धुम्बाराहीको अकामा होटल ‘रमडा’ को नामबाट सञ्चालन हुने, छिट्टै सेयर जारी गर्ने

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल विश्व प्रसिद्ध ब्राण्ड ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट फ्रेन्चाइजमा सञ्चालन हुने भएको छ । विन्डम होटल एण्ड रेस्टुरेन्टसँग फ्रेन्चाइजका लागि बुधबार एक कार्यक्रमबीच अकामा होटल र रमडाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । विगत चार वर्षदेखि सञ्चालनमा उक्त होटल मंसिर २९ गते स्तरोन्नति भई पाँच तारे होटलको मान्यता पाइसकेको छ । अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अमेरिकन चेन ब्राण्ड ‘रमडा’ सँग फ्रेन्चाइजका लागि सम्झौता गरेको होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले बताए । सन् २०१९ को फेब्रुअरीबाट ‘सफ्ट लन्च’ भई सोही वर्षको अन्त्यबाट पूर्ण रूपमा सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको ‘रमडा वाई विन्डम ब्राण्डबाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण रहेको कम्पनीले बताएको छ । यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने कम्पनीले विश्वास राखेको छ । ९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर ९५, डिलक्स -६, डिलक्स स्विट-४, फेमिलि स्विट -२, प्रेसिडेन्टल स्विट-१ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन् । न्युनतम् २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेको पनि कम्पनीले बताएको छ । अकामा होटलमा हाल १३० जना विभिन्न तहका कर्मचारीहरू कार्यरत छन् । यस होटलमा दुई तला बेसमेन्टसहितको पार्किङ सुविधा समेत रहेको छ । कम्पनीले अकामा होटलको निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने पनि बताएकाे छ ।  

पोलेको माछाको स्वादले पर्यटक लोभ्याउँदै माझीकुना

  गण्डकी । बेगनास आफैंमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ । बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्छन् स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी । ‘माझीकुनाले बढी चर्चा पाएको यस्तै पाँच/छ वर्षजति भयो’, ५२ वर्षीय जलारीले भने, ‘मुख्य रुपमा यहाँको पोलेको माछा ग्राहक र पर्यटकमाझ प्रख्यात छ ।’ युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमबाट पनि माझीकुनाको व्यापक प्रचार भएको उनले बताए । माझीकुनाको पोलेको माछा र अरु परिकारबारे नेपाली खाना प्रवर्द्धन गर्ने टिकटिक प्रयोगकर्ताले बनाएका भिडिओ सामग्री अहिले पनि सामाजिक सञ्जालतिर भेटिन्छन् । विशेषगरी आन्तरिक पर्यटक त्यसमा पनि युवा पुस्तामाझ माझीकुना माछाका परिकारको स्वादसँगै घुमफिर गर्ने गन्तव्यका रूपमा लोकप्रिय बनेको हो । ‘यहाँ धेरै आउने भनेको आन्तरिक पर्यटक नै हो, पर्यटकीय याममा विदेशी पाहुना पनि आइरहनुहुन्छ’, दी फिसरम्यान रेष्टुराँका सञ्चालक जलारीले भने, ‘चाडबाड, नयाँ वर्ष र बिदाका समयमा त पर्यटकको भिड नै लाग्छ, रेष्टुराँमा भ्याइनभ्याइ हुन्छ ।’ जलारीले विसं २०७२ को गोरखा भूकम्पपछि रेष्टुराँ व्यवसाय थालेका थिए । उनको रेष्टुराँमा पनि पोलेको माछा नै मुख्य परिकार हो । तिलापिया जातको माछालाई आगोमा पोलेर स्थानीय स्वादमा पाहुनालाई चखाउने गरेको जलारीले सुनाए । ‘मरमसला, च्याउ, धनिया, लसुन आदि राखेर मेरिनेट गरिएको माछालाई आगोमा सेकेपछि परिकार तयार हुन्छ’, उनले भने, ‘पाहुनाले पोलेको माछा नै बढी रुचाउनुहुन्छ ।’ पोलेको माछालाई स्वादिष्ट बनाउन घरेलु छोप र ससको प्रयोग गर्ने गरिएको जलारीले बताए । तिलापियाबाहेक अरु जातको माछा भने पोल्न नमिल्ने उनको भनाइ छ । तीस वर्षसम्म बेगनास तालमै माछा मारेर परिवार धानेका उनी अहिले माझीकुनाको सफल रेष्टुराँ व्यवसायीका रूपमा चिनिएका छन् । ‘बगेनास, रुपालगायत तालमा पाइने कमन, ग्राफ, राहु आदि जातका माछाको झोल, करी, फ्राइड, साँधेर पाहुनालाई खुवाउने गर्छौँ, माग भएमा कुखुराका परिकार पनि उपलब्ध गराउँछौँ’, जलारीले भने । माझीकुनामा २५ भन्दा बढी रेष्टुराँ तथा होटल खुलेका छन् । तिनमा करोडौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । जलारीको रेष्टुराँमा काम गर्ने पाँच जना छन् । बेगनासमा रहेको जलारी समुदायले माछाबाटै आर्थिक उपार्जन गर्ने गरेको उनले बताए । ‘मत्स्य अनुसन्धान केन्द्रबाट अनुमतिपत्र लिएर मात्र माछा मार्न पाइन्छ, वार्षिकरूपमा शुल्क तिर्नुपर्छ’, उनले भने, ‘मैले पनि पहिला माछा मारेर बेच्ने काम गर्थेँ, अहिले रेष्टुराँ व्यवसातिर लागेँ, यसमै सन्तुष्ट छु ।’ कोभिड-१९ महामारीले सुस्ताएको व्यापारले पछिल्लो समय गति लिएपछि माझीकुनाका व्यवसायी खुसी छन् । मुलुकले झेलिरहेको आर्थिक मन्दीको प्रभाव छिटो अन्त्य भए व्यवसायले अझ फड्को लिनेमा उनीहरु आशावादी छन् । माझीकुना नजिकैको सुन्दरीडाँडास्थित बेगनास-रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले माझीकुना बेगनास क्षेत्रको आकर्षक गन्तव्यस्थलका रुपमा विकास भएको बताइन् । पहिले खासै चर्चामा नआएको सो क्षेत्र अहिले आगन्तुकको रोजाइमा पर्ने गरेको उनले सुनाइन् । विशेषगरी सप्ताहन्तमा परिवारजन, जोडी र साथी मिलेर माझीकुना आउने बढी हुने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । तालतिर टहल्दै माछाको स्वाद लिन पाहुना पर्यटक माझीकुनामा लोभिने गरेका हुन् । कास्कीको पोखरा महानगरपालिका-३१ मा अवस्थित बेगनास ताल पोखराको पृथ्वीचोकदेखि १४ किमी र लेखनाथको तालचोकबाट साढे तीन किमी यात्रामा पुगिन्छ । सात तालको वाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । सहरको कोलाहल र व्यस्तता छलेर छिनमै पुग्न सकिने मनोरम गन्तव्य बेगनास क्षेत्र हो । बेगनास पुग्दा डुंगा सयर, पदयात्रालगायत पर्यटकीय गतिविधिले पनि आगन्तुकलाई आकर्षित गर्ने गर्छ । मुग्लिन-पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले पर्यटकको आउजाउमा केही कठिनाइ उत्पन्न भइरहको पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए । प्रकृतिले सिँगारेको बेगनास पर्यटन पूर्वाधार र प्रवर्द्धनका दृष्टिले भने अझै पनि पछाडि परेको उनको भनाइ छ । वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राखे । ‘सरकार र पर्यटनका संस्थाको नजर पोखराका अरु तालमा पनि जानुपर्यो, पूर्वाधारमा लगानी बढाउनुपर्यो’, उनले भने, ‘प्रदेश सरकार र पोखरा महानगरले नै यसमा प्राथमिकतामा दिनुपर्छ ।’ प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले बताए । ‘प्रकृतिको अनुपम देन बेगनास ताल नै यहाँको मुख्य आकर्षण हो’, उनले भने, ‘धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ, ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।’ रासस

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई सामुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ । यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताए । ‘यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ’, उनले भने, ‘डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।’ उनले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताए । यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए । ‘कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ’, उनले भने, ‘आन्तरिकसँगै बाह्य पर्यटकको पनि भीड छ ।’ ढुङ्ग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुङ्गा घाटबाट हात्तीसारसम्म डुङ्गा चलाउने गरिएको छ । डुङ्गा सफारी गर्ने पर्यटकलाई केही समय जङ्गल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुङ्गा शयर गर्दा आन्तरिक पर्यटकका लागि रु चार सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय ५० शुल्क लिने गरिएको छ । अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताए । चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे सौराहाको पर्यटन विकासका लागि ढुङ्ग्रे खोलाको डुङ्गा शयरले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उहाँले सबै वनको आ–आफ्नो विशेषता रहेको जानकारी दिए । उनले सौराहा आउने पर्यटकका लागि डुङ्गा शयर राप्तीपछिको गन्तव्य ढुङ्ग्रे खोला भएको बताए । डुङ्गा शयरबाट मात्रै यस सामुदाकि वनले वार्षिक रु १५–१६ लाखको कारोबार गर्ने गरेको उल्लेख गरे । यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । ‘यहाँका सामुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ’, उनले भने । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताए । उनले जलचर प्राणी र चराचुरुङ्गीका लागि ढुङ्ग्रे खोला क्षेत्र उत्कृष्ट बासस्थान भएको बताए । उनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिए । रासस