना पछि छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हुँदै यी तालमा पुग्न सकिन्छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने लोकमार्गमै पर्छ । यहाँदेखि रिगताल १५ मिनेट र तिलाचन ताल ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । चिसो मौसम, सिरसिर हावा चलिराख्नु र शान्त वातावरण यहाँको विषेशता हो । करिब तीन हजार तीन सय मिटरको उचाइमा पर्ने रिग र तिलाचन ताल एउटै ‘रेन्ज’ मा पर्छन् । आधादशक अगाडिसम्म सुनसान रहेका दुवै ताल अहिले पर्यटकको रोजाइमा पर्न थालेका छन् । यतिबेला चाडपर्वको बिदा छ । त्यसले गर्दा क्याम्पस, विद्यालय तथा विभिन्न सङ्घसंस्था बन्द छन् । यो समयमा यहाँ दैनिक एक सयबढी पर्यटक आउने गरेको पाइएको छ । पहिले गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रुपमा रहेका यी क्षेत्रमा अहिले दैनिक पर्यटक पुग्छन् । तीन वर्ष अगाडि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै रिग र तिलाचन ताल चर्चामा आएका हुन् । रिग ताल पातीहाल्नेदेखि नजिक रहेको हुँदा बढी पर्यटक पुग्ने गरेका छन् भने तिलाचनमा केही कम पुगेका छन् । दुईवटै तालमा पहिले गोठालाले खानेपानी भर्ने गर्थे । बाह्रै महिना यहाँ फाट्टफुट्ट पर्यटक पुग्ने गरे पनि यो सिजनमा बढी आएको स्थानीय भीमबहादुर घर्ती मगरले बताए । १५ दिनदेखि दैनिक दुई समयको हाराहारीमा यहाँ पर्यटक आउने गरेको उनको भनाइ छ । लोकमार्गमार्फत बढी पर्यटक गाडी तथा मोटरसाइकलमा आइरहेका घर्तीमगरले बताए । पहिले आफूहरुले गाईभैँसी र भेडाबाख्रा चराउनेबेला सुनसान रहेका रिग र तिलाचन ताल क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएको उनी बताउँछन् । ‘विसं २०३९/४० जति भयो मैले यस ठाउँमा बिताए, तर पहिले यहाँ पशुचौपाय र गोठालाबाहेक बाहिरी मान्छे आउँदैनथे, गोठाला पनि बर्खामा मात्रै बस्ने गर्थे तर अहिले देश विदेशका मान्छे आएर घुम्छन्, हामीहरुले पानी भर्ने तालमा फोटो खिच्ने, भिडियो बनाउने गर्छन्’, घर्ती मगरले भने, ‘हिउँद बर्खा जतिबेला पनि मान्छे आइराखेका छन्, ठाउँ पनि निकै राम्रो छ, दसैँ आउनुभन्दा पहिलेबाटै यहाँ मान्छे आउन थालेका थिए, अहिलेसम्म आइरहेका छन्, दिनदिनै यहाँ आउनेको सङ्ख्या बढि छ, चिसो ठाउँ छ र मान्छे घुम्न आएका छन्, यो देख्दा विकास भएको अनुभूति भएको छ ।’ रिग ताल मगर खाम भाषाबाट नामाकरण गरिएको हो । मगर भाषामा ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो गरेर जमेको भन्ने बुझाउँछ । त्यस्तै तिलाचन ताललाई गोठालाले पहिले ‘तिलाचन दह’ भन्ने गरिएको स्थानीय भीमबहादुर बताउँछन् । उनले लोकमार्गको स्तरोन्नतीपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताए । रिग तालसम्म पुग्नका लागि दुई वर्ष अगाडि नै निसीखोला गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ भने तिलाचन तालमा गोरेटोबाटो मार्फत पुग्नुपर्छ । रुकुमपश्चिमबाट घुम्न आएका विशाल विष्टले यो क्षेत्र निकै रमणीय भएको हुँदा आफू तेस्रो पटक आएको बताए । तीन वर्षदेखि लगातार दसैँ तिहारको बिदामा यहाँ आएको भन्दै यसपटक १३ जनाको समूह घुम्न आएको बताए । रिग र तिलाचन तालसँगै ढोरपाटनसम्म पुगेर फर्किने योजना बनाएर भ्रमणमा निस्किएको उनको भनाइ छ । लोकमार्ग कालोपत्र हुनुपूर्व यी तालको नाम नै नसुनेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा फोटो तथा भिडियो भाइरल हुँदै गएको विष्ट बताउँछन् । उनी भन्छन्, ‘खलाङ्गाबाट तीन-चार घण्टामै आउन सकिन्छ, बाटो पनि निकै राम्रो छ, पहिले कच्ची बाटो हुँदा समस्या थियो, बागलुङतिर आइँदैनथ्यो, सडकको स्तरोन्नतिपछि यता आइराखेकै हुन्छ, यहाँको ताल घुम्न त म तीन पटक आएँ, ताल मात्रै होइन, यहाँको डाँडापाखा, जङ्गल र खोलाले पनि धेरैलाई आइराखौँ झैँ बनाउँदोरहेछ, बागलुङबाट त आउने नै भए, रुकुम तिरबाट पनि धेरै मान्छेहरु घुम्न आएको पाइयो ।’ गुल्मीको रिडीदेखि घुम्न आएका भरत पुरीले गलकोटको गाईघाट झरना अवलोकन गरि बुर्तिबाङ बजार हुँदै रिग र तिलाचन ताल घुम्न आएको बताए । करिब १२ जनाको समूह भएर पूर्वी रुकुमको कमल दहसम्मको यात्रामा हिँडेको भन्दै लोकमार्ग नजिकै रहेको हुँदा यी दुवै ताल अवलोकन गरेको उनको भनाइ छ । दुईवटै तालसम्म पुग्नका लागि सरोकारवाला निकायले सडक निर्माण गर्न र अन्य पर्यटन पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्नसके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने पुरीको भनाइ छ । रिग तालसम्म मोटरबाटो पुगेर सहज भए पनि तिलाचन तालसम्म पुग्नका लागि पातीहाल्नेदेखि पदमार्ग निर्माण गर्नसके पर्यटकलाई थप सहज हुने उनले बताए । ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खलाको सहजरुपमा अवलोकन गर्न सकिन्छ । यहँबाट बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्यूठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ । आगन्तुक पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन् । यी तालमा पुग्न बागलुङ सदरमुकामदेखि गाडीमा साढे पाँच घण्टा, गलकोटबाट तीन घण्टा र बुर्तिबाङबाट एक घण्टामा पुग्न सकिन्छ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट करिब तीन घण्टा, पश्चिम रुकुमको सदरमुकाम खलङ्गा मुसिकोटबाट साढे चार घण्टा लाग्छ । रासस

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

  लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका थिए । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसङ्घका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा महासचिव ऊले लुम्बिनीको विकास पर्याप्त नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए । विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो । त्यस भ्रमणपछि लुम्बिनीको योजनाबद्ध विकास सुरुआत भएको मानिन्छ । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाङ्गेले राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊकै आग्रहमा लुम्बिनीको गुरुयोजना तयार गर्नुभएको थियो । उक्त गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाङ्गेले तयार पारेको गुरुयोजना ४५ वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । गुरुयोजनाअनुसार अहिलेसम्म करिब ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसपछि अहिलेसम्म संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष चासो र महत्त्वका साथ हेर्दै आएका छन् । राष्ट्रसङ्घको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । राष्ट्रसङ्घका महासचिवका रुपमा हाल एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनी भ्रमणका लागि आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । उनी आउने राष्ट्रसङ्घको छैटौँ महासचिव हुन् । महासचिव गुटेरेसको भ्रमणबाट लुम्बिनीको विकासका कोषेढुङ्गा सावित हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । ‘नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसङ्घका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पुर्‍याउन सफलता मिलेको छ’, उनले भने, ‘यसपटक पनि भ्रमणले निरन्तरता पाउने भएकाले लुम्बिनीवासीका लागि यो गौरवको विषय बनेको छ ।’ महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ समेत लुम्बिनी आउने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा लामाले जानकारी दिए । यसबाट राष्ट्रसङ्घको रोहवरमा दस वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्तिसम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए । राष्ट्रसङ्घको मुख्य उद्देश्य विश्वमा शान्तिको सन्देश पुर्‍याउनु हो । महासचिवको लुम्बिनी भ्रमणले नेपालको भूमिबाट विश्वभर शान्तिको सन्देश पुग्नु नेपालका लागि गौरवको विषय भएको उपाध्यक्ष लामाको भनाइ थियो । यस भ्रमणले अहिले विभिन्न मुलुकबीच भइरहेका युद्धलाई नेपालबाट शान्तिको सन्देश प्रभाहित हुनु नेपालका लागि अर्को गौरवको विषय हुने भएको छ । यस भ्रमणले नेपालमा अहिले देखिएको आर्थिक सङ्कटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे विश्वभर प्रचारप्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारीसमेत गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीमको औपचारिक कार्यक्रममा रहनेछन् । महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्नुहुने कोषले जनाएको छ । कोषकतर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए । महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ । रासस

दसैँ बिदामा सौराहाका होटल भरिभराउ, व्यवसायी खुसी

चितवन । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए। ‘दसैँअघि सौराहा सुनसान जस्तै थियो’, उनले भने, ‘पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन् ।’ देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैँको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए । उनले दसैँपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए । आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुनःपुरानै लयमा फर्काउने राम्रो सङ्केत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुङ्गाना बताउँछन्। उनले दसैँमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए । दसैँको टीकापछि सौराहामा झनै पर्यटकको सङ्ख्या बढेको छ । शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो । सौराहाको ड्यामसाइटका रेष्टुरेन्ट तथा होटल भरिभराउ थिए । होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मी आन्तरिकसँगै सौराहामा बाह्य पर्यटकको सङ्ख्या पनि बढेको बताए। उनले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साहा थपेको बताए। उनका अनुसार रसिया, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन् । पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ । सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । दसैँका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ । आन्तरिक पर्यटक मिता आचार्य दसैँ बिदाको समय पारेर सौराहा घुम्न आएको बताइन् । उनले सौराहामा रहँदा निकुञ्जमा जीप सफारी र राप्ती नदीमा ढुङ्गा सयर गरेको बताइन् । पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक पर्यटक मात्र होइन अहिले विदेशी पर्यटक पनि सौराहामा देखिन थालेका छन् । उनीहरु सौराहा र चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न पाउँदा खुसी छन् । अमेरिकाबाट घुम्न आएकी पर्यटक एन्जेला भन्छिन्, ‘चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरुङ्गीले मन लोभ्यायो । यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भयो ।’ पछिल्लो समय आन्तरिक पर्यटकले धान्दै आएको सौराहाका पर्यटनमा स्तरीय होटलको अभाव खड्किदै गइरहेको छ । त्यही अभावलाई पूर्ति गर्न विदेशी पर्यटकलाई लक्षित गर्दै सिद्धार्थ भिलासा वनबासजस्ता रिसोर्ट पनि खुलेका छन् भन्ने अन्य खुल्ने तयारीमा छन् । सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल रहेका छन् भने ५० भन्दाबढी रेष्टुरेन्ट रहेका छन् । सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै डुङ्गा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन् ।