फेरि उँभो लाग्दै छ नेपालको ‘वाइल्डलाइफ टुरिज्म’

काठमाडौं । कुनै बेला वन्यजीवन पर्यटन (वाइल्डलाइफ टुरिज्म) का लागि संसारमा अफ्रिकापछि नेपालको नाम आउँथ्यो । त्यो ‘उपाधि’ ले मुलुकको पर्यटन उद्योगलाई एउटा राम्रै उचाइमा पुर्याएको थियो । तर, यो उचाइलाई नेपालले केही दशकमात्र कायम राख्न सक्यो । जब चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट सात उत्कृष्ट रिसोर्टलाई सरकारले बाहिर निकाल्यो, त्यसपछि भने नेपालको वाइल्डलाइफ टुरिज्ममा एकखालको ‘सेटब्याक’ आइलाग्यो । अहिले भने बिस्तारै त्यही उपाधि उचाल्न नेपालले वाइल्डलाइफ टुरिज्ममा भरमग्दुर प्रयास जारी राखेको छ । यसमा सरकारदेखि निजी पर्यटन व्यवसायी दिलोज्यानले लागिपरेका छन् । आखिर, नेपालको वाइल्डलाइफ टुरिज्मको ताजा अवस्था कस्तो छ त ? यसबारे विस्तृतमा चर्चा गरौं । अहिलेलाई भने वाइल्डलाइफ टुरिज्ममा केही आशाका किरण पलाएका छन् । पछिल्लो समय वाइल्डलाइफ टुरिज्ममा सुधार देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६४ मा खुलेको टाइगर टप्स होटलले वाइल्डलाइफ टुरिज्म भित्र्याएको थियो । टाइगर टप्स होटल चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि नै सञ्चालनमा आएको थियो । देशभरि राष्ट्रिय निकुञ्ज, आरक्षजस्ता संरक्षित क्षेत्र स्थापना भएपछि वाइल्डलाइफ टुरिज्मका लागि  एउटा बिलयाे आधार स्तम्भ खडा भएको हो । अहिले नेपाल घुम्न आउने करिब ६० प्रतिशत पर्यटक वाइल्डलाइफ टुरिज्माा संलग्न हुन रूचाउँछन्। वाइल्डलाइफ टुरिज्मअन्तर्गत जीप सफारी, हात्ती सफारी, जङ्गलमा पैदल यात्रा, मचानमा बसेर वन्यजन्तु अवलोकन, चरा अवलोकन, डुङ्गा सफारी र शासनिक शिकार (ट्रफि हन्टिङ) पर्छन् । चितवनमा रहेको मचान वाइल्डलाइफ रिसोर्ट सञ्चालक प्रकाश श्रेष्ठ वाइल्डलाइफ टुरिज्ममा अहिले धेरे ठूलो परिवर्तन आएको बताउँछन् । उनका अनुसार पहिले वाइल्डलाइफ टुरिज्म राष्ट्रिय निकुञ्जभित्र मात्रै केन्द्रित थियो । अहिले निकुञ्ज वरिपरि धेरै होटल तथा रिसोर्ट निर्माण भएका छन् । ‘अहिलेको अवस्थामा वाइल्डलाइफ टुरिज्म क्वान्टिटी होइन, क्वालिटीमा जानुपर्छ,’ होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, ‘पहिले जब सातवटा होटल राष्ट्रिय निकुञ्जभित्र थिए, तब हामी अफ्रिकाको वाइल्डलाइफ टुरिज्म पहिलो र हामी दोस्रो स्थानमा थियौं । पछिल्लो समय ती होटलहरूको लिज रिन्यू हुन सकेन । र, त्यसपछि भित्रका होटल बाहिर आए । त्यसले पनि त्यहाँको टुरिज्ममा प्रभाव पार्यो ।’ श्रेष्ठकै मचान वाइल्डलाइफ रिसोर्ट पनि निकुञ्जबाट बाहिर निकालिनेमा परेको थियो । विगतमा ठूलो संख्यामा पर्यटक व्यवस्थापन गर्ने पहिलो स्थानमा चितवन सौराहा थियो । ‘मास टुरिज्म’ व्यवस्थापन गर्नेमा राष्ट्रिय निकुञ्ज वरिपरि वाइल्डलाइफ टुरिज्म गतिविधि सञ्चालन भएका होटल तथा रिसोर्ट हुन् । त्यसबेला सौराहामा नारायणी सफारीसहित सात होटल चितवन राष्ट्रिय निकुञ्जभित्र थिए । बढी पैसा लिएर सञ्चालन गर्ने एउटा रिसोर्ट भने राष्ट्रिय निकुञ्जभित्र थियो । तर, अधिकांश पर्यटकको खर्च चाहिँ सौराहामा हुन्थ्यो । त्यो त्यसरी नै चलिरहेको थियो । ‘जब निकुञ्जभित्रका होटलहरूको लिज रिन्यू हुन सकेन, त्यसपछि भित्रका होटल बाहिर आए,’ श्रेष्ठ भन्छन, ‘अरू विभिन्न ठाउँ जस्तै मेघौली, जगतपुर, सौराहा र नवलपरासी साइडमा पनि धेरै होटलहरू आए । एक किसिमले यो पनि ठिकै हो ।’ अहिले अरू पर्यटन जस्तो वाइल्डलाइफ टुरिज्म ‘मास’ मा व्यवस्थापन गर्न नसकिने श्रेष्ठ बताउँछन् । ‘जति होटल बाहिर खोले पनि ती होटलमा पुग्ने पर्यटक जाने त निकुञ्जभित्र हो, अब सौराहामै २ सय बढी होटल छन्,’ उनी थप्छन्, ‘मास टुरिज्मलाई थेग्न निकुञ्जले सक्दैन, किनभने त्यहाँ गाडी चल्नुपर्यो, डुंगा चल्नुपर्यो, मान्छे पनि हिँड्नुपर्यो, त्यसले गर्दा कन्ट्रोल मेकानिज्म सरकारले गर्नुपर्ने हुन्छ ।’ श्रेष्ठका अनुसार निकुञ्जबाट होटल बाहिर आइसकेपछि त्यसको प्रभाव अहिलेसम्म परिरहेको छ । ‘अलिकति बढी पैसा तिर्ने क्वालिटीको वाइल्डलाइफ टुरिज्म थियो,’ उनी भन्छन्, ‘त्यहाँ भित्रका होटल अन्तर्राष्ट्रिय स्तरका थिए र ती नेपाललाई चिनाउने महत्वपूर्ण गन्तव्य थिए भन्ने कुरा सरकारले बुझेन । यो हाम्रो प्रडक्ट पर्यावरण र वातावराण्मा आधारित थियो ।’ पहिले निकुञ्जभित्रका होटलले जे योगदान गरेका थिए, त्यो अहिलेका जतिसुकै लक्जरी होटलले पनि गर्न नसक्ने उनको भनाइ छ । ‘लक्जरीको कुनै लिमिटेसन नै छैन, संसारभरिका सबै टुरिस्ट यहाँका लक्जरी होटलमा बस्ने भनेर आउँदैनन्,’ श्रेष्ठ भन्छन्, ‘उनीहरू यहाँ आउने भनेको वातावरण र पर्यावरण हेर्न हो । निकुञ्जभित्रैबाट जुन वातावरण देखिन्छ, त्यो कुनै पनि बाहिरका लक्जरी होटलले पूरा गर्न सक्दैनन् ।’ वाइल्डलाइफ टुरिज्मलाई सरकारले छुट्टै स्थान दिनुपर्ने श्रेष्ठ बताउँछन् । उनका अनुसार पहिला पहिला पर्यटकहरू वाइल्डलाइफ टुरिज्म हेरेर पछिमात्रै फुर्सदको समयमा पोखरा, काठमाडौं, लुम्बिनी जाने गर्थे । पहिला वाइल्डलाइफ नेपालको सबैभन्दा ठूलो गन्तव्य थियो । कमजोर पूर्वाधारले समस्या विगतमा वाइल्डलाइफ टुरिज्ममा विदेशी पर्यटकको हिस्सा बढी हुन्थ्यो । तर, अहिले यसमा बिस्तारै परिवर्तन आउन थालेको छ । वाइल्डलाइफ टुरिज्ममा अब स्वदेशी पर्यटक संख्या बढिरहेको छ । पहिलेको हिसाबमा अहिले धेरैमा घुमघाम गर्नुपर्छ भन्ने सोच आइसकेको मचान वाइल्डलाइफ रिसोर्ट सञ्चालक श्रेष्ठ बताउँछन् । विदेशीले तिर्न नसक्ने मूल्य तिरेर स्वदेशीले घुम्ने गरेको श्रेष्ठको भनाइ छ । ‘विदेशी पर्यटक कम देखिनुको कारण हाम्रो पूर्वाधार कमजोर हुनु पनि हो,’ उनी भन्छन्, ‘काठमाडौंबाट पोखरा जान, चितवन जान, चितवनबाट नवलपरासी जान कयौं घन्टा लाग्छ, यतिका वर्षसम्म एउटा राम्रो बाटो बन्न नसकेको अवस्था छ, यसमा बाधक हाम्रो पूर्वाधार देखिएको छ ।’ पहिला निकुञ्जभित्र अवस्थित होटलहरूलाई नै हात्ती सफारी गराउने अनुमति थियो । बाहिरका होटलाई थिएन । तर, अहिले निकुञ्जभित्र हात्ती सफारी गराउन पाइँदैन । ‘त्यहाँका होटलहरू बन्द भएपछि कुनै पनि बाहिरका होटलहरूको हात्ती कहीँ लैजान दिइएको छैन, जुन एक किसिमले हेर्दा ठिकै पनि हो,’ श्रेष्ठ भन्छन्, ‘पहिलो त हात्ती पाल्नु धेरै महँगो हुन जान्छ, अर्को हत्तीलाई चेन गरेर राख्नु हुँदैन भनेर जनावरवादी संस्थाले पनि विरोध गरे, त्यसरी राख्दा यहाँ आउने टुरिस्टले पनि त्यही हिसाबले हेर्छन् र आलोचना हुन्छ, त्यसरी नराखे हात्तीले क्षति पुर्याउँछ ।’ अहिले हात्ती सफारीको सट्टा जीप सफारी, डुंगा सफारी, जंगल वाक गर्न पाइन्छ । वाइल्डलाइफ टुरिज्ममा सरकारले दिएन चासो वाइल्डलाइफ टुरिज्म विकासका लागि सरकारले खासै सहयोग गर्न नसकेको श्रेष्ठको अनुभव छ । ‘सरकारले बुझेकै छैन कि वाइल्डलाइफ टुरिज्म, हामीसँग धेरै ठूलो सामुदायिक वन, राष्ट्रिय निकुञ्ज, हेरिटेज साइट छन्,’ उनी भन्छन्, ‘हरेक प्रकारका पर्यटनको आनन्द लिन पाइन्छ, हामीले व्यवस्थित गर्न सक्ने हो भने वाइल्डलाइफ टुरिज्मबाट नै ठूलो समृद्धि हासिल गर्न सकिन्छ ।’ अहिलेको अवस्थामा वाइल्डलाइफ टुरिज्म ‘डाइर्भट’ हुन लागेको जस्तो देखिने श्रेष्ठ बताउँछन् । ‘जसरी म गाउँमा होटल खोलेर बसेको छु, निकुञ्जभित्रको जुन चार्म छ त्यो मैले चाहेर पनि दिनै सक्दिनँ,’ उनी भन्छन्, ‘यसबारे सरकारले सोच्नुपर्ने हुन्छ, किनभने, अफ्रिकामा एक रातको १५ सय देखि २ हजार डलरसम्म कोठा बिक्री भइरहेको छ, यो भनेको होटलले पाउने फाइदा होइन । सरकारले ट्याक्समा पाउने हो ।’ श्रेष्ठका अनुसार हाम्रो देश जंगलमा अफ्रिकाभन्दा पनि धनी छ । देशमा विभिन्न किसिमका जंगल छन् । हामीकहाँ भन्दा अफ्रिकामा जनावरको संख्या धेरै छ । तर, प्रकृतिले दिएका वस्तुको हामीले राम्रोसँग सदुपयोग गर्न सकेका छैनौं । पहिला वाइल्डलाइफ टुरिज्ममा दोस्रो नम्बरमा गनिने नेपाल अहिले हराइसकेको छ । वाइल्डलाइफ टुरिज्ममा निजी क्षेत्रले लाखौं, करोडौं रुपैयाँ खर्च गरेको श्रेष्ठ बताउँछन् । उनका अनुसार निजी क्षेत्रले होटल बनाउन सक्छ, स्पा, स्विमिङ पुल बनाउन सक्छ । अरू पर्यटनका गतिविधि गर्न सक्ला । तर, पूर्वाधार निर्माण सरकारले गर्नुपर्छ । सरकारले बनाएका नीति नियम पर्यटनमैत्री हुनुपर्छ । सरकारले गर्न सक्ने पनि गरेको छैन । पर्यटनमा निजी क्षेत्रको योगदान सह्रानीय छ । चितवनका पर्यटन व्यवसायी के भन्छन् ? होटल एसोसिएसन नेपाल (हान)-चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे कोरोनापछि अहिले विस्तारै वाइल्डलाइफ टुरिज्मले गति लिँदै गएको बताउँछन् । ‘अहिले सिजन सुरु भएकाले राम्रै चलिरहेको छ,’ घिमिरे भन्छन्, ‘समग्रमा भन्नुपर्दा नेपालमा पर्यटक बढिरहेका छन्, यो हिसाबले राम्रो मान्नुपर्छ ।’ चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको घिमिरे बताउँछन् । ‘अहिलेको अवस्थामा ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी पर्यटक छन्,’ उनी भन्छन्,’ सफारी टुरिज्ममा पहिला निकुञ्जभित्रका होटलले धेरै प्रचारप्रसार गरेका थिए, निकुञ्जभित्रका होटल बन्द भइसकेपछि विश्वबजारमा यसको प्रचार हुन सकेन भन्ने लाग्छ ।’ उनका अनुसार अहिले जीप सफारी निकुञ्जभित्र साढे ४ घण्टाको हुन्छ । हात्तीलाई निकुञ्जभित्र प्रवेश दिइएको छैन । अहिले बाध्य भएर सामुदायिक वनमा हात्ती सफारी गर्न बाध्य भएको घिमिरेको भनाइ छ । ‘निकुञ्जभित्र पनि जीपहरूको छोटो दुरीका लागि सफारी रुट नभएकाले सामुदायिक वनमा पनि गर्छौं,’ उनी भन्छन्, ‘पर्यटकलाई भने हामी सूचना दिएर नै सामुदायिक वनमा सफारी गराउने गरेका छौं ।’ वाइल्डलाइफ टुरिज्ममा राज्यका पनि धेरै कमी कमजोरी भएको घिमिरे बताउँछन् । सरकारबाट वाइल्डलाइफ टुरिज्मका लागि जति सहयोग हुनुपर्ने त्यो हुन नसकेको उनको भनाइ छ । उनका अनुसार विश्व पर्यटन बजारमा नेपालको पर्यटनलाई हामीले जसरी शो गर्नुपर्ने हो र बजारीकरण गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण नेपालको स्थान घट्दै गएको छ । हामीसँग प्रशस्त स्रोत साधन हुँदा पनि प्रचारप्रसार गर्न नसकिएको हो । ‘नेपालमा सफारी पर्यटनलाई विकास गर्न सरकारले राष्ट्रिय निकुञ्जहरूमा वाइल्डलाइफ टुरिज्मका गतिविधि बढाउन सहयोग गर्नुपर्छ,’ घिमिरे भन्छन्, ‘हाम्रा हात्ती सफारी, जीप सफारीजस्ता गतिविधिलाई अझै व्यवस्थित बनाउन जरुरी छ ।’ सरकारको आफ्नै भनाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल नेपाल आउने विदेशी पर्यटकमध्ये दुई तिहाइभन्दा बढीले संरक्षित क्षेत्रमा घुमफिर गर्ने गरेको रेकर्ड रहेको बताउँछन् । उनका अनुसार अहिले काठमाडौं केन्द्रित पर्यटकका हिसाबले अन्नपूर्ण ट्रेकिङदेखि लिएर चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा  ट्रेकिङ र नयाँ गन्तव्यका रूपमा बर्दियामा पनि सुरुवात भएको देखिएको छ । सानातिना होमस्टेमा नेपाली पर्यटकको भूमिका रहन्छ । शुक्लाफाँटा सीमा क्षेत्रमा  विशेषगरी भारतीय पर्यटकलाई लक्ष्य गरेर केही विकास गरिएको छ तर धेरै राम्रो गर्न नसकिएको उपमहानिर्देशक ढकालको भनाइ छ । ‘मन्दीपछि व्यवसायीहरू क्रमशः रिभाइभ हुँदै हुनुहुन्छ, एकैपटक लगानी ल्याउने भन्ने पनि हुँदैन,’ उनी भन्छन्, ‘पर्यटक भित्र्याउने भनेको कन्ट्याक्टले नै हो, व्यवसायीले आफ्नो लगानी पनि बढाउने र त्यसको स्कोप बढेपछि ट्राभल एजेन्सीमार्फत पर्यटक बढ्ने हुन् ।’ भारतीय पर्यटकलाई लक्ष्य गरेर पर्यटन क्षेत्रमा राज्यले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । ‘स्थानीय नाका व्यवस्थापन गर्ने, जस्तै कन्चनजंघाको गड्डाचौकी नाका, धनगढी नाका, पर्सासँग जोडिएको वीरगन्ज रक्सौल नाका व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘अर्को भनेकोे मास टुरिज्मलाई पनि पर्यापर्यटकका रूपमा लिनुभएन, सबै आएका टुरिस्टलाई राष्ट्रिय निकुञ्जमा लैजानुपर्छ भन्ने पनि होइन ।’ उपमहानिर्देशक ढकालका अनुसार वातावरणमा इच्छा राख्ने र वातावरणलाई कमभन्दा कम क्षति गरेर त्यसको प्राकृतिक सुन्दरता पनि हेर्छु र त्यसको संरक्षणमा योगदान पनि गर्छु भन्ने हिसाबले पर्यटक जाने गर्छन् । चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका होटलहरूलाई हेर्ने हो भने तिनीहरूले सिर्जना गरेको जनशक्ति र रोजगारीलाई हेर्यो भने स्थानीय र राष्ट्रिय आयआर्जनमा वाइल्डलाइफ टुरिज्मले धेरै सहयोग गरेको छ । विभाग पर्यटनसँग प्रत्यक्ष नजोडिएको भए पनि संरक्षित क्षेत्रलाई पर्यटन गन्तव्यको रूपमा लिएका कारणले पर्यटन मन्त्रालय र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उनी बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना अर्थात् पुससम्म कुल १ लाख ४८ हजार ३ सय ९१ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । निकुञ्जमा स्वदेशी पर्यटक संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने जीवजन्तु, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज वरिपरिका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशी तथा विदेशी पर्यटक निकुञ्ज घुम्न आउँछन् । निकुञ्ज घुम्नेमध्ये ९० हजार १ सय १४ नेपाली र ४३ हजार ४ सय २५ विदेशी रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८ सय २२ पर्यटकले  निकुञ्ज घुमेका छन् । यो संख्यामा अधिकांश भारतीय छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा पनि करिब डेढ लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए ।

‘पिकनिक’ को आकर्षक गन्तव्य बन्दै ‘बालाजु बाइसधारा’

काठमाडौं । मुलुकको सङ्घीय राजधानीको सबैभन्दा नजिक रहेको बालाजुको बाइसधारा पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित उत्तर–पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा पछिल्लो समय पिकनिक र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।बालाजु बाइसधारा घुम्नका लागि अहिले दैनिक सयौँ व्यक्ति यहाँ पुग्ने गरेका छन् । बालाजु पार्कसँगै जङ्गलसमेत भएकाले रमणीय वतावरणमा समय बिताउन चाहनेको रोजाइमा यो पार्क पर्न थालेको स्थानीय बताउँछन् । बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्वको पर्यटकीयस्थल पनि हो । यो बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने गरेको छ ।उक्त पार्क हाल काठमाडौँ महानगरपालिकाको वातावरण विभागअन्तर्गतको बालाजु बाइसधारा उद्यान कार्यालयले रेखदेख गर्दै आएको छ । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन यहाँ घुम्न आउने व्यक्तिको सङ्ख्या अत्यधिक हुने गरेको बताए । ‘अव्यवस्थित सहरीकरणका कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले राजधानीवासीको मन जित्न सफल भएको छ,’ उनले भने । दैनिक पाँच सयदेखि सात सय व्यक्ति र पर्व तथा बिदाको दिनमा तीन हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका बस्नेतले जानकारी दिए । उनका अनुसार यहाँ रहेका २२ धारामा भने अहिले पानी आउँदैन ।जाडोको समयमा बालाजु वरपरका मानिस उद्यानमा घाम ताप्नसमेत जाने गरेका छन् । काठमाडौं वनस्थलीबाट उद्यान घुम्न आएकी रेशु श्रेष्ठले स्वच्छ, सफा वातावरण खोज्दै यहाँ आएको भन्दै यहाँ आएपछि मन आनन्दित भएको बताइन् । ‘यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरीथरी फूलको सुगन्धले सारा दुःख नै भुलाउँछ’, उनले भने । बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करिब एक सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो । विसं २०१८ जेठ २७ गते शिलान्यास भई विसं २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइसधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ । राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सो क्षेत्र जताततै पानीले जलमग्न भएकाले पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा २१ ढुङ्गेधारा निर्माण गरिएको किंवदन्ती छ । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरू ठूलो धारा थपी बाइस धारा पुराएको इतिहास छ ।आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडौँ आउने क्रममा बालाजु देखेपछि रमाएर कविता लेखेका थिए । भानुभक्तले बालाजु बाइसधाराको बारेमा कविता लेखेकै कारण विसं २०५१ मा भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको सालिक स्थापना गरियो । बालाजु बाइसधारा आन्तरिक तथा बाह्य पर्यटकको घुम्नेमात्र ठाउँ नभएर साहित्यकर्मीका लागि पनि त्यत्तिकै महत्वपूर्ण तीर्थस्थल हो । धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ । सो अवसरमा बाइसधारामा मेला लाग्ने गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक लाख ८३ हजार तीन सय १२ जनाले बालाजु बाइसधाराको भ्रमण गरेका उद्यान कार्यालयले जनाएको छ । उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि पनि मानिस आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्क नेपालीका लागि रू ३०, नेपाली विद्यार्थीका लागि रू २०, विदेशीका लागि रू एक सय, मोटरसाइकल पार्किङका लागि रू ३०, ठूला सवारी साधन पार्किङ शुल्क रू ६० र पाँच जनाभन्दा बढी ड्राइफुड जमघटका लागि रू तीन सय लिँदै आइएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार व्यक्तिगत क्यामरा रू एक सय, व्यावसायिक फोटो रू एक हजार पाँच सय र विवाह फोटो सुट रू पाँच सय, म्युजिक भिडियो सुटिङ रू १० हजार लिने गरिएको छ । सातवटा पिकनिक ‘स्पट’का लागि रू एक हजार पाँच सयदेखि पाँच हजारसम्म शुल्क लिइँदै आएको कार्यालयले जनाएको छ ।बालाजु बाइसधारा उद्यान कार्यालयले चालु आवको छ महिनामा रू ६० लाख १४ हजार दुई सय ८० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ । लामो इतिहास बोकेको यस पार्कमा दैनिक सयौँ र पर्व तथा बिदाको समयमा हजारौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यथेष्ट मात्रामा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको बताउँछन् । रासस

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो

सल्लेरी । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । निकुञ्जको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा रू छ करोड २३ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रू ६ करोड ९६ लाख ७८ हजार सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष रू ७३ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको हो । चालु आवको साउनमा रू छ लाख ५६ हजार, भदौमा रू ३३ लाख ९५ हजार, असोजमा रू दुई करोड दश लाख, रू ५४ हजार, कात्तिकमा रू तीन करोड १२ लाख २७ हजार, मङ्सिरमा रू एक करोड एक लाख ४३ हजार र पुसमा रू ३२ लाख एक हजार राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए । निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट रू छ करोड ६६ लाख ७० हजार, वन पैदावर बिक्री वितरण शीर्षकबाट रू ४० लाख ८३ हजार, दण्ड सजायबाट रू २५ लाख सङ्कलन भएको छ । निकुञ्जको प्रमुख राजस्व सङ्कलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ थियो । चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट रू तीन हजार राजस्व लिने गरेको छ ।एक पटक हेलिकप्टर अवतरण गरेबापत रू तीन हजार  अवतरण शुल्क लिने गरिएको छ । निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए । ‘निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो’, उनले भने,’विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटक भ्रमणका लागि आउँछन्, त्यही भएर सिजनमा हामीलाई भ्याइनभ्याइ नै हुन्छ । अहिले ‘अफसिजन’मा केही भए पनि फुर्सद हुन्छ । यो मौसममा पर्यटक कम आउँछन् ।’ सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए । उनका अनुसार सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ थियो । जसमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्र नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् । निकुञ्ज भ्रमण गर्नेको संख्यामा वृद्धि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार नौ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् । साउनमा दुई सय आठ, भदौमा एक हजार तीन सय २४, असोजमा नौ हजार आठ सय दश, कात्तिकमा १३ हजार २५, मङ्सिरमा दुई हजार छ सय ९४ र पुसमा एक हजार तीन सय २९ जना रहेका कार्यालयका सूचना अधिकारी मण्डलले जानकारी दिए । उनका अनुसार सार्क मुलुकका पर्यटक दुई हजार सात सय १९, अन्य विदेशी मुलुकका २२ हजार ८८ र नेपाली तीन हजार पाँच सय ८३ जना रहेका छन् । ‘नेपाली पर्यटक अलिक कम आउँछन् । यहाँ घुम्न आउने अधिकांश पर्यटक विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन् । त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकसँग रमाउँदै काम गर्दाको मज्जा बेग्लै हुन्छ’, सूचना अधिकारी मण्डलले भने । उनका अनुसार यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ । फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच/सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । रासस