दिदीले घर ल्याउने डलर देखेर पर्यटनमा होमिएकी जिस्वाँ

<p>काठमाडौं । तीन दशकअघि मकवानपुर भीमफेदीकी एक चञ्चल स्कुले बालिकाको मनमा विदेशी पर्यटकसँग बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । स्कुल पढ्दै गर्दा मनमा बहकाएको कुरोलाई उनी फत्ते गर्नतिर लागिन् । कक्षा ७ सकिनासाथ सिधै काठमाडौं लागिन् । दरबार हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण गरेपछि विदेशी पर्यटकसँग बोल्न पाए हुन्थ्यो भन्ने उनको स्कुले विचारले मूर्तरूप लिने [&hellip;]</p>

काठमाडौं । तीन दशकअघि मकवानपुर भीमफेदीकी एक चञ्चल स्कुले बालिकाको मनमा विदेशी पर्यटकसँग बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । स्कुल पढ्दै गर्दा मनमा बहकाएको कुरोलाई उनी फत्ते गर्नतिर लागिन् । कक्षा ७ सकिनासाथ सिधै काठमाडौं लागिन् । दरबार हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण गरेपछि विदेशी पर्यटकसँग बोल्न पाए हुन्थ्यो भन्ने उनको स्कुले विचारले मूर्तरूप लिने छाँट देखियो ।

कक्षा १२ सकिनासाथ उनले मुक्तिनाथ कार्गोमा जागिर सुरु गरिन् । बरु ट्राभल एजेन्सीतिर जागिर खान पाए, पैसा पनि कमाइने र विदेशी पर्यटकसँग पनि बोल्न पाइने भएपछि उनले त्यसबेलाको नाम चलेको र ठूलो ट्राभल कम्पनी मल्ल ट्राभलमा जागिर पाइन् । अब भने उनको सपना पूरा हुने छाँट देखियो ।

बाल्यकालमा देखेको सपनालाई विपनामा परिणत गरी छाडिन्, तिनै चञ्चल स्कुले बालिकाले । र, रहँदा बस्दा त्यही सपनालाई पेसा नै बनाएपछि भने विदेशीसँग बोल्ने मात्र होइन, तिनलाई नेपाल घुमाउन ल्याउने र नेपालीलाई विदेश घुमाउन लैजाने केही गिनेचुनेका ट्राभल कम्पनी सञ्चालकमध्ये पर्न सफल भइन् ।

उनी हुन् जिस्वाँ तुलाधर श्रेष्ठ । जिस्वाँ पर्यटन उद्योगमा चिनाइरहनु पर्ने नाम होइन । उनलाई अधिकांशले ‘नेपालीलाई विदेश घुमाउने सफल पर्यटन महिला व्यवसायी’ का रूपमा चिन्छन् । जिस्वाँले नेपालीलाई विदेश घुमाउन थालेको डेढ दशक भइसकेको छ । पर्यटन उद्योगमै दत्तचित्त भएर लागि परेको पनि साढे दुई दशक हुन लागिसक्यो ।

विभिन्न ठूला ट्राभल कम्पनीमा काम गरेको अनुभवलाई व्यवसायमा परिणत गर्न धेरै मिहिनेत गरेकी जिस्वाँले अन्ततः १७ वर्षअघि ‘स्वाँ होलिडेज’ ट्राभल कम्पनी खोल्न सफल भइन् । त्यसपछि पछाडि फर्केर नहेरेकी उनी सारा जीवन पर्यटनमै बिताउने सुरमा छिन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी जिस्वाँ साढे दुई दशकदेखि मुलुकको आन्तरिक तथा वाह्य पर्यटनमा सक्रिय छिन् । उनले हजारौं विदेशी पर्यटकलाई नेपाल र हजारौं नेपालीलाई संसारका धेरै देश घुमाइसकिन् ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष रुचि राख्ने जिस्वाँ आफैं एक सक्रिय पदयात्री समेत हुन् । नेपालका विभिन्न पदयात्रा क्षेत्रमा उनले पर्यटकलाई मात्र होइन, आफैं पनि ‘सोलो ट्राभलर र सोलो ट्रेकर’ भएर भ्रमण गरिसकेकी छिन् ।

एडभेन्चर टुरिज्म (साहसिक पर्यटन) र स्पोर्ट्स टुरिज्म (खेल पर्यटन) मा दक्खल राख्ने जिस्वाँको परिचय यतिमै सकिँदैन । उनले ‘अटो एसिया जिमखाना च्याम्पियनसिप’ मा पहिलो नेपाली महिला चालक भएर सन् २०१८ मा सहभागी भई नेपाललाई पदक दिलाउन पनि सफल भएकी थिइन् ।

अझै ‘सोलो उमन ट्राभलर च्यालेन्ज’ मा समेत भाग लिई अन्नपूर्ण आधार शिविरसम्मको विजेता जिस्वाँ सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । महिला सशक्तिकरण एवं महिला सहभागितामैत्री पर्यटन क्षेत्रको अभियन्ता उनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई एकै छातामुनि ल्याउने उद्देश्यले आफ्नै पहलमा ‘टुरिज्म सिस्टरहुड नेपाल’ स्थापना गरिन् ।

उनले यो संस्थाको संस्थापक अध्यक्ष बनेर पर्यटन क्षेत्रमा रहेका महिलालाई खुलेर र केही गर्ने आत्मविश्वाससाथ अगाडि आउन सधैं घच्घच्याइरहिन् । अहिले उनी यसको निवर्तमान अध्यक्ष भए पनि पर्यटनमा महिलालाई अगाडि बढाउने र प्रोत्साहन दिने काम भने जारी राखेकी छन् ।

जिस्वाँ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यसमितिमा रहेर पनि वर्षौं काम गरिन् । उनी अहिले नेपाल अटोमोबाइल्स एसोसिएसनको कार्यकारी सदस्य समेत छिन् ।

जिस्वाँले भीमफेदीको महेन्द्र हाइस्कुलमा कक्षा ७ सम्म अध्ययन गरेकी थिइन् । आमा शिक्षिका भएकाले जिस्वाँलाई पनि बाल्यकालमा आमाजस्तै शिक्षक हुन्छु भन्ने पनि लाग्थ्यो । पाँच दिदी–बहिनीमध्येकी माहिली उनले वि.सं २०५१ सालमा एसएलसी (हालको एसईई) पास गरिन् ।

जिस्वाँका श्रीमान सुरज श्रेष्ठ मेगा एडभर्टाइजिङ एजेन्सीमा फिल्म सम्पादनको काम गर्थे । उनले सुरजलाई मेगामै भेटेकी हुन् । उनी मल्ल ट्राभलमा काम गर्नुअघि खाली बसिरहेकी थिइन् । यत्तिकै समय खेर फाल्नुभन्दा ग्राफिक डिजाइन सिक्छु भन्ने लागेर उनी पनि मेगामै जाने गर्थिन् ।

‘मेगामा ग्राफिक्स सिक्न जाँदा उहाँसँग मेरो चिनजान भयो, त्यसपछि चार वर्षसम्म हामी साथीकै रूपमा रह्यौं । अनि, एक वर्ष प्रेम सम्बन्धमा रहेपछि र अबको जिन्दगी हामी सँगै बिताउन सक्छौं भन्ने लागेपछि सन् २००१ मा विवाह बन्धनमा बाधियौं,’ जिस्वाँले विगत स्मरण गर्दै भनिन् ।

कक्षा १२ को परीक्षा सकिएपछि जिस्वाँले मुक्तिनाथ कार्गोबाट पहिलो जागिर सुरु गरिन् । त्यसपछि मल्ल ट्राभलमा काम गर्न थालिन् । उनकी दिदी पनि बसन्तपुरस्थित फिसटेल ट्राभल एजेन्सीमा काम गर्थिन् । दिदीले कहिलेकाहीँ घरमा अमेरिकी डलर ल्याउने गर्थिन्, त्यो डलरले जिस्वाँलाई खुबै आकर्षित गथ्र्यो । यो पेसामा त धेरै पैसा कमाइने रहेछ भन्ने लाग्न थाल्यो उनलाई ।

सानो छँदा आमा शिक्षिका भएकाले उनलाई पनि शिक्षिका बन्छु भन्ने लाग्थ्यो । तर, उनले कक्षा १० पढ्दा नै दिदीले ट्राभल एजेन्सीमा काम गर्ने र डलर कमाएको देख्दा उनलाई पनि त्यसले आकर्षित गरेको थियो । त्यसपछि उनलाई विदेशी पर्यटकसँग बोल्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । उनीहरूसँग घुलमिल हुन थालेपछि उनी पर्यटन क्षेत्रमा लागिन् । त्यसमा पनि ‘कमिसन’ वापत पैसा आउने भएकाले उनको आकर्षण बढ्दै गयो ।

जागिर मात्रै गर्दा आफ्नो मात्र जिम्मेवारी निभाए हुने उनको अनुभव छ । त्यसमा पनि आफू सीमित क्षेत्रमा रहेर काम गर्नुपर्ने र आफूसँग भएका आइडिया उपयोग गर्न नपाउनु जागिर गर्दाको उनको अर्को नमिठो अनुभव हो ।

‘हामीले काम गर्ने क्षेत्रमा एकदमै नेपोटिज्म (नातावाद) छ । प्हिला पनि थियो र अहिले पनि छ नै,’ जिस्वाँ भन्छिन्, ‘त्यतिबेला काम गर्दा आफ्नो आइडिया सेयर गर्दा आपूmभन्दा माथिल्लो पोस्टमा रहेकाले ती कुरा दबाउने गर्थे ।’

जिस्वाँले आफ्नै व्यवसाय गर्छु भनेर कुनै योजना भने बनाएकी थिइनन् । जागिर गरेर मात्रै प्रगति हुन सक्दैन भन्ने उनलाई लाग्न थाल्यो । ट्राभल एजेन्सीमा काम गरेकी उनलाई द्वन्द्वकालमा आर्थिक संकट पनि भयो र उनलाई आधा तलबमा काम गर्नुपर्ने अवस्था पनि आयो ।

विवाहपछि जिम्मेवारी थपियो । उनी आधा तलबमा काम नगर्ने निर्णयमा पुगिन् र काम छाडिन् । त्यसपछि उनको छोरी जन्मिइन् । छोरी जन्मेको दुई महिनामा उनलाई सिएन्डके ट्राभलबाट कामको अफर आयो । उनले त्यहाँ नौ महिना काम गरिन् । जुनसुकै ट्राभल कम्पनीमा पनि काममात्रै गर्नुपर्ने र आफूसँग भएको आइडियाले स्थान नपाउने, नेपोटिज्म, ग्रुपिज्म धेरै हुने भएपछि त्यहाँबाट राजीनामा दिइन् । बोल्न, घुम्न मन पराउने जिस्वाँलाई आफूसँग भएका आइडियाले पनि स्थान पाउनु पर्छ भन्ने लाग्यो ।

त्यसपछि पाँच साथी मिलेर ‘लक्की ट्राभल’ सञ्चालन गरे । त्यहाँ दुई वर्ष सहकार्य गरेपछि उनलाई ‘अब अनुभव पनि धेरै भयो, आफ्नै कम्पनी सञ्चालन गर्नुपर्छ’ भन्ने लाग्यो । अनि सन् २००६ मा जिस्वाँले ५ लाख रुपैयाँ लगानीमा ‘स्वाँ होलिडेज’ ट्राभल कम्पनी सञ्चालनमा ल्याइन् ।

स्वाँ होलिडेज अहिले सञ्चालनमा आएको १८ वर्ष पूरा हुन लाग्यो । ‘मैले आफ्नो कम्पनी खोलेपछि पहिलो प्राथमिकतामा कर्मचारीको तलबलाई राखेँ,’ उनी भन्छिन्, ‘मान्छेले जागिर गर्ने भनेकै तलबका लागि हो । त्यो समयमा दिनु पर्छ ।’

एउटा व्यवसायीले राम्रोसँग व्यवसाय अघि बढाउन आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीका आइडियालाई पनि स्थान दिनुपर्ने उनी बताउँछिन् । ‘मैले उनीहरूका आइडियालाई पनि स्थान दिएँ,’ उनी भन्छिन्, ‘सबैलाई उचित स्थान दिएर नै मैले यो व्यवसायलाई यहाँसम्म ल्याउन सफल भएकी हुँ ।’

उनको कम्पनीमा काम गरेर बाहिरिनेहरूले अहिले आफ्नै कम्पनी चलाएर बसेका छन् । त्यो देख्दा आफूलाई पनि खुसी लागेको उनी गर्वसाथ सुनाउँछिन् ।

ट्राभल एजेन्सी सुरु गर्दा जिस्वाँ म्यानपावर कम्पनीहरूसँँग नजिक थिइन् । खासमा उनको ‘पब्लिक रिलेसन’ (पिआर) म्यानपावरमा भएकाले यो काम सजिलो हुन्छ भन्ने लागेर गरेकी थिइन् । बोल्न, घुमफिर गर्न मन पराउने उनलाई एउटा अफिस कोठामा मात्र सीमित भइरहँदा ‘अब यो तरिकाले मात्रै हुँदैन’ भन्ने लाग्यो ।

‘यसरी हुँदैन भन्ने लागेपछि बिस्तारै आफैं यात्रा गर्न थालेँ, अरू ट्राभल एजेन्सीसँग बाहिरको ट्रिप किन्न थालेँ,’ जिस्वाँ सम्झिन्छिन्, ‘म एक्लै थाइल्यान्ड, सिंगापुर घुम्न गएँ, त्यसरी चार–पाँच पटक आफू घुमेपछि नेपालीहरूलाई पनि किन नघुमाउने भन्ने सोच आयो, म आफंै घुमेपछि मेरो आत्मविश्वास पनि बढ्यो ।’

त्यसपछि उनले आफू घुमेका गन्तव्यहरू ‘सेल’ गर्न थालिन् । त्यसबेला त्यस्तो काम कसैले नगरेको उनी बताउँछिन् । ‘मैले सही समयमा त्यो काम सुरु गरेँ,’ उनी हौसिँदै भन्छिन्, ‘किनभने त्यतिबेला औंलामा गन्न मिल्ने मान्छेले मात्र टुर (भ्रमण) गर्थे । अहिलेजस्तो ट्राभल एजेन्सीमा प्रतिस्पर्धा पनि हुँदैनथ्यो । यो काम सुरु गरेपछि मैले एयरलाइन्स टिकेटिङलाई बिस्तारै छाड्दै गएँ ।’

त्यसपछि उनले कर्पोरेट हाउस (व्यावसायिक घराना, प्रतिष्ठान, ठूला कम्पनी) हरूका लागि पनि काम गर्न थालिन् । कर्पोरेटलाई पनि समेट्दै गएपछि उनको ट्राभल एजेन्सी ‘टुर ब्रान्ड’ बनेको उनी खुसीसाथ बताउँछिन् ।

‘बाहिर घुमाउन लैजानेमा सम्झिनुपर्यो भने म टप टेनमै आउँछु,’ उनी भन्छिन्, ‘अहिले त बाहिर जाने बेला सबैले मसँग सोधिरहेका हुन्छन् । अब त अनुभव र ज्ञान धेरै नै भइसक्यो ।’

तर, यसरी विदेश टुर गर्ने क्रममा उनीहरूसँग आफूसँगै जाँदा र स्टाफलाई पठाउँदा धेरै नै फरक पर्ने उनको अनुभव छ । ‘डिसिजन मेकिङदेखि लिएर नाफा घाटाको कुरा पनि हुन्छ,’ उनी भन्छिन्, ‘कति कुरामा सेक्रिफाइस (त्याग) गर्नुपर्ने हुन्छ । त्यही भएर सकेसम्म धेरै ठाउँमा म आफैं भ्याउने कोसिस गर्छु ।’

जिस्वाँले ट्राभल एजेन्सी सुरु गर्दा नै परिवारको भरपुर साथ र सहयोग मिल्यो । परिवारको सहयोग भएपछि यसका लागि धेरै दुःख गर्नु नपरेको उनको अनुभव छ । ‘मेरो परिवार नै सपोर्टिभ भएका कारण मैले त्यति धेरै दुःख गर्नु परेन,’ उनी सम्झिन्छिन्, ‘मेरी सासुआमाले नै मलाई एकदम सपोर्ट गर्नुहुन्थ्यो । सासुआमाले छोरी र घर हेर्ने भएपछि मैले आफ्नो समय कम्पनीका लागि खर्च गरेँ ।’

व्यवसाय सुरु गर्दा उनलाई श्रीमान सुरजको पनि बलियो साथ र सहयोग मिल्यो । ‘मलाई आफ्नो श्रीमानले जति अरूले बुझ्ने कुरा भएन,’ उनी भन्छिन्, ‘त्यसका लागि मैले श्रीमान, बहिनीलगायत आफन्तको सहयोग लिएकी थिएँ । कम्पनी सुरु गरेर यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नु परेको मलाई याद छैन । मैले जे काममा हात हालेँ पनि सफल नै भएँ । तर, कोभिड महामारीपछि भने अलिकति संघर्ष गर्नु परेजस्तो लाग्छ ।’

सन् ९० को दशकमा पनि नेपाली विदेश घुम्न सक्ने थिए

अहिले नेपालीहरू विदेश टुर (भ्रमण) गर्ने क्रम एकदमै बढ्दो छ । तर, अहिलेमात्र नभई नेपालीको विदेश घुम्ने हैसियत सन् ९० कै दशकमा पनि भएको जिस्वाँ बताउँछिन् ।

‘त्यतिबेला अहिलेजस्तो सूचना प्रविधिको सरल पहुँच पनि थिएन, कन्सेप्ट पनि थिएन,’ उनी भन्छिन्, ‘अहिले त घरमै बसेर विदेशका सबै गन्तव्यबारे थाहा पाउन सकिन्छ । खर्चदेखि हरेक विषयको जानकारी हुन्छ । पछिल्लो समय भूकम्प, कोभिडजस्ता महामारीपछि मरियो भने पैसा काम नलाग्ने रहेछ भनेर आफ्नै खर्चमा विदेश घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढको छ ।’

अहिलेको नयाँ कन्सेप्ट भनेको कमाउने, रमाउने र घुम्ने भन्ने छ र कर्पोरेट हाउसहरूले पनि अफरमा विदेश भ्रमण राख्ने भएकाले विदेश भ्रमण गर्नेको संख्या उल्लेख्य बढेको उनको अनुभव छ ।

नेपालीलाई विदेश घुमाउन कति सहज ?

पर्यटन व्यवसायमा बढेको प्रतिस्पर्धाले पनि अहिलेको अवस्था पहिलाजस्तो सहज नभएको जिस्वाँ सुनाउँछिन् । सरकारी तवरबाट पनि ट्राभल एजेन्सीलाई सहज वातावरण नभएको उनको भनाइ छ । कोभिडभन्दा अगाडि धेरै सजिलो नभए पनि अहिलेजस्तो अप्ठ्यारो स्थिति सिर्जना नभएको उनी बताउँछिन् ।

‘अहिलेको अवस्थामा भन्नुपर्दा रेट (मूल्य) मा प्रतिस्पर्धा हुन्छ, ट्राभल एजेन्सी बढी कर्पोरेट थोरै छन्,’ उनी भन्छिन्, ‘पहिला १ सय कर्पोरेट कम्पनीले घुमाउन लैजान्थे भने अहिले ५० कम्पनी ब्याक भइसके । आर्थिक अवस्था पनि त्यस्तै छ । अहिले धेरै कम्पनीले त्यसरी मान्छे लैजान पनि छाडिसके ।’

पछिल्लो समय ट्राभल एजेन्सी बढी भएकाले जति राम्रो सर्भिस दिए पनि रेटमा समस्या हुने उनको अनुभव छ । विदेशमा सर्भिस हेरेर रेट फिक्स हुने तर नेपालमा भने पहिल्यै रेट फिक्स हुने भएकाले धेरै समस्या खेप्नुपर्ने उनी बताउँछिन् । ‘बाहिर सर्भिस हेरेर रेट फिक्स हुन्छ,’ उनी भन्छिन्, ‘नेपालमा उल्टो छ । रेटमा एडजस्ट गरेर राम्रो सुविधा दिन सकिँदैन । राम्रो सुविधाका लागि राम्रो पैसा खर्च गर्नुपर्ने हुन्छ ।’

कोहीकोही बुझ्ने भए पनि धेरै मान्छेले यी कुरा नबुझ्ने उनी बताउँछिन् । सर्भिसका कुरा बुझाउन पनि धेरै गाह्रो भएको उनको अनुभव छ । ‘उदाहरणका लागि मैले १ लाख १५ हजार रुपैयाँमा टुर प्याकेज दिएको छु भने अर्कोले १ लाख ५ हजारमा दिन्छ,’ उनी भन्छिन्, ‘अर्को एजेन्सीले १० हजार छुट दिएपछि बुझाउन गाह्रोे हुन्छ । अब सरकारले यो प्याकेज यति रेटमा मात्रै बेच्न पाइन्छ भनेर तोकेको पनि छैन । अनि एजेन्सीहरूबीच तानातान छ ।’

विदेश जाने क्रममा नेपालका विमानस्थलमा पनि उस्तै झन्झट र दुःख दिइने उनी बताउँछिन् । ‘हामीले सबै प्रक्रिया पूरा गर्दा पनि विमानस्थलमा दुःख दिइन्छ,’ उनी गुनासो गर्छिन्, ‘एयरपोर्टको इमिग्रेसनलाई आफ्नै रुल थाहा छैन । अनि, हामीलाई उल्टो रुल लगाउँछ । सबै कुरा पर्फेक्ट हुँदा पनि कमजोरी खोज्ने, रोक्न खोज्ने अनेक गर्छन् । अर्को कुरा इमिग्रेसनका स्टाफ वेल एजुकेटेड छैनन् । त्यसले पनि गाह्रो बनाएको छ ।’

विदेश घुम्न गएका नेपालीहरू त्यहाँ पुगेपछि अनुशासनमा नबस्नाले पनि अर्को दुःख थपिने उनी बताउँछिन् । कतिबेला कहाँनेर समस्या पर्छ भनेर पूरै समय चनाखो भएर बस्नुपर्ने उनको भनाइ छ । ‘यहाँबाट जानुअघि नै विदेशका नियमबारे सिकाएर लगिएको हुन्छ,’ उनी भन्छिन्, ‘उनीहरू त्यसलाई फलो गर्दैनन् । आफ्नो जिम्मेवारी ट्राभल एजेन्सीको भन्दा पनि जाने मान्छे आफ्नै हुनुपर्छ । अरू बाँकी त एजेन्सीले पनि गरिहाल्छ ।’

नेपाली जुनसुकै देश घुम्न गए पनि त्यहाँ विदेशीले नेपालीलाई हेर्ने दृष्टिकोण फरक हुने उनको अनुभव छ । ‘उनीहरूले हामीलाई तल्लो स्तरमा हेर्छन् । सुविधा पनि जस्तो पाउनुपर्ने हो त्यस्तो पाइँदैन । नेपाली घुम्ने भनेको एसियाका देशमा हो । युरोपका देशमा हामीलाई मान्छे नै गन्दैनन्,’ जिस्वाँ दुखेसो पोख्छिन्, ‘इन्डोनेसिया, फिलिपिन्स, भियतनामजस्ता देशमा भने राम्रो सुविधा रहेको र त्यहाँ नेपालीको एकदम सम्मान हुने गरेको पाएकी छु ।’

कति खर्च लाग्छ ?

अहिलेको अवस्थामा विदेश टुर गर्दा खर्चका हिसाबमा गन्तव्यले महत्व राख्ने उनी बताउँछिन् । ‘कोही थाइल्यान्ड जान चाहन्छ भने थोरैमा ८० हजार रुपैयाँ चाहिन्छ,’ उनी भन्छिन्, ‘म सबै कुरामा एडजस्ट गर्छु भन्ने हो भने त्यतिले पुर्याउन सकिन्छ । भारतबाहेक अरू गन्तव्य जान १ लाख रुपैयाँमाथि नै खर्च लाग्छ ।’

पर्यटन व्यवसायमा राजनीति घुस्यो

निजी क्षेत्रका संघ संस्थामा पनि राजनीति हुन्छ भनेर जिस्वाँले कहिल्यै सोचेकै थिइनन् । उनी सुरुमा नाट्टामा आबद्ध थिइन् । उनलाई पर्यटन संस्था पर्यटन हितका लागिमात्रै खोलिएका हुन् भन्ने लाग्थ्यो ।

तर, पछिल्लो समय निजी संघसंस्थामा धेरै राजनीति हुने अनुभव उनी सुनाउँछिन् । ‘पछिल्लो सात–आठ वर्षमा यस क्षेत्रमा यति धेरै राजनीति छिरेको छ,’ उनी आक्रोशित हुन्छिन्, ‘त्यहाँ अहिले पर्यटन व्यवसायी आबद्ध नभएर एमाले, माओवादी, कांग्रेसलगायत विभिन्न पार्टी आबद्ध छन् । कुनै पार्टी नसमाई त्यहाँ जित्ने र भोट ल्याउन नसक्ने परिस्थिति सिर्जना गरिएका छन् ।’

पर्यटनसँग आबद्ध धेरै संस्था अहिले राजनीति गरेरै चलाइएको उनको आरोप छ । ‘पर्यटनसँग आबद्ध एउटा संस्था पाटा नेपाल च्याप्टर भने राजनीतिबाट परै छ, त्यो एउटा विशुद्ध व्यावसायिक संस्था हो भन्ने मलाई लाग्छ,’ उनी भन्छिन्, ‘पाटाले मात्र व्यवसायलाई प्राथमिकतामा राख्छ । त्योबाहेक हान, टान, नाट्टा, नेपाल पर्यटन बोर्ड सबैमा राजनीति नै राजनीति छ ।’

जिस्वाँले आफ्नै पहलमा ‘टुरिज्म सिस्टरहुड नेपाल’ नामको संघ स्थापना गरिन् । पाँच वर्षअघि स्थापित यो संस्थाका सदस्य पर्यटन क्षेत्रमा संलग्न महिलामात्र छन् । ‘यो चाहिँ महिला व्यवसायीको मात्रै संगठन हो । यहाँ कुनै किसिमको राजनीति हुँदैन । हामी यहाँ कुनै पनि किसिमको राजनीति होस् भन्ने चाहँदैनौं,’ निवर्तमान अध्यक्ष जिस्वाँ अठोट लिन्छिन् ।

उनले पर्यटन क्षेत्रमा महिला सहभागिता न्यून भएकाले महिलालाई पनि अगाडि ल्याउनुपर्छ भनेर एउटा व्यासायिक संगठनको आवश्यकता महसुस गरिन् र टुरिज्म सिस्टरहुड नेपाल जन्मिएको थियो ।

‘पर्यटन क्षेत्रमा महिला उद्यमी न्यून छन् । विभिन्न क्षेत्रमा हेर्ने हो भने महिला संख्या त धेरै होला, तर उनीहरूले महत्वपूर्ण स्थान पाएका छन् वा छैनन्, उनीहरूको क्षमताअनुसार काम भएको छ कि छैन भन्ने पनि महत्वपूर्ण छ,’ जिस्वाँ थप्छिन्, ‘जो नेतृत्व गर्ने क्षमता राख्छन् उनीहरू पछाडि परिरहेका छन् । तिनीहरूलाई पनि अगाडि ल्याउन यो एसोसिएसन स्थापना भएको हो ।’

यो एसोसिएसनको मुख्य उद्देश्य नेपालमै बसेर पर्यटन व्यवसायमा आबद्ध महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउनु हो । अर्को भनेको टुरिज्म नै पढेका युवापुस्तालाई प्राथमिकता दिनु हो ।

पर्यटन पवर्द्धन गर्न ल्याइएका नीतिले मात्रै पुग्दैन

पर्यटन उद्योगमा सरकारले ल्याएका नीति नियमले मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको उनी बताउँछिन् । सरकारले प्रभावकारी काम गर्न नसकेकाले पर्यटन क्षेत्रले राम्रो प्रगति गर्न नसकेको उनको बुझाइ छ ।

नेपालीलाई विदेशको टुर प्याकेज बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । यसरी विदेश भ्रमण प्योकजमा भ्याट लगाउँदा नेपाली पर्यटन व्यसायीले दाबी गर्न पाउँदैनन्, यसबाट नेपाली व्यवसायी घाटामा पर्ने जिस्वाँको भनाइ छ ।

‘निजी क्षेत्र सेलाएर जानुको प्रमुख कारण पनि यही हो,’ उनी भन्छिन्, ‘हामीले वर्षाैंदेखि भ्याटको मार खेप्दै आएका छाैं । अझै कति खेप्नुपर्ने हाे टुंगाे छैन ।’

नेपालमा राम्रोसँग अध्ययन गरेर नीतिनियम बनाउनुपर्छ भन्ने धारणा विकास अझै हुन नसकेको उनी बताउँछिन् । ‘सरकारले जस्तोसुकै अप्ठ्यारो नीति नियम बनाए पनि मान्छे यात्रा गर्न पनि छाड्दैन र बिजनेस गर्न पनि छाड्दैन,’ उनी भन्छिन्, ‘सरकार कसरी देशलाई नाफा हुन्छ भन्नेतर्फ सोच्दैन ।’

राम्रा पर्यटन गन्तव्यमा पूर्वाधार विकास हुन नसकेको उनी बताउँछिन् । ‘जहाँ पर्यटक आकर्षण हुने गन्तव्य छन्, त्यहाँ बाटो नै पुगेको छैन । अनि कसरी पर्यटन विकास हुन्छ ?,’ उनी प्रश्न गर्छिन्, ‘एक त त्यस्ता ठाउँमा सरकारको आँखा पुगेको छैन । अब यदि सरकारले बनाउन खोज्यो भने पनि त्यहाँका स्थानीयले अवरोध सिर्जना गर्छन् । बाटो नबनेर त हामीले कमाउन पाएका छौं नि भन्ने उनीहरूको भनाइ हुन्छ । कति धेरै राम्रा गन्तव्यमा ज्यान हातमा लिएर हिँड्नुपर्ने हुन्छ । सबै पर्यटक ट्रेकिङ गर्नमात्रै आउँदैनन् ।’

निजी क्षेत्रले मात्रै पर्यटन उद्योग धान्न सक्दैन

निजी क्षेत्रको प्रयासले मात्रै पर्यटन उद्योग धान्न असम्भव रहेको जिस्वाँको तर्क छ । तर, अहिलेसम्म पर्यटन क्षेत्रमा जति प्रगति भएको छ, त्यो निजी क्षेत्रकै योगदान रहेको उनी बताउँछिन् ।

‘मौरिसस, भियतनाम, श्रीलंका, स्वीजरल्यान्ड यी लगभग हाम्रो देशसँग मिल्दाजुल्दा छन्,’ उनी भन्छिन्, ‘तर, ती देश जाँदा साना–साना कुरा संरक्षण गरेर धेरै राम्रो पर्यटकीय गन्तव्य बनाएका छन् । हाम्रो बाटैपिच्छे छाँगा–छहरा छन्, तर त्यसको हामीले सही उपयोग गर्न सकेका छैनौं । हाम्रोमा त धेरै राम्रा गन्तव्य पुग्नै असहज छ ।’

निजी क्षेत्रले विकासका काम गर्न थाले पनि सरकारी निकायले रोक्ने गरेको उनी बताउँछिन् । ‘त्यसमाथि पनि सरकारी प्रक्रिया झन्झटिलो छ । अहिलेसम्म जे जति धानेको छ त्यो सबै निजी क्षेत्रकै योगदान हो,’ उनी भन्छिन्, ‘त्यसमाथि पनि पर्यटनमन्त्री हुने सबै ज्ञानबिनाका छन् । उनीहरू ६ महिना बढी टिक्दैनन् । यसरी त पर्यटन विकास हुन धेरै समय लाग्छ ।’

दुर्घटनामा परेपछि कार रेसिङतिर

सन् २०१६ मा जिस्वाँले हुन्डाईको क्रेटा कार किनेकी थिइन् । एक दिन काम विशेषले आफैं कार चलाएर जाँदै थिइन् । त्यही बेला उनी दुर्घटनामा परिन् । ‘मेरो त कुनै गल्ती थिएन, ज्ञानेश्वर चोकमा पछाडिबाट स्कुटरले आएर गाडीलाई ठक्कर दियो,’ उनी सम्झिन्छिन्, ‘मेरो कुनै गल्ती थिएन । तर, गल्ती गाडीको देखियो । त्यो दुर्घनापछि मलाई सबैले हेर्ने नजर पनि फरक पर्यो ।’

त्यसपछि उनले दुई वर्ष तनाव नै खेप्नुपर्यो । ‘मैले चलाएको गाडीमा आफन्तदेखि साथीभाइसम्म बस्न नखोज्ने वातावरण सिर्जना भयो, त्यो कुराले पनि मलाई एकदमै पीडा हुन्थ्यो ।’

अनि, उनलाई ‘मैले एकदम राम्रो ड्राइभर भएर देखाउनु पर्छ’ भन्ने लागिरहन्थ्यो । उनी सन् २०१७ मा नेपाल अटोस्पोर्ट्स क्लबले आयोजना गरेको राष्ट्रिय अटो जिमखानामा सहभागी भइन् । त्यहाँ उनी प्रतियोगितामा भाग लिनुभन्दा पनि अनुभवका लागि खेलेकी थिइन् ।

‘सन् २०१७ मा नेपाल अटोस्पोर्ट्स क्लबले आयोजना गरेको राष्ट्रिय अटो जिमखानामा सहभागी भएकी थिएँ ,’ उनी भन्छिन्, ‘प्रतिस्पर्धी हुनुभन्दा पनि अनुभवका लागि खेलेकी थिएँ । त्यस प्रतियोगिताबाट मैले धेरै सिक्न पाएँ ।’

जिस्वाँ अटोस्पोटर्सकी एकमात्र नेपाली महिला खेलाडी हुन् । साहसिक खेलको एउटा विधाका रूपमा रहेको मोटर स्पोर्ट्समा उनले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् भने एउटामा तेस्रो भएकी थिइन् ।

त्यसपछि उनले अटो स्पोटर्स खेलबारे रुचि राख्न थालिन् । यो खेलमा महिला सहभागिता निकै थोरै रहेको थाहा पाइन् । राम्रो खेलेकै कारण उनले सन् २०१८ डिसेम्बरमा अटो एसिया जिमखानामा सहभागी भइन् । एसियालीस्तरको प्रतियोगितामा पहिला ेपटक महिला इभेन्टमा उनी समावेश भएकी थिइन्् ।

‘पहिलो प्रतियोगिता र सहभागितामै म तेस्रो भएँ । त्यसको एक वर्षपछि सन् २०१९ डिसेम्बरमा इन्डोनेसियामा भएको प्रतियोगितामा पनि सहभागी भएँ ,’ उनी खुसी हुँदै भन्छिन् ।

आर्थिक अवस्था पनि राम्रो भएकाले मात्रै यो खेलमा भाग लिने हिम्मत आएको उनी बताउँछिन् । ‘यो खेलका लागि मैले आफ्नै गाडी दाउमा लगाएर अगाडि बढेको हो,’ उनी थप्छिन्, ‘परिवारबाट पनि निकै सहयोग भएकाले धेरै गाह्रो भएन ।’

Share News