भ्यालेन्टाइन डेको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट
पोखरा । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन उड्न सकिने बाडेले जानकारी दिए । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा शहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खला हेर्न सकिन्छ । यस्तै फिसटेल, अन्नपूणर् तथा धौलागिरि हिमश्रृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । बेलुन उडानमा के ख्याल गर्ने ? सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ । उचाइको उडान हुने भएकोले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।
विश्वका मानिसको मन लोभ्याउने मनाङ
मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् । यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन् । मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ । तर मनाङको यात्रा सहज पनि छैन । यहाँको यात्रालाई साहसिक यात्राका रुपमा लिने गरिन्छ । साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ । मनाङमा नजिकबाट हिमाल, हिमाली हावापानी, रमणीय वातावरण, हिमाली वन्यजन्तु र मनमोहक छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ । दन्ते लहर झैँ फैलिएका सेता हिमाल, स्थानीय रहनसहन, मस्र्याङ्दी नदीको सुसाइ, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका प्राकृतिक साथी बन्नेछन् । पदयात्रीका लागि आकर्षणको केन्द्र हो मनाङ । प्राकृतिक सौन्दर्यको भण्डार छ । हिउँ पग्लिएर बनेका पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दङ्ग पर्ने गर्दछन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउने गर्दछन् । सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ । मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो । मनाङमा गुरुङ, घले, लामा, थकाली र तिनै जातिसँग मिल्ने वेषभूषा र भाषा बोल्ने गरिन्छ । यहाँ दलित, नेवारबाहेक अन्य जातिको भने बसोबास छैन । तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातिका व्यक्तिले मनाङलाई कर्म थलोका रूपमा लिन थालेका छन् । नामकरण र इतिहास जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामकरण भएको पाइन्छ । मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ । तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ । विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायताविना जनजीवन अतिकष्टकर रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । सन् १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुअघि यो जिल्ला लमजुङ राज्यकै एक अङ्गका रूपमा रहेको थियो । पछि यस जिल्लालाई पश्चिम ३ नं गोश्वाराअन्तर्गत पोखरास्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन गरियो । विसं २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चलअन्तर्गत एउटा छुट्टै जिल्लाका रूपमा स्थापित भएको हो । त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो । बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ । मनाङबाट प्रतिनिधित्व गर्ने पञ्च नेता पनि लमजुङबाट मनोनीत हुन थाले । मनाङवासीलाई यो भूमि नेपाल हो । तपाईं नेपाली हुनुहुन्छ । त्यसैले अब तपाईंले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ भन्ने कुरा सिकाउनुप¥यो । लामो समयपछि तल्लो भेगका मनाङवासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोँचेमा सारिएको थियो । सदरमुकाम थोँचेमा रहे पनि उपल्लो मनाङेले पूर्णरुपले सरकारलाई समर्थन गरेनन् । पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङीलाई तेस्रो मुलुकमा विनाभन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोँचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो । महेन्द्रको हुकुम प्रमाङ्गीको आदेशमा विनाभन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए । मनाङको पनि अतिदुर्गम मानिने नार र फू गाउँ एवं तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए । त्यसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ । उपल्लो मनाङवासी आर्थिकरुपले सम्पन्न छन् । तर अन्य भूभाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको पाइन्छ । अहिले मनाङलाई चार स्थानीय तहमा विभाजन गरिएको छ । चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका नामकरण गरिएको छ । मनाङको कुल क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग वर्गकिलोमिटर रहेको छ । भौगोलिक अवस्थिति मनाङको भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्री २७ मिनेटदेखि २८ डिग्री २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४० मिनेट पूर्वी देशान्तरदेखि ८४ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाइको हिसाबले यस जिल्ला समुन्द्री सतहबाट एक हजार छ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्मको उचाइमा रहेको छ । चार वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दाबढी ग्रामीण बस्ती रहेका छन् । यस जिल्लाको सिमानापूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । जिल्लाको भौगोलिक सुन्दरताको बयान गर्दा अति नै लोभ लाग्दा दृश्य, तरेली परेका अग्ला भिराला पहाड र उच्च हिमशृङ्खलाजस्ता विशेषता छन् । यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् । थुप्रै स्वदेशी तथा विदेशी पर्यटक, पदयात्रीको गन्तव्य मार्ग अन्नपूर्ण पदमार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डको बेजोड सङ्गम भएको मनाङ जिल्ला प्राकृतिकरुपमा धनी मानिन्छ । त्यसले गर्दा यहाँका प्राकृतिक सौन्दर्यले विश्वका मानिसलाई लोभ्याउने गरेको छ । रासस
पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग, पर्यटकको सङ्ख्या बढ्ने
ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि बढाउनुपर्ने उनीहरुले बताएका हुन् । केबलकारसँगै यहाँ अन्य पर्यटकीय पूर्वाधार निर्माण भए आर्थिक रुपमा समग्र जिल्लालाई फाइदा पुग्ने यहाँका स्थानीय सरकारका प्रमुखहरुको धारणा छ । उनीहरुले पाथीभरामा केबलकार निर्माण गर्न सकिएमा आन्तरिक एवं भारतीय धार्मिक पर्यटकका साथै कञ्चनजङ्घा आधार शिविर आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् । अहिले यहाँ देवीको दर्शन गर्न तथा पर्यटकका रुपमा वार्षिक तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक एवं तीर्थालु आउने गरेकामा केबलकार बनेपछि कम्तीमा १५ लाखसम्म पर्यटक यहाँ आउने उनीहरुको आकलन छ । त्यसैले उनीहरुका लागि होटल, रेष्टुरेन्ट एवं यातायातजस्ता आधारभूत पर्यटकीय पूर्वाधारको निर्माण समेत हुने भएकाले यो बृहत आयोजनाले ताप्लेजुङको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ । यहाँको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा देवीको मन्दिरमा जाने प्रयोजनका लागि बन्न लागेको प्रस्तावित केबलकारबाट जिल्लाको मात्र नभएर सिङ्गो कोशी प्रदेशमा नै विकासको बाटो खुल्ने भएकाले यो बृहत आयोजनालाई जतिसक्दो चाँडै अघि बढाउनुपर्ने बताउँछन् । आफू त्यसका लागि लागिपरेको र अर्बौं रुपैयाँको यो ‘मेगा प्रोजेक्ट’ यहाँ भित्र्याउन सकिएमा यसले आफ्नो पालिकामात्र नभएर जिल्लाकै आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने उनको भनाइ छ । पाथीभरा देवीको मन्दिर फुङलिङ नगरपालिका, सिरीजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाको सङ्गममा पर्दछ । “यहाँ केबलकार बनेपछि वर्षमा कम्तीमा १५ लाख मानिस यहाँ आए भने हामीलाई रोजगारीमात्र नभएर स्थानीय उत्पादनको बजार र यहाँको जीवनस्तर विकासमा ठूलो सहयोग पुग्नेछ । त्यसैले हामी प्रस्तावित यो ‘मेगा प्रोजेक्ट’लाई जतिसक्दो चाँडै सम्पन्न गर्नुपर्छ भनेर लागिपरेका छौँ”, उनले भने । प्रमुख मादेनले केबलकार निर्माण कम्पनीले मन्दिरलाई पर्खाल लगाएर संरक्षण गर्ने र यसको ऐतिहासिकता र सौन्दर्यमा कुनै असर नपर्नेगरी मन्दिरबाट करिब आठ सय मिटर तल केबलकारको टप स्टेसन राखेर त्यहाँबाट हिँडेर जानेगरी निर्माण प्रस्ताव गरेको जानकारी दिए । अर्बौं लगानीको यो अवसरलाई हामीले छोड्यौँ भने ताप्लेजुङवासीको भाग्य पनि फुत्किन्छ भनेर आफू लागिपरेको र यसका लागि सबै जिल्लाबासी नै लाग्नुपर्ने उनले बताए । सो केबलकार निर्माणका विषयमा कतिपयले विरोध पनि गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “अहिलेको युगमा आएर पनि मेरो मन्दिर, मेरो बाटो भन्नेजस्ता कुरा गरेर कहाँ हुन्छ रु मन्दिर सबैका लागि खुला सम्पदा हो । यहाँ केबलकार बन्नु भनेको पनि सबै तीर्थालुकै सजिलोका लागि हो । अनि केबलकार निर्माण गर्दा जिल्ला र प्रदेशकै कायापलट हुन्छ भने केहीले विकास निर्माण गर्नै दिन्नौँ भन्दैमा कहाँ हुन्छ ?” केही स्थानीयले मन्दिरको सौन्दर्य बिग्रिने र मौलिकता हराउन सक्ने भन्दै निर्माणको विरोध गरे पनि स्थानीय तहका प्रतिनिधिहरु तथा निर्माण कम्पनीले मन्दिरको आसपासमा कुनै पनि संरचना नबन्ने, केबलकारको टप स्टेसन पनि करिब आठ सय मिटर तलै राखिने र अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिरको वर्तमान प्रवेशद्वारबाटै भक्तजनहरु जान सकिनेगरी निर्माणको प्रस्ताव भएकाले केबलकार निर्माणको विरोधको कुनै अर्थ नरहेको बताएका छन् । प्रमुख मादेन भन्छन् “यो हाम्रो सभ्यता र पवित्र मुन्धुम थलो हो । अहिलेको जमानामा आएर पनि तेरो र मेरो धर्म भन्ने कुरा हुँदैन । देवीप्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ । अनि विरोधका कुरा पनि सबैका सुन्नुपर्छ । तर कुनै पनि बहानामा विकासको काम रोक्नु हुदैन । एक पटक विनाश र विरोध नभई विकास पनि त हुँदैन । त्यसैले हाम्रो अधिकार हो, केबलकार बनाउने नै हो ।” पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा पर्दछ । यहाँ बर्सेनि करिब तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक पुग्ने गर्दछन् । धेरै उचाइमा मन्दिर रहेकाले यहाँ पुग्न तीर्थालुलाई गाह्रो पर्ने गरेको छ । त्यसैले केबलकार निर्माण गर्न सकिएमा यहाँ जाने धार्मिक पर्यटकलाई सजिलो होस् भनेर गएको दशकदेखि नै यहाँ केबलकार निर्माण सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । यहाँ पाथिभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीले केबलकार निर्माणको प्रक्रिया सुरु गर्न लागेको छ । स्थानीयहरुले भने कम्पनीलाई चाँडै काम थाल्न भनेका छन् । उनीहरुले देशका विभिन्न धार्मिक पर्यटकीय स्थानहरुमा धमाधम केबलकारदेखि अन्य पर्यटन पूर्वाधारहरु बनिरहेका बेला पाथीभरामा पनि जतिसक्दो चाँडै काम थाल्न भनेका हुन् । उनीहरु इलामको एक चिया बगानमा त बर्सेनि लाखौँ मानिस जान्छन् भने यहाँ केबलकार बन्दा ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो र सोझो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक भित्र्याउन पनि सघाउ पुग्ने स्थानीयको भनाई छ । केबलकार बन्ने भएपछि यहाँ आउने करिब १५ लाख पर्यटकका कारण स्थानीयले रोजगारीका साथै कम्पनीको पनि १० प्रतिशत शेयर पाउने, यहाँको उत्पादनले बजार पाउने तथा स्थानीय उपजले सहजै बजार पाउने भन्दै स्थानीय भने चाँडो केबलकार र अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि लाग्न आग्रह गर्दछन् । यहाँ केबलकार र यसका कारण सडक यातायात पनि बन्ने भएकाले विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै देवीको दर्शन गर्न भारतको पश्चिम बङ्गाल, दिल्ली, बिहारका समेत गरी लाखौँ धार्मिक पर्यटक भित्रिने अनुमान स्थानीय तहको छ । सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पाथीभरामा तीर्थयात्रीको सङ्ख्या वृद्धि गर्न र यहाँको विकास अघि बढाउन केबलकार बन्नुपर्नेमा जोड दिएका छन् । केबलकार बनेमा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै मन्दिरको संरचना र ऐतिहासिकतामा असर नपुग्ने गरी केबलकार निर्माण गर्दा राम्रो हुने उनको सुझाव छ । पर्यटकको आगमन बढ्दा आर्थिक रुपमा जिल्लालाई फाइदा पुग्ने भएकाले स्थानीय तहलाई समेत सम्बोधन गरेर निर्माण हुनुपर्ने उनले बताए । यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जिल्लाबासीका सुझाव एवं मागलाई उचित रुपमा सम्बोधन गरेर निर्माण अघि बढाउन सुझाउँछन् । विवादबीचमा निर्माण सुरु गर्नुभन्दा यहाँका स्थानीय नागरिकका कुरा सुनेर र विवाद समाधान गरेर अघि बढ्नु उचित हुने उनको भनाइ छ । मन्दिरको प्राकृतिक स्वरुप र ऐतिहासिकतामा असर नपुग्ने गरी निर्माण गरिने प्रतिबद्धता आएकाले यस कुरालाई स्थानीयसँग बसेर विश्वास कायम गरी निर्माण अघि बढाउन उचित हुने उनले बताए । यहाँ केबलकार बन्दा पर्यटन प्रवद्र्धनका लागि भौतिक विकासका गतिविधिले सहयोग पु्ग्ने उनको भनाइ छ । यसैबीच केबलकार निर्माणको विरोधमा रहेका केही स्थानीयसँग छलफल गर्न सोमबार बैठक पनि आह्वान गरिएको छ । निर्माणप्रति असहमति जनाइरहेको पक्षसँग समन्वय गर्नका लागि यसअघि जिल्ला समन्वय समितका प्रमुख छिरिङ लामाको संयोजकत्वमा गठित समितिले सोमबार छलफलको आयोजना गरेको हो । “केबलकार निर्माणको विरोधमा रहेको पक्षसँग सोमबार छलफलको तयारी भएको छ, हामीले लिखितरुपमा आफ्ना माग लिएर आउनुहोस भनेका छौँ, उचित र सम्बोधन गर्न सकिने मागका सम्बन्धमा छलफल गरेर निर्माण प्रक्रिया अघि बढाउने वातावरण बनाउछौँ”, जिल्ला समन्वय समितिका प्रमुख लामाले भने, “हामी विकास निर्माणको कामलाई अघि बढाउनुपर्छ भन्नेमा छौँ र यसबारेमा भोलिको बैठकमा आवश्यक छलफल गर्नेछौँ ।” यता केबलकार खारेजी संयुक्त संघर्ष समितिले भने पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नुहने अडान कायमै राखेको छ । ऐतिहासिक मुन्धुमी स्थलमा केबलकार निर्माण भए ऐतिहासिकता मेटिनुका साथै जल जमिन र जङ्गलको बिनास हुने उनीहरुको जिकिर छ । यहाँ केबलकार निर्माण गर्ने चर्चा करिब दश वर्षअघिदेखि भए पनि निर्माण भने हुन सकेको छैन । त्यसैले यसपटक केबलकार निर्माणका क्षेत्रमा अनुभवी कम्पनी पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले निर्माणको अनुमति पाएकाले निर्माणको वातावरण बनाउनुपर्नेमा जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधि छन् । यसअघिका छलफलमा यहाँका प्रमुख राजनीतिक दलहरुले केबलकार निर्माणलाई चाँडै अघि बढाउन माग गरेका थिए । आन्तरिक रुपमा देखिनसक्ने सबै प्रकारका विवादको समाधान गरेर जिल्लाको पर्यटन प्रर्वद्धनका लागि केबलकार र यससहितका पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि बढाउन दलहरु सकारात्मक देखिएका हुन् । रासस