मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान तीन वर्षअघि सुरु गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ फूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन् । यसका लागि आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पूरा गर्ने गरी सुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए । किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी तर, साझा परिकल्पना गरिएको थियो । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि यस वर्ष प्रदेश सरकारबाट एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको जनाइएको छ । आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । ‘सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ’, उनले भने, ‘फूलको बगैँचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको नेतृत्व नगरपालिकाले गरेको छ । भविष्यमा यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।’ दिक्तेलस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली रहेको छ । उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढीवरिपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । उच्च हिमश्रृङ्खला तथा तराईका समथर भू–भागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् । मझुवाको अर्थमाझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ । माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबीएलएल परियोजनाको ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २० लाखको लागतमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको नगर उपप्रमुख विशन राईले बताए । ‘मझुवागढी हाम्रो ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो । मझुवागढीलाई संरक्षण र विकास गर्न नगरपालिका लागिपरेको छ’, उनले भने ‘मझुवागढीको चौतर्फी विकासमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि सकारात्मक देखिनुभएको छ । उहाँले आफैं आएर स्थलगतरूपमा अवलोकन भम्रण गर्नुभएपछि २० लाख बजेटसमेत उपलब्ध गराउनुभएको छ । यसले हाम्रो अभियानलाई ठूलो सहयोग पुगेको छ ।’ मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले प्रवेशद्धार, पदमार्ग निर्माण, खानेपानीको व्यवस्थालगायतका भौतिक पूर्वाधार निर्माणको गरेको छ । मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान सामाजिक सञ्जालमा देखेर विभिन्न क्षेत्रका व्यक्तिले आफू पनि सहभागी हुन पाउनुपर्ने अनुरोध आउने गरेको नगर प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले जानकारी दिए । रासस

गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन् । चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन् । विश्व तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लदै गएको सम्बन्धमा महासचिव गुटेरेसले विशेष चासो व्यक्त गरेका हुन् । उनले सोमबार सगरमाथा क्षेत्रको भ्रमण गरी सो क्षेत्रमा जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका स्थानीय समुदायसँग कुराकानीसमेत गरेका छन् । महासचिव गुटेरेसले खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग आगामी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका समस्या र सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशहरुको भूमिका रहेको तर खुम्बु पासाङल्यामु गाउँपालिका जस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताएका थिए । यसैगरी महासचिव गुटेरेसले आज अन्नपूर्ण आधारशिविर पुगेर नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गरे । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिरहेको जलवायु परिवर्तनको असर न्यूनिकरणमा सहयोग गर्न आग्रहसमेत गरे । जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ । कोप–२८ आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले महासचिव गुटेरेसले भ्रमण क्रममा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिनुभएकाले कोप–२८ मा नेपाललाई आफ्ना मुद्दा उजागर गर्न सहज हुने बताए। मन्त्री महतोले भने, ‘महासचिव गुटेरेसले हिमालको महत्व दर्शाउँदै हिमाल पग्लिने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले हिमालको मुद्दालाई विश्वको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो हाम्रो लागि सकारात्मक पक्ष हो ।’ कोप–२८ मा नेपालले हिमाल र पर्वतीय मुद्दाका साथै जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि नोक्सानीका लागि कोषको व्यवस्थापन, उत्सर्जन कटौती र समावेशीतालगायत सवाल प्राथमिकताका साथ उठाउने तयारी गरेको मन्त्री डा महतोले जानकारी दिए । वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले नेपालको संवेदनशील भू–वनोटका कारण जलवायु परिवर्तनको जोखिम पनि बढ्दो रहेको बताए । उनका अनुसार विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा त्यसको असर एक दशमलव आठ डिग्री तापक्रमसम्म बढेको पछिल्लो अध्ययनले देखाएको छ । ‘यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण हुनु र उहाँले सबै छलफलमा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिनु हाम्रा लागि सकारात्मक कुरा हो । यसले कोप–२८ मा हामीलाई हिमालमा जलवायुले पारेको असरका मुद्दा उठाउन पक्कै सहज हुनेछ’ सहसचिव पौडेलले भने । विगतका तीन/चार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इमिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा अरुणभक्त श्रेष्ठले बताए । उनले भने, ‘यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीब्र बढिरहेको छ । यो निकै संवेदनशील विषय हो ।’ विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखिएको छ । वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा श्रेष्ठले पेरिस सम्झौताअनुसार विश्व तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियमा सीमित गर्न सफल भए पनि यो शताब्दीको अन्त्यसम्ममा नेपालको एक तिहाइ हिमनदीको आयतन घट्ने बताए। ‘जलवायु परिवर्तनले उच्च पहाडी र हिमाली क्षेत्रमा अति वृष्टिको क्रम बढेको छ । कहिले पानी नपर्ने स्थानमा पनि पानी पर्न थालेको छ’, उनले भने, ‘हिन्दूकुश क्षेत्रको हिमालमा पर्ने जलवायुको असरले प्रत्यक्ष र अप्रत्यक्ष गरी विश्वको एक चौथाइ जनसङ्ख्या प्रभावित हुनेछ ।’ हाल नेपालमा सम्भावित जोखिमा रहेका तालको सङ्ख्या २१ छ । चीनको तिब्बतमा रहेका २५ र भारतको एक हिमताल फुट्दा पनि त्यसको जोखिम नेपालमा पर्ने देखिन्छ । नेपालमा हिमतालको सङ्ख्या दुई हजार ७० छ । जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्रमा प्रभाव पारेको बताए । उनले सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमासमेत प्रभाव परेकाले यो विषयमा सबै मिलेर विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले भने, ‘हामीले पनि स्थापनाकालदेखि नै जलवायु न्यायका पक्षमा वकालत गर्दै आएका छौँ, जलवायुको असर महिला, बालबालिका र स्थानीय समुदायमा बढी परेको विदितै छ । हामीले यसको क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराउनुपर्छ । महासचिव गुटेरेसको नेपाल भ्रमणले यो विषय आगामी जलवायु सम्मेलनमा उजागर गर्न सहज हुने विश्वास सकिन्छ ।’ रासस

चर्चामा आउन थाले ओझेलमा परेका पर्यटकीय गन्तव्य, चर्चित भएर पनि ओझेलमा

बागलुङ । पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् । नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन । तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए । पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उनको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उनको भनाइ छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्र्याउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताए । अध्यक्ष खड्काले भने, ‘सामाजिक सञ्जालले पनि धेरै ओझेलमा रहेका ठाउँलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको छ ।’ बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उनले बताए । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उनी बताए । आचार्यले भने, ‘यो ठाउँ पहिला सुनसान, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छे आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरूका लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।’ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताए । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उनको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उहाँले बताए । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताए । ‘धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएरमात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेलामात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्’, उनले भने, ‘जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ-ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।’ चर्चित भएर पनि ओझेलमा बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् । त्यहाँसम्म पुग्ने सडक तथा पैदलमार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताए । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उनी बताए । स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताए । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उनी बताए । पहिले कहिलेकाहीँ पैदलयात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहोको उनले जानकारी दिए । तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा रहेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ । रासस