आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र  प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो ।  प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै छ । मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता,  निगमका इन्जिनियरिङ मरमत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले हवाई उडानका लागि मङ्गलबार विमानस्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग रहने बताए । उनले भने, ‘आन्तरिक उडान थप गरेर कर्णालीबासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्दछ । प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।’ उडान समितिका संयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सञ्चालन गरिने जानकारी दिए । उनले भने, ‘फागुन महिनाभित्र काम सुरु गर्ने गरी तयारी थालिएको छ । यसमा निगमले गर्ने आवश्यक तयारीका निम्ति लागि परेका छौँ ।’ रासस

जहाज भाडामा लिन बोलपत्र आह्वान गर्दै वायुसेवा निगम, आम्दानी बढ्ने

काठमाडौं ।  नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । ‘निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो । यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना  छ । नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहलमा निगमको १० वर्षे व्यवसायिक योजना अनुरुप बजार बिस्तारका लागि जहाज थप गर्न लागिएको हो । उक्त जहाजहरु आगामी जुलाईसम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ’, निगमले भनेको छ । रासस

काठमाडौंं-दिल्ली-काठमाडौं मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं-दिल्ली-काठमाडौं मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौं-दिल्ली-काठमाडौं सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ’, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस