लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा निर्माण सुरु
लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो । नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ । उक्त गुम्बा रु ३० करोडको लगानीमा निर्माण गरिने रुसी गुम्बा नेपालका संयोजक ई।प्रवीण गौचनले जानकारी दिए । लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य रहेको उनले बताए । रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएका भिक्षुहरुबाट गरिएको बौद्ध पाठ परायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले गुम्बा शिलान्यास गरेका थिए ।पाठ पारायण गर्ने भिक्षुहरुमा बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमन थिए । रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल निर्माण सुरु गरिएको साढे दुईतले उक्त गुम्बा रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचना अनुरुपको हुनेछ । शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले नेपाल र रसियाबीच मैत्री सम्बन्ध एवं संस्कृति आदानप्रदान गर्ने उद्देश्यले बुद्धको जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरु गरिएको बताए । उनले शान्तिको सन्देश दिने बुद्धभूमि लुम्बिनीले नेपाल र रसियाबीचको सम्बन्ध थप प्रगाढ बनाउने पनि जानकारी गराए । रूस नेपाल मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गराउने यो प्रयासले संस्कृति संरक्षणका साथै बुद्धभूमि नेपालको पहिचान थप उजागर गर्ने उल्लेख गरे । रूसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्तिको स्रोत राष्ट्र बन्नसक्ने बताए । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्तिको सन्देशलाई संसारभरका मानव जातिले महत्वका हेर्ने बताए । नेपालका तर्फबाट रुसका लागि पूर्वराजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध, आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रुपमा रहेको बुद्ध भूमिको महत्व बढाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले यस कार्यमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको जानकारी गराए । बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका उनको भनाइ थियो । लुम्बिनी विकास कोषका अनुसार ४० देश तथा सङ्घसंस्थाले यहाँ संरचना निमार्णका लागि सम्झौता गरेका छन् । रासस
मानुङकोटमा पर्यटकको चहलपहल, दैनिक एक हजार पर्यटक घुम्न आउने
तनहुँ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ । जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले जानकारी दिए । बास बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य हेरेर भरपुर मनोरञ्जन लिने गररेको उनले बताए । दमौली बजार आसपासका बासिन्दा सूर्योदय हेर्न त्यहाँ पुग्ने गर्दछन्। अन्य दिनको तुलनामा बिदाको दिन अझ बढी मानिसको भीड लाग्ने गर्दछ । मानुङकोटका होटलमा बास बस्ने पर्यटकको माग दैनिक तीन सयदेखि चारसयसम्म हुने गरे पनि मुस्किलले एक सयदेखि एक सय ५० जनासम्म व्यवस्थापन गर्न सकिएको होटल व्यवसायी दाहालले बताए । पानीको चरम अभावका कारण कतिपय पर्यटक सदरमुकाम दमौलीमा गएर बास बस्न गरेको उनले भनाइ थियो । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । हाल उक्त क्षेत्रमा व्यावसायिक रुपमा करिब एक दर्जनको हाराहारीमा होटल सञ्चालन हुँदै आएका छन् । उक्त क्षेत्रमा जाने सडक कालोपत्र र खानेपानीको राम्रो व्यवस्था गर्न सकिए पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा होटल व्यवसायीको रहेको छ। मानुङकोटमा प्रहरी चौकी स्थापना गर्न स्थानीयवासीले माग राखेका छन् । पर्यटन प्रवद्र्धनका लागि मानुङकोट प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल भएको व्यास-५ वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । पानीको समस्यालाई समाधान गर्न सोही वडाको सिर्दिबाट पानी लिफ्ट गर्न दुई करोड विनियोजन भइसकेको व्यास नगरपालिकाले जनाएको छ । तिहारलगत्तै पानीको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने वडाध्यक्ष श्रेष्ठले बताए । “दैनिक सात सयदेखि एक हजारको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्”, उनले भने, “पर्यटकको सहजताका लागि आठ किमीमध्ये करिब पाँच किमी सडकमा कालोपत्र गरिसकिएको छ ।” बाँकी सडकमा कालोपत्र गर्न व्यक्तिको जग्गा विवादका कारण रोकिएकाले छलफलका माध्यमबाट सहमतिको प्रयास भइरहेको उनले बताए। मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटलहरु खुुल्ने क्रम पनि बिस्तारै बढ्दै गएको पाइन्छ । व्यास नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष सहिद दिवसका दिन मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगितासमेत गर्दै आएको छ। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु हिमाललगायत हरियाली डाँडाकाँडा र समथर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप
फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । ‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उनले भने । महापबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए । दसैँको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । असोज ३० गते एकसय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ । तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो । उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ । आन्तरिकतर्फ दैनिक दुई तर्फी गरेर तीन सय उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो जाडो यामको नयाँ उडान तालिकामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ । विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए ।